ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

उद्योग सञ्चालनका लागि पूँजी लगानी

पूँजीको प्रकार, स्रोत र प्रकृति

२०७९ साउन, २९  
लेख | दृष्टिकोण
Image Not Found
author avatar मधुसूदन पौड्याल

उद्योग व्यवसाय सञ्चालनका लागि पूँजी लगानी एक अपरिहार्य आवश्यकता हो । योविना उद्योगको परिकल्पना पनि गर्न सकिँदैन । पूँजी लगानी भनेको कुनै कम्पनी वा व्यावसायिक प्रतिष्ठानले दीर्घकालीन भविष्यमा हुने सम्भावित व्यावसायिक उद्देश्य प्राप्त गर्न तत्कालीन समयमा निश्चित परिमाणको भौतिक पूँजी लगानी गर्नु हो । उक्त पूँजी विभिन्न प्रकारका सम्पत्ति जस्तै घरजग्गा, कारखाना, निर्माण कार्यहरू, यन्त्र, उपकरण, औजार, यातायातका साधन आदिमा लगानी भएको हुन्छ । प्रस्तुत लेखमा उद्योग व्यवसायमा लगानी गरिने पूँजीका प्रकार, प्रकृति र स्वरूपबारे चर्चा गरिएको छ ।

चालू पूँजी भनेको तत्कालीन खर्च र आवश्यकता पूरा गर्न जस्तो कामदारको तलब, उपयोगिता खर्च, सेवा खर्च, कर, अल्पकालीन साहूहरूजस्ता खर्च धान्न व्यवस्था गरिएको पूँजी हो ।

चाहे पुरानो व्यवसायमा पुनर्लगानी होस् अथवा नयाँ औद्योगिक परियोजनाको कुरा होस् उद्योगमा लगानी गर्नु भनेको दीर्घकालीन फाइदाको आसमा तत्कालैको जोखिम र अधोगति स्वीकार गर्नु नै हो । किनभने वैकल्पिक रूपले त्यो लगानी व्यापार क्षेत्रमा गरेको भए कुनै झैझमेलाविना तत्कालै धेरै आम्दानी गर्न सकिने थियो । तर, रोजगारदाता हुनुमा इज्जत र गौरवको अनुभूति गर्दै उद्यमीहरू अनिश्चित भविष्यका लागि जोखिम उठाउन तयार हुन्छन् । यसलाई एकप्रकारले उनीहरूको महत्त्वाकांक्षा भन्दा पनि हुन्छ ।

उद्योग परियोजना व्यवस्थापनको हिसाबले कुनै उद्योगमा लगानी गरिने पूँजीलाई स्थिर पूँजी र चालू पूँजीमा विभाजन गर्न सकिन्छ । स्थिर पूँजी भनेको घरजग्गा, निर्माण कार्य, विभिन्न सुविधा, यन्त्रउपकरण, औजार, मेशिनरी, गाडी आदि सहजै मूल्यमा रूपान्तरण गर्न सकिने तर तरलतामा लैजान केही मेहनत गर्नुपर्ने प्रकृतिका सम्पत्तिहरू पर्छन् । यस्तो पूँजी धेरै वर्षसम्म टिक्छ । जग्गाबाहेक अन्य सम्पत्तिको प्रायः ह्रास कट्टी गर्न र बीमा गर्न पनि सकिन्छ ।

प्रायःजसो उद्योगमा अधिकांश लगानी स्थिर पूँजीमा नै हुन्छ । नेपालको कानूनअनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १८ ले उद्योगको स्थिर पूँजीको मूल्याङ्कन गर्दा यस किसिमका पूँजी तोकेको छ– जमीन तथा जमीनमुनि (अन्डरग्राउन्ड), अन्तरिक्ष, जल, वा जलमुनि निर्माण वा सुधार भएका भौतिक संरचना, जमीनमाथि निर्माण भएका भौतिक संरचना (जस्तैः ढल निकास, आन्तरिक सडक, खानेपानीका संरचना, पानी आपूर्ति गर्ने प्रणाली), उद्योगको कार्यालय, कारखाना, भवन वा गोदाम घर, कर्मचारी वा कामदारका लागि निर्माण भएको आवास भवन, विद्युत् आपूर्ति तथा त्यससँग सम्बद्ध उपकरण र प्रणाली, मेशिनरी, उपकरण, औजार तथा तिनका जगेडा पार्टपुर्जा, परिवहनका साधन, पूँजीगत प्रकृतिका कार्यालय सामग्री तथा उपकरण, फिक्स्चर तथा फर्निचर, सञ्चार सामग्री तथा त्यससँग सम्बद्ध उपकरण र प्रणालीजस्ता सम्पत्तिलाई स्थिर पूँजीका रूपमा मूल्याङ्कन गरिन्छ । यी सम्पत्तिबाहेक उद्योग स्थापना हुनुभन्दा अघि वा निर्माणको विभिन्न चरणमा भएका खर्चमध्ये पूँजीकृत गरिने प्राविधिक तथा सुपरिवेक्षण खर्च, पूर्वलगानी तथा पूर्वसञ्चालन खर्च, पूँजीकृत हुने ब्याज खर्च, उद्येग सञ्चालन पूर्वको वातावरणीय अध्ययन र अनुसन्धान खर्चजस्ता खर्चलाई पनि उद्योगको स्थिर पूँजीका रूपमा मूल्याङ्कन गर्न पाइन्छ । बौद्धिक सम्पत्ति पनि यसैमा प्राविधिक खर्चभित्र पर्छ ।

चालू पूँजी भनेको तत्कालीन खर्च र आवश्यकता पूरा गर्न जस्तो कामदारको तलब, उपयोगिता खर्च, सेवा खर्च, कर, अल्पकालीन साहूहरूजस्ता खर्च धान्न व्यवस्था गरिएको पूँजी हो । एक वर्षभरिमा उद्योग सञ्चालन गर्दा आइपर्ने वार्षिक सञ्चालन खर्चहरू जस्तो– घरभाडा, यातायात, कामदार कर्मचारी तलब, पानी, बिजुली, हुलाक, टेलिफोन आदि उपयोगिता, बीमा, मम्र्मत सम्भार, सम्पत्ति कर, अफिस सामान, ह्रासकट्टी फन्ड, विज्ञापन र बजारीकरण, अध्ययन अनुसन्धान आदि खर्चहरू स्थिर पूँजी हुन् । यसरी स्थिर पूँजीहरूले कम्पनीको दीर्घकालीन अवस्थाको हेरविचार गर्छ भन्ने चालू पूँजीले अल्पकालीन अवस्था हेरविचार गर्छ ।

आर्थिक व्यवस्थापनमा पूँजीलाई स्थिर सम्पत्ति मौज्दात र चालू सम्पत्ति मौज्दात गरी दुई वर्गमा छुट्ट्याइएको हुन्छ । शीर्षक फरक परे पनि स्थिर सम्पत्ति माथि चर्चा गरिएको स्थिर पूँजीजस्तै हो । चालू सम्पत्ति मौज्दात भने माथिको चालू पूँजीभन्दा अलि फरक ढङ्गबाट गणना हुन्छ । यसअन्तर्गत उही आर्थिक वर्षभित्र नगदमा रूपान्तरण गर्न सकिने सम्पत्तिजस्तै नगद मौज्दात, सुरक्षण उपकरण, उठनुपर्ने असामी, मौज्दात सामान, अग्रिम भुक्तानी रकमजस्ता सम्पत्ति पर्छन् । यस्तो पूँजीको वार्षिक आयव्ययको गणना गर्दा लेखाजोखा गरिन्छ ।

पूँजीको स्रोत या त स्वलगानी हुन्छ अथवा ऋण लगानी पनि हुन सक्छ । स्वलगानी पनि लगानीकर्ता आफै वा निजका नातेदार र साथीभाइबाट नगद संकलन गरिन्छ वा प्राइभेट कम्पनी भए शेयरका रूपमा पनि हुन सक्छ । प्राइभेट फर्म वा साझेदारी फर्मको रूपमा उद्योग सञ्चालन गर्दा स्वलगानी नगदकै रूपमा वा हिसाब नगदमा मिलान गर्ने गरी जिन्सीको रूपमा पनि हुन्छ ।

औद्यागिक प्रस्ताव राम्रो भए पूँजी प्राप्त गर्न समस्या पर्दैन । आफ्नै सक्रियतामा उद्योग सञ्चालन गर्न नसक्ने धेरै लगानीकर्ताले यस्ता अवसर पर्खेर बसेका हुन्छन् ।

स्वलगानीअन्तर्गत पूँजी प्राप्त गर्ने अर्को उपाय इक्वीटी शेयर वा स्टकको वितरण हो । तर, यो उपाय पब्लिक कम्पनीका रूपमा सञ्चालन गरिने उद्योगमा मात्र सम्भव छ । यस्ता कम्पनीको पूँजी वा स्वामित्वलाई साना साना धेरै एकाइमा विभाजन गरी सार्वजनिक खरीदका लागि आव्हान गरिन्छ । त्यस्ता एकाइहरूलाई शेयर भनिन्छ ।

शेयर भन्नु एउटा अदृश्य एकाइ तथा कम्पनीको पूँजी वा स्वामित्वको विभाजन पनि हो । यस्तो एकाइ खरीद गर्ने व्यक्तिलाई शेयरधनी भनिन्छ । शेयर खरीद गर्नु भनेको कम्पनीसँग गरिने एक पक्षीय करार पनि हो । कम्पनीले शेयरधनीबाट आफूलाई चाहिएको लगानी गर्ने पूँजी प्राप्त गर्छ । शेयरधनीले कम्पनी उत्पादनमा आएपछि लाभांश प्राप्त गर्छन् । शेयरहरू धेरै प्रकारका हुन सक्छन् । स्टक भनेको समूहीकृत गरिएका शेयरहरूको सँगालो हो । यो प्रायः १०० वा १००० शेयरको समूहमा हुन्छ । यो विधिबाट पब्लिक उद्योगको रूपमा सञ्चालन भएकाबाहेक अरू प्रारूपमा सञ्चालन भएका उद्योगले पूँजी संकलन गर्न पाउँदैनन् ।

अर्को स्रोत भनेको ऋणलगानी हो । ऋण संस्थागत रूपमा बैंक वा वित्तीय संस्थाबाट पनि प्राप्त गर्न सकिन्छ अथवा उद्योग पब्लिक कम्पनीको रूपमा सञ्चालन हुने भए सार्वजनिक ऋणपत्र जारी गरेर पनि ऋण उठाउन सकिन्छ । विभिन्न वाणिज्य बैंक र वित्तीय संस्थाले आकर्षक ऋणका प्याकेजहरू लिएर बसेका हुन्छन् र उद्योगको प्रस्ताव मूल्यांकन गरी उचित ब्याजदरमा लगानी गर्छन् । स्वलगानी गर्न नसकेमा वा पर्याप्त नभएमा मात्र ऋण लगानी गरिन्छ भन्ने कुरा पनि पूर्ण सत्य मान्न सकिँदैन । बुद्धिमान् लगानीकर्ताले विभिन्न जोखिम कम गर्न पनि सामान्यतया स्वलगानी र ऋण लगानीलाई ४० र ६० को अनुपातमा राख्छन् । लगानीकर्तासँग पर्याप्त नगद प्रवाह नहुन सक्छ त्यो अर्को पक्ष हो ।

ऋण जुटाउने अर्को उपाय ऋणपत्र हो । ऋणपत्र भनेको पब्लिक कम्पनीले सार्वजनिक खरीद आ≈वान गरी जारी गर्न पाउने एक प्रकारको वित्तीय उपकरण हो, जसमा लगानीकर्ताले निश्चित समय भुक्तानी भएपछि त्यस्तो उपकरण जारी गर्ने संस्थाबाट सावाँ र ब्याज भुक्तानी प्राप्त गर्न सक्छन् । यस्तो सुविधा प्राइभेट कम्पनी वा फर्मका रूपमा सञ्चालन गरिएका उद्योगले पाउन सक्दैनन् ।

कम्पनीलाई स्थापना कालमा नै धेरै पूँजी आवश्यक पर्ने भएकाले ऋणपत्र बेचेर पूँजी संकलन गरिन्छ र पछि कम्पनीको उत्पादन शुरू भएपछि अर्थात् कम्पनीले पूँजी निर्माण गरेपछि यस्ता ऋणपत्र धारण गर्ने साहूको ऋण चुक्ता गरिन्छ ।

पूँजीबारे स्पष्ट भएपछि तथा पूँजी परिचालन गर्ने शीप प्राप्त गरेपछि मात्र उद्योगबाट अपेक्षित लाभ प्राप्त हुन सक्छ । अन्यथा उद्योगको परिकल्पना गर्नु ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै हो ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement