ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

५ दिनमा १३३ अंक घट्यो नेप्से,  किन घट्दै छ दिनानुदिन बजार ?

२०७९ साउन, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, काठमाडौं । पछिल्लो केही दिनयता नेप्से परिसूचक निरन्तर घटेको छ ।  नेप्से परिसूचक साउन २२ गतेदेखि निरन्तर आज छैटौं दिन पनि घटेर बन्द भएको छ ।

साउन २२ गते २ हजार १२३ दशमलव ८२ विन्दुमा रहेको नेप्से परिसूचक साउन २९ गते २ हजार १० दशमलव ०१ विन्दुमा झरेको छ। यसरी हेर्दा परिसूचक ५ दिनमा ११३ दशमलव ८१ अंक घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।  

बढ्ने सकारात्मक पक्ष हुँदाहुँदै  बजार घट्दा लगानीकर्ता निराश बनेका छन् । अहिले पनि वित्तीय प्रणालीमा तरलता अभाव नै छ  ।  लाभांशको सिजन शुरू हुन थालेको छ भने बैंकले ब्याजदर नबढाउने घोषणा गरेका छन् । यस्तो अवस्थामा पनि बजार बढ्न सकेको छैन ।

हालसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरू नाफामै छन् । शेयर बजारमा सकारात्मक पक्ष हुँदाहुँदै पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । बजार बढ्नमा लगानीकर्ताको मनोबल पनि सकारात्मक हुनु जरुरी छ ।

त्यस्तै बजारको दीर्घकालीन सुधारका लागि वित्तीय प्रणालीमा तरलता सहज र ब्याजदर क्रमशः सस्तो हुँदै जानु आवश्यक रहेको जानकारहरू बताउँछन् । यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।   

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २७ दशमलव ९२ अंक घटेको छ । नेप्से परिसूचक २ हजार १० दशमलव ०१ विन्दुमा झरेको छ। आइतबार कारोबारमा आएका २२७ धितोपत्रको ४५ लाख ५९ हजार २२ कित्ता शेयर ३८ हजार ४१८ पटकमा रू. १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२७ धितोपत्रमध्ये अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १५४ दशमलव ८० पुगेको छ । त्यसैगरी दोस्रोमा कालिका पावर कम्पनीको शेयर मूल्य २ दशलमव ८८ प्रतिशत वृद्धि भएर रू. ४१५  पुगेको छ ।

आइतवार गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव शून्य ९ प्रतिशत घटेकाे छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजा ७४ कायम भएको छ । त्यसैगरी दोस्रोमा हिमालयन डिष्टिलरीको शेयर मूल्य ६ दशमलव १० प्रतिशत घटेर रू. ३ हजार ५२६ मा झरेको छ ।

साथै यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री पनि भएको छ । यस दिन कम्पनीको रू. १६ करोड ५३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक दोस्रो शेयर खरीदविक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ११ करोड २९ लाख छ। 

कारोबारमा आएका १३ समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ५८ प्रतिशत घटेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement