ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

२०७९ साउन, ३१  
बागमती प्रदेश
NA

चितवन । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यहीँ उपलब्ध भएका छन् भने राजधानीमा पनि नपाइने कतिपय स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् ।

 संघीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । यकीन तथ्यांक नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ । यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ । रू. एक अर्बसम्म लगानी गरेर निजी अस्पतालले स्तरोन्नति गरिरहेका छन् । यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौंपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउँछिन् । पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुनेगरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ । एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । उनले भनिन्, ‘सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नति र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौं ।’ मेडिकल कलेजसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाका लागि निःशुल्क बहिरंग टिकटको व्यवस्था महानगरले गरेको छ । यससँगै भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालयलगायतको स्तरोन्नतिका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ । महानगरभित्र ४२ स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा छन् ।

 चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने काठमाडौंमा नहुने उपचार सेवा चितवनमा हुने बताउँछन् । उनले भने, ‘यहाँ नहुने सेवा काठमाडौंमा हुँदैन ।’ उपचारको हिसाबले नेपालमा काठमाडौंभन्दा अगाडि चितवन रहेको दाबी उनको छ । उपत्यकाका धेरै बिरामी उपचारका लागि आफ्नो मेडिकल कलेजमा आउने गरेको न्यौपानेले बताए । उनले भने, ‘हाम्रोमा उपचार नहुने बिरामी नेपालमा अन्यत्र केही हुँदैन ।’ अङ्ग प्रत्यारोपणमा चर्चा कमाएको यो मेडिकल कलेजले क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै छ । भरतपुरमा एउटा सरकारी क्यान्सर अस्पताल रहेकोमा अब थप दुई निजी क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारीमा छन् ।

प्राडा न्यौपानेका भनाइमा स्पेक्टसिटी उपकरणमार्फत न्युक्लियर मेडिसिन, कतिपय रेडियोथेरापी, शल्यक्रिया गरिएका बच्चा राख्ने बाल सघन उपचार कक्ष, सानो आन्द्राको रगत बग्दा गरिने परीक्षणजस्ता धेरै उपचार काठमाडौंमा नभएर चितवनमा मात्रै हुने गरेको छ । यही ढङ्गले विकास हुँदै गर्दा स्वास्थ्यमा भरतपुरले फड्को मार्दै अघि बढ्ने उनको भनाइ छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement