ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

२०७९ साउन, ३१  
गण्डकी प्रदेश
NA

म्याग्दी । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो ।

स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सुधीर थापाले बताए । ‘निजी फार्म, किसान समूह र सहकारीलाई चिस्यान गृह बनाउन कुल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,’ उनले भने, ‘मुस्ताङमा निर्माण भएका चिस्यान गृहका कारण किसानले स्याउलाई भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्न पाएका छन् ।’

आर्थिक वर्ष २०७६/७७ मा पाँच टन क्षमताको एउटा, आव २०७७/७८ मा ४२ टन क्षमताका तीन र आर्थिक वर्ष २०७८/७९ मा ३० टन क्षमताका तीन  चिस्यान गृह निर्माण गरिएका थिए । मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा चिस्यान गृह निर्माण गरिएको परियोजनाले बताएको छ ।

परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले चालू आर्थिक वर्ष २०७९/८० मा चार चिस्यान गृह बनाउने कार्यक्रम रहेको जानकारी दिए । वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन् । परियोजनाको पहलमा मुस्ताङमा असोज महीना लागेपछि मात्र स्याउ बजारमा पठाउने नियम बनाइएको छ । स्याउको गुणस्तर घटेको गुनासो न्यूनीकरण गर्न र मुस्ताङी स्याउको ब्राण्ड बचाउन स्थानीय तहसँग समन्वय गरेर पछिल्ला दुई वर्षयता पाकेपछि मात्र स्याउ बजार पठाउने गरिएको परियोजनाका प्रमुख थापाले बताए ।

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बङ्गुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । कूल ३७९ फर्म, समूह र सहकारी लाभान्वित पाँच वटै जोन कार्यक्रममार्फत हालसम्म रू. ११ करोड ८८ लाख बजेट खर्च भएको छ ।  रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement