ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

खुला बजार अर्थतन्त्र र मारमा निक्षेपकर्ता

२०७९ भदौ, १  
लेख | दृष्टिकोण
Image Not Found

त्यस्तो अर्थ प्रणाली जहाँ बजार नियन्त्रणको कुनै अभ्यास हुँदैन, जहाँ बजारलाई प्राकृतिक रूपमा अगाडि बढ्न दिइन्छ र जहाँ कसैको हस्तक्षेप हुँदैन त्यसलाई खुला बजार अभ्यास मानिन्छ । यस प्रकारको बजारमा स्वतन्त्रता हुन्छ, जसले गर्दा बजार आफ्नै गतिमा अगाडि बढ्छ । यस प्रकारको बजारमा सरकार वा नियामक निकायको कुनै प्रकारको हस्तक्षेप हुँदैन । बजार नाफा केन्द्रित हुने डर रहे तापनि खुला बजारमा मुख्य डर भनेको बजार असफलताको हो । यदि बजार नियन्त्रणभन्दा बाहिर गयो भने बजारलाई सम्हाल्ने पक्ष कुनै हुँदैन, जसले गर्दा बजार ध्वस्त हुन सक्छ । यस प्रकारको बजारमा ग्राहकको माग र विक्रेताको आपूर्ति क्षमताले बजारको गन्तव्य निर्धारण गर्ने गर्छ । अनियन्त्रित हुनुको मुख्य फाइदा भनेको बजारमा नवीनता प्रवर्द्धन हुनुका साथै बजार प्रतिस्पर्धी, पारदर्शी र स्वतन्त्र रूपले अगाडि बढ्न पाउँछ ।

खुला बजारको सिद्धान्त मान्ने हो भने कार्टेलिङ र सिन्डिकेट गरेर वित्तीय क्षेत्रमा अस्वस्थ वातावरण सृजना गर्न हुँदैन ।

कर प्रावधानबाहेक नेपालको बजार प्रायः खुला बजार अभ्यासअन्तर्गत नै रहेको भेटिन्छ । तर, यातायात क्षेत्र, इन्धन आपूर्तिको क्षेत्रदेखि फलफूल तथा तरकारी वा मासुको होलसेल विक्रेतामा अहिले पनि सिन्डिकेट अभ्यास हाबी रहेको देखिन्छ । खुला बजारको अभ्यासमा नियन्त्रण हाल आएर बैंक तथा वित्तीय संस्थामा भएको देखिएको छ । विगत केही वर्षअगाडि खुला बजारको सिद्धान्त मान्ने उद्देश्यले एनआईसी एशिया अगाडि बढ्दा एक्लिनु परेको थियो । उक्त बैंकको चेकसमेत स्वीकार्न नमान्ने अवस्था आएको थियो ।

अहिले नेपाली अर्थतन्त्रमा तरलताको अभाव उच्च बिन्दुमा रहेको छ । बैंकहरूले हाल १.७ खर्ब जति स्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंकमा निक्षेप घट्दो क्रममा रहेको छ, जसले गर्दा अहिले कर्जा प्रवाहमा अघोषित रोक लगाइएको छ । यस क्षेत्रमा माग र आपूर्तिको गणितीय हिसाबमा अप्राकृत रूपले ब्याजदर नियन्त्रण गर्ने परिपाटी देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले आफै पनि गतवर्ष एउटा परिधि पारिभाषित गरिदिएर खुला बजार अर्थतन्त्रको अभ्यासमाथि प्रश्न उठाएकै थियो, जसले बैंकहरूलाई थप मलजल गर्न सहयोग गर्‍यो ।

अर्थशास्त्रले स्पष्ट निर्धारण गरेको सिद्धान्त माग र आपूर्तिलाई व्यवस्थित नगरी अगाडि बढ्न खोज्दा बजारमै अस्थिर अवस्था आउनु स्वाभाविक हो । बैंकको ब्याजदरमा नियन्त्रण गर्दैगर्दा त्यसले महँगी नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन सहज हुने भन्ने बुझाइले गर्दा त्यसको प्रभाव अलि बढी भएको देखिन्छ । त्यही बुझाइले होला, आयातनिर्यात सहज बनाउन, उद्योग कलकारखाना सजिलै सञ्चालन गर्न, बजारमा नगद प्रवाह सहजीकरण गर्न ब्याज नियन्त्रण सहयोगी हुन्छ । यसरी नियन्त्रण गर्दा कर्जाको ब्याजदर महँगो हुनु हुँदैन, जसले कुनै न कुनै स्वरूपबाट महँगीलाई नियन्त्रण गर्छ ।

ब्याजदरमा नियन्त्रणमुखी हुँदै गर्दा यसले कर्जाको ग्राहकलाई सहुलियत दिइरहेको छ । बजार महँगो हुँदा सहुलियत दिनु ठूलो योगदान हो । तर, उक्त सहयोग गर्दा अर्को पक्ष मारमा परेको विषयमा कसैको ध्यान गएको देखिँदैन । कर्जाका ग्राहकलाई मर्का नपर्ने हुँदा अहिले निक्षेपकर्ता भने मारमा परेकै हुन् । यस्तो चरम अभाव हुँदासमेत निक्षेपकर्ताले नियन्त्रित ब्याजदरमा आफूलाई बाध्य पार्नुपरेको छ । हो, हाल प्रदान गरिँदै आएको ११ दशमलव शून्य ५ प्रतिशत निकै उच्च ब्याजदर हो । तर, उक्त अंकलाई उच्च भनी परिभाषित गर्ने मापदण्ड के हो बुझ्नुपर्छ । ११ दशमलव शून्य ५ प्रतिशत यो आर्थिक अवस्थामा पर्याप्त हो कि होइन भनेर निक्षेपकर्ताको बुझाइ कसैले सम्बोधन गर्न नसक्दा बैंकहरूको सिन्डिकेट हाबी हुँदै गएको बुझ्न सकिन्छ । यसको प्रत्यक्ष मारमा निक्षेपकर्ता पर्न थालिसकेका छन् । उचित ब्याजदर खुला बजारको अभ्यासले मात्र प्रदान गर्न सक्छ, टेबलमा बसेर गरेको निर्णयले सक्दैन ।

अहिले बैंकिङ प्रणालीबाट निक्षेप घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले प्रतीतपत्रमा विभिन्न कडाइ गरे पनि बजारमा रहेको तरलता संकट घट्ने आधार देखिँदैन । बरु अब अनिवार्य मौज्दात बढ्दा बैंकहरू झन् झन् तरलताको डुबानमा पर्ने संकेत देखिन्छ ।

अर्थशास्त्रले एउटा सचेत व्यक्तिको परिकल्पना गर्छ । अहिलेको समय भनेको सचेत जमातको हो । किन अहिले पनि हुन्डी प्रयोग गरिन्छ ? सचेतना र अनुभवबीच जब द्वन्द्व सृजना हुन्छ, एउटा निचोडमा आउनुपर्ने बाध्यता ठूलो जमातमा रहन जान्छ । हुन्डी प्रयोग गर्दा निकै कम शुल्क र कम झन्झट हुने हुँदा प्राथमिकतामा हुन्डी नै पर्ने गरेको हो । निक्षेपकर्ता पनि सचेत नागरिक नै हुन्, बजारमा प्राप्त हुने ब्याज र बैंकले प्रदान गर्ने ब्याजबारे उनीहरूलाई धेरथोर ज्ञान अवश्य रहेको छ । बैंकिङ प्रणालीबाहिर रहेर निक्षेप जम्मा गर्ने हो भने उनीहरूले प्राप्त गर्ने ब्याज दुईदेखि तीन गुणासम्म धेरै छ । सचेत निक्षेपकर्ता त्यसतर्फ लालायित हुनु स्वाभाविक हो । जोखिमको कुरा आउला, नियम र अनुपालनको कुरा आउला । हुन्डी गलत हो भनेर थाहा पाए पनि सचेत जमातले यसको प्रयोग गरेकै छ । त्यही जमात बैंकिङ प्रणालीभन्दा बाहिर रहेर निक्षेप जम्मा गर्न लालायित हुन्छ । यो स्वाभाविक पनि हो । कुनै सामानको मूल्य एक ठाउँमा कम आउँछ र अर्को ठाउँमा बढी आउँछ भने बढी आउने ठाउँतर्फ आकर्षित हुनु मानवीय गुण नै हो ।

इन्धनको अभाव हुँदा मूल्य वृद्धि स्वाभाविक हो । त्यसैगरी निक्षेपको अभाव हुँदा त्यसको मूल्य वृद्धि भई नै रहेको हुन्छ र त्यसका लागि बढी तिर्नुपर्छ भनेर बुझ्न आवश्यक छ । कर्जाका ग्राहक शक्तिशाली होलान्, संयुक्त रूपमा प्रस्तुत हुन सक्लान् । उनीहरू व्यापारी र उद्योगी नै हुन् । तर, निमुखा निक्षेपकर्ता यसरी मारमा पर्दा बोलिदिने कोही नहुँदा उनीहरू विकल्प खोज्न बाध्य छन् । खुला बजारको सिद्धान्त मान्ने हो भने कार्टेलिङ र सिन्डिकेट गरेर वित्तीय क्षेत्रमा अस्वस्थ वातावरण सृजना गर्न हुँदैन ।

हिजो तरलता सहज हुँदा कर्जा ग्राहकले कम ब्याज तिरेकै हुन् । आज महँगो हुँदा त्यो पनि तिर्नुपर्छ । निक्षेपकर्तालाई मर्का पार्न मिल्दैन ।

रेग्मी बैंकर हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement