ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

वैदेशिक व्यापारको सम्प्रेषण

आयात वृद्धिको चरित्र चिन्ताजनक होइन

२०७९ भदौ, १  
लेख | दृष्टिकोण
Image Not Found

संस्कृतमा स्था धातु छ । यो धातुको चरित्र पूरा हुन चारओटा तत्त्व अन्तर्निहित हुनपर्छ । पहिलो जो खडा छ, त्यसको केन्द्र कहाँ छ, त्यसको फैलावटमा कति विषमता छ, त्यो कति ढल्केको छ, त्यसको उचाइ कति छ । यी चारओटा तत्त्वको चरित्र स्थापित भएपछि मात्र स्था धातु सिद्ध हुन्छ । यिनै चारओटा चरित्रको विकासक्रमसँगै वर्तमान आधुनिक तथ्यांकशास्त्रको प्रादुर्भाव भएको हो, जसलाई सेन्ट्रल टेन्डेन्सी, डिस्पर्शन, स्कुनेश र कुुर्टोसिस भनिन्छ । इटिमोलोजीडटकमका अनुसार यही स्था धातु प्रोटोइन्डोयूरोपियनमा स्टा हुँदै ल्याटिनमा स्टाटस भई स्टाटिस्टिक्स शब्दको व्युत्पत्ति भएको हो । यी चारओटा चरित्रको वर्णन गर्ने आधार डाटा हुन संस्कृत शब्दको ददातिबाट प्रोटोइन्डोयूरोपियन डु पर्सियनमा दादातम, ग्रीकमा दिदोनाई, आर्मेनियामा दानम, ल्याटिनमा देयर हुँदै डाटाम शब्दबाट डाटाको व्युत्पत्ति भएको हो । यसरी स्था र ददातिको अर्थात् स्टाटिस्टिक्स र डाटाको संयोजनलाई प्राचीन कालदेखि विचार निर्माणको अस्त्रका रूपमा प्रयोग भइरहेको छ । त्यसैले तथ्यांकलाई विचार निर्माणमा समाचारको भूमिका अति महत्त्वपूर्ण हुन्छ । समाचारलाई तथ्यांकीय आधार दिएपछि त्यो समाचारले समाजमा अझ बढी विश्वसनीयता प्राप्त गर्छ ।

बृहत् आर्थिक वर्गीकरण (वीईसी) को आधारमा प्रकाशित तथ्यांकलाई आधार मान्दा यस चालू आर्थिक वर्षमा ५० प्रतिशतभन्दा बढी आयात औद्योगिक कच्चा पदार्थको रहेको छ ।

एउटा कुशल तथ्यांकशास्त्रीले एउटै तथ्यांकलाई अनेक रूप, भाव र अर्थमा प्रस्तुुत गर्न सक्छ । तसर्थ तथ्यांकको प्रस्तुतिको प्रयोजन आफैमा एक महत्त्वपूर्ण विषय हो । वर्तमान समयमा विज्ञान र प्रविधिले तथ्यांक प्रस्तुतिका चामत्कारिक ढाँचाहरू विकास गरेको छ । ती चामत्कारिक ढाँचाहरूमा कहिलेकाहीँ साँच्चै जादूगरले जादू देखाएझैं जादू देखाएको हो कि जस्तो पनि हुन्छ । एउटै तथ्यांकलाई डाटामा कुनै परिर्वतन नगरी फरकफरक चरित्रका भावहरू उत्पन्न गर्ने कला तथ्यांक प्रस्तुतिमा हुन्छ । यस्ता कार्य विशेष गरी निर्वाचनताका आम रूपमा प्रयोग हुने गर्छन् । ओपिनियन पोलको एउटै परिणामलाई पाइचार्टमा इफेक्टको प्रयोग गरी आफ्ना आफ्ना उम्मेदवारको पक्षमा राम्रो जनमत रहेको भाव उत्पन्न गराइन्छ ।

तथ्यांकको प्रस्तुतिमा ‘नरो वा कुञ्जरो वा’ सूत्रको पनि अधिक प्रयोग हुन्छ अर्थात् आफूलाई जति खण्ड लिँदा पायक पर्छ त्यत्तिमात्रै लिने र त्यसैलाई विचार निर्माण गर्ने आधार तयार गर्ने । जुन वर्षलाई आधार मान्दा आफ्ना पक्षमा विचार निर्माण हुन्छ, त्यसैलाई आधार लिने प्रचलन पनि आम रूपमा रहेको हुन्छ । ग्राफमा स्तम्भका अंकहरू सुुल्टो र उल्टो क्रममा राखी सर्सती हेर्दा वृद्धि ह्रास जस्तो अनि ह्रास वृद्धि जस्तो बनाएर प्रस्तुति गर्ने युक्तिहरू पनि देखाइने गरिन्छ ।

यसरी तथ्यांकमा मिथ्याभास (मिराज) को प्रयोग विश्वमा अधिक हुने गरेको छ ।

मुलुकको वैदेशिक व्यापारका तथ्यांक प्रकाशित भइसकेपछि त्यसलाई समाचार माध्यममा विभिन्न ढंगले प्रकाशित गर्ने गरिन्छ । एउटै तथ्यांकबाट वैदेशिक व्यापारका विभिन्न तस्वीर समाचारहरूमा देखिने गर्छ । वैदेशिक व्यापारसम्बन्धी प्रतिवेदनहरूमा ती समाचारका विचारहरू पनि कुनै न कुनै रूपमा प्रतिबिम्बित भइरहेका हुुन्छन् । ती समाचारका पाश्र्व प्रभावहरू नीतिनिर्माण तहमा पनि परिरहेको हुन्छ । जसरी ‘नरो वा कुञ्जरो वा’ को उच्चारण हुँदा त्यसलाई नसुुनिने गरिँदा द्रोणाचार्यजस्ता विद्वान् त भ्रममा परेका थिए भने अरू सामान्य मानिसको त के कुरा ?

उदाहरणका लागि नेपालको वर्तमान वैदेशिक व्यापार तथ्यांक ( वस्तुतर्फ) लाई लिन सकिन्छ । झट्ट हेर्दा रू. १९ खर्बको आयात व्यापार, रू. २ खर्बको निर्यात अनि रू. १७ खर्बको व्यापारघाटा भन्ने आँकडा हेर्दा जो कसैलाई चिन्ता जाग्नुु स्वाभाविकै हो । सडकदेखि सदनसम्म रू. १७ खर्बको व्यापारघाटा भन्दै आँखीभांै तन्काउने कार्य भइरहेको छ । परन्तु यो आयात कुन प्रयोजनका लागि भन्ने विषयमा पनि कसैको ध्यान गएको देखिँदैन । नेपाल राष्ट्र बैंकले विगत लामो समयदेखि बृहत् आर्थिक वर्गीकरण (वीईसी) को आधारमा नेपालको आयातको प्रयोजनसम्बन्धी तथ्यांक मासिक रूपमा प्रकाशित गर्दै आएको छ । परन्तु यो शीर्षकको तथ्यांकको चर्चा सञ्चारमाध्यमबाट कमै हुने गरेको छ ।

बृहत् आर्थिक वर्गीकरण (वीईसी) को आधारमा प्रकाशित तथ्यांकलाई आधार मान्दा यस चालू आर्थिक वर्षमा ५० प्रतिशतभन्दा बढी आयात औद्योगिक कच्चा पदार्थको रहेको छ । करीब १० प्रतिशत जति आयात मेशिनरी तथा तिनका पार्टपुर्जा भएको देखिन्छ, जसको प्रयोग पनि उत्पादन वृद्धिमा नै हुने गरेको छ । यसरी हेर्दा ६० प्रतिशतभन्दा बढीको आयात औद्योगिक क्रियाकलापमा हुने गरेको छ । नेपालको कुल आयातको करीब ३८ प्रतिशत आयात मात्र अन्तिम उपभोगका रूपमा हुने गरेको छ । विश्वभरि नै आयातमा औद्योगिक कच्चापदार्थ र क्यापिटल गुड्सका रूपमा रहेका मेशिनरीको आयातको अंश जति बढ्दै जान्छ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक असर पारिरहेको हुन्छ भन्दै यस्तो आयातलाई सकारात्मक मानिन्छ । विश्वमा आयात प्रवर्द्धनको नीति अंगीकार गर्ने देशहरू यस्तै प्रयोजनका कारण यस्तो नीति अंगीकार गरिरहेका हुन्छन् । त्यस देशका अनुसन्धानात्मक संस्थाहरू, व्यापार मेधा (ट्रेड इन्टेलिजेन्स) र आर्थिक कूटनीतिहरू यस्तो कच्चापदार्थ कुन देशबाट कुन ढुवानीको मोडको प्रयोगबाट आयात गर्दा लागत कम हुन्छ र लाभ अत्यधिक हुन्छ भनेर अहोरात्र सक्रिय रहेका हुन्छन् । चीनले त आयात मेलाको वर्षेनि आयात गर्दै आएको छ ।

त्यस्तै अन्तिम उपभोगका सबै आयात पनि नराम्रा हुँदैनन् । देशको पर्यावरणमा प्रभाव पार्ने (जसको प्रशोधन स्वदेशमा गर्ने हो भने अत्यधिक प्रदूषण हुन जान्छ) जस्ता वस्तु आयात हुँदा त्यसलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । विश्वभरि यस्तो आयात प्रवर्द्धन गर्ने रणनीति लिइएको हुन्छ ।

उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालले पनि आयातको वास्तविक तस्वीर जनतासमक्ष प्रस्तुत गर्नु जरुरी छ । त्यो भनेको नेपालको आयात देशको अर्थतन्त्रका लागि योगदान दिने खालको छ भन्ने नै हो । यसका लागि ब्रोड इकोनोमिक वर्गीकरणका आधारमा मुलुकको आयातको वास्तविक तस्वीर समाचार माध्यम र राजनीतिज्ञहरूले बुझ्ने भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्नु नै हो । बोर्ड इकोनोमिक वर्गीकरणमा आधारित रही सर्वप्रथम देशको सम्पूर्ण आयात तीनओटा प्रयोजनमा कसरी उपयोग भइरहेको छ भन्ने तस्वीर सम्प्रेषण गर्नुु जरुरी छ भने तत्पश्चात् एचएसकोडको भागअनुुसार हरेक भागमा औद्योगिक कच्चापदार्थ र मेशिनरी तथा अन्तिम उपभोगका वस्तु कति प्रतिशत आयात भए भन्ने तथ्यांक प्रस्तुत हुन त्यत्तिकै जरुरी छ । उदाहरणका लागि एचएसकोडको ५२ भागलाई लिन सकिन्छ, जहाँ कपास, सुती धागो र कपडाका वर्गहरू पर्छन् । यसरी भाग ५२ को तथ्यांक प्रस्तुत गर्दा कपास, सुती धागो र कपडा यत्ति यत्ति आयात हुन्छ भनेर अलगअलग वर्गमा राखी तथ्यांक प्रकाशन गर्न सकेको खण्डमा त्यसले संलग्न उद्यमी र नवउद्यमीहरूलाई लगानीका लागि एउटा स्पष्ट खाका प्रदान गर्न सहयोग गर्छ । वस्त्रक्षेत्रका रूपमा रहेको एचएस वर्गीकरणको भाग ५० देखि भाग ६३ सम्ममा वस्तुहरूको आयातलाई बृहत् आर्थिक वर्गीकरणका आधारमा वर्गीकरण गर्ने हो भने वस्त्र उद्योगको समग्र तस्वीर स्पष्ट हुुन्छ र वस्त्र उद्योगमा लिनुपर्ने नीतिहरूका बारेमा स्पष्ट मार्गदर्शन आफै प्राप्त हुन्छ ।

तसर्थ नेपालको वैदेशिक व्यापारको प्रयोजनसहितको तथ्यांकको वर्गीकरणका तस्वीरहरू प्रकाशमा ल्याउनु अति जरुरी छ । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष पहल लिनु आवश्यक छ । आयातको प्रयोजनलाई स्पष्ट रूपमा स्पष्ट पार्न सकेको खण्डमा यसले नेपालको वैदेशिक व्यापारका बारेमा रहेको वर्तमान बुझाइभन्दा फरक दृष्टिकोण सृजना हुन्छ ।

संस्कृतको स्था धातुमा अन्तर्निहित चारओटा तत्त्व (केन्द्र, फैलावटमा विषमता, ढल्काइ र उचाइ) झैं नेपालको वैदेशिक व्यापारमा रहेका चारओटा तत्त्वहरूको प्रयोजनसहितको व्याख्या हुँदा मात्र त्यसले मिथ्याभासको अन्त्य र सत्याभासको स्थापन हुने देखिन्छ । तथ्यांकमा सूचना, सूचनामा ज्ञान, ज्ञानमा मेधा अनि मेधामा धीमताको योग गरेपछि जुन तत्त्व प्राप्त हुन्छ, त्यही नै नेपालको वैदेशिक व्यापारको नीतिगत, रणनीतिगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गर्ने देखिन्छ । तसर्थ भन्सार विभागबाट प्रदत्त तथ्यांकलाई प्रयोजनको आधारमा वर्गीकरण गरी सोही आधारमा विचार सृजना एवम् नीति तर्जुमा हुनु आवश्यक देखिन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement