ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

एक वर्षमा देशले गुमायो साढे २ खर्ब

२०७९ भदौ, १  
समाचार
Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । एक वर्षमा देशबाट साढे २ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । रेमिट्यान्स (विप्रेषण) आय बढे पनि वस्तु र सेवा आयात उच्च हुँदा देशमा भित्रनेभन्दा बाहिरिने रकम (शोधनान्तर) २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ बढी भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मंगलवार प्रकाशित गरेको गत असार मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा शोधनान्तर घाटा उच्च दरमा वृद्धि भएको उल्लेख छ । अघिल्लो आवमा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा थियो ।

यसैगरी गत आवमा अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब १४ करोडले घाटामा छ । अघिल्लो आवमा यस्तो घाटा ३१ लाख डलर थियो ।

नेपाल आयल निगमले गत आवमा पेट्रोलियम पदार्थ खरीदबापत इन्डियन आयल कर्पोरेशनलाई २३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेकाले शोधनान्तर घाटा अझै बढी हुने अवस्था छ । कोभिड–१९ महामारी र यसलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण अघिल्लो वर्ष आयात घट्दा शोधनान्तर स्थिति बचतमा थियो । तर, चालू आवको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

‘उच्च आयातका कारण शोधनान्तर घाटा पनि उच्च देखिएको छ,’ उनले भने, ‘आयात नियन्त्रण गर्न सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिबाट केही राहत भएको छ ।’ राष्ट्र बैंकको नीतिका कारण बाह्य क्षेत्र व्यवस्थापन गर्न केही सहज भएको उनले बताए ।

राष्ट्र बैंकका अनुसार गत आवमा १९ खर्ब २० अर्ब ४५ करोड बराबरको वस्तु आयात गर्दा २ खर्ब ३ करोड रुपैयाँको मात्र निर्यात भएकाले वस्तु व्यापारघाटा १७ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तुलनामा यो २३ प्रतिशतले बढी हो ।

यस्तै गत आवमा सेवा व्यापारघाटा पनि बढेको छ । गत आवमा भ्रमण आय ३४६ दशमलव ५ प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगे पनि भ्रमण व्यय १९६ दशमलव ७ प्रतिशतले बढेर ९७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो आवको तुलना गत आवमा प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको छ ।

शोधनान्तर घाटा उच्च हुँदा देशको विदेशी मुद्राको सञ्चिति घट्नुका साथै बैंक तथा वित्तीय संस्थाले तरलता अभावको समस्या भोगिरहेका छन् ।

विप्रेषणमा सुधार
गत आवमा देशको प्रमुख आम्दानी विप्रेषणमा भने सुधार छ । आव २०७८/७९ मा विदेशमा रहेका नेपालीबाट १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा ४ दशमलव ८ प्रतिशतले बढी हो । आवको शुरूमै विप्रेषण घट्न थालेपछि सरकारले यसलाई बढाउने नीति लिएको थियो । बैंकिङ च्यानलमार्फत भित्रने विप्रेषणलाई बैंकहरूले अन्य बचतमा भन्दा १ प्रतिशत बिन्दुले थप ब्याज दिँदै आएका छन् । कोभिड महामारी कम भई वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा विप्रेषण आय सकारात्मक भएको हो । डलरको भाउ उच्च हुँदा पनि विप्रेषण आय बढेको हो ।

विदेशी मुद्रा सञ्चिति बढ्यो
राष्ट्र बैंकका अनुसार २०७८ असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १३ दशमलव १ प्रतिशतले घटेर २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । अघिल्ला महीनाहरूको तुलनामा भने सञ्चिति बढेको छ । विदेशी मुद्रा सञ्चिति वैशाखमा ११ खर्ब ४६ अर्ब ८८ करोड र जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबर थियो । आव २०७८/७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७ दशमलव ८ महीनाको वस्तु र ६ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको छ ।

जेठसम्ममा ७ दशमलव ५३ महीनाको वस्तु र ६ दशमलव ७३ महीनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा थियो ।

मूल्य वृद्धिको दबाब कायमै
गत असारमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष असारमा यो ४ दशमलव १९ प्रतिशत थियो । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्य वृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आव २०७८/७९ का पछिल्ला महीनामा मुद्रास्फीतिमा दबाब बढेको छ । तर, आव २०७८/७९ को शुरुआती महीनामा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३२ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement