ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

१० प्रतिशत माथि उक्लियो बेलायतमा महँगी 

२०७९ भदौ, १  
अन्तरराष्ट्रिय
Image Not Found

लन्डन (बेलायत) । बेलायतमा महँगी झनै चुलिएको छ । जुलाईसम्मको १२ महीनामा त्यहाँ मुद्रास्फीति १० प्रतिशत माथि उक्लिएको छ । योसँगै सन् १९८२ यता पहिलो पटक महँगीले दोहोरो अंक छोएको हो । 

राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा देशभरमा मुद्रास्फीति १० दशमलव १ प्रतिशत रहेको छ । अहिलेकै दरमा मूल्य वृद्धि बढिरहेमा छिट्टै नै यो १३ प्रतिशत माथि उक्लिन सक्ने चेतावनी केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ले दिएको छ । समीक्षा अवधिको मुद्रास्फीति दर अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा धेरै हो । 

खाद्यान्नको भाउमा भइरहेको वृद्धिका कारण समग्रमा महँगी बढिरहेको छ । यसमाथि ऊर्जा, इन्धनको चर्को भाउले पनि जीवनयापन मुश्किल बन्दै गइरहेको छ । तलबभन्दा धेरैले महँगी बढेको छ । अकासिएको जीवनयापन खर्चका कारण घरपरिवारको बजेट प्रभावित भइरहेको छ । 

खाद्यान्न र गैर–रक्सीजन्य पेयको मूल्य समीक्षा अवधिमा सबैभन्दा धेरै बढेको ओएनएसले बताएको छ । पाउरोटी, गेडागुडी, दूध, चिज र अन्डाको भाउमा पनि तीव्र वृद्धि भएको छ । तरकारी, मासु र चकलेट पनि महँगो भएको छ । खाद्यान्नको भाउ त बढेको छ नै ट्वाइलेट रोल, घरपालुवा जनावरका खानेकुरा र दाँत माझ्ने ब्रसको मूल्य पनि बढेकाे छ । 

यातायात खर्च झनै छोइनसक्नु भएको छ । विशेषगरी, हवाई भाडा र अन्तरराष्ट्रिय रेल टिकटको मूल्य बढेको छ । माग बढेसँगै होलिडे प्याकेजको मूल्य पनि बढेको छ । महँगी नियन्त्रणलाई अर्थमन्त्री नधिम जहावीले आफ्नो शीर्ष प्राथमिकता बताएका छन् । समय कठिन छ भन्ने आफूले पनि बुझेको अनि विश्वभर अन्य देशमा पनि महँगी मानिसको टाउको दुखाई बनेको पनि उनले बताए ।

महँगीबाट सर्वसाधारणहरूलाई टेवा दिन आफूहरूले ३७ अर्ब पाउन्डको राहत प्याकेजमार्फत प्रयास गरिरहेको पनि उनले बताए । महँगीको मार कम गर्न न्यून आय भएका, पेन्सनभोगी र शारीरिकरूपमा दुर्बलहरूलाई थप भुक्तानी गर्नुको साथै आगामी महीना बिजुलीको बिलमा सबैलाई ४०० पाउन्ड छूट दिनेबारे पनि उनले बताए । 

बेलायतमा तलब घटेको मंगलवार ओएनएसले सार्वजनिक गरेको तथ्यांकले देखाएको थियो । अप्रिलदेखि जुनको बीचमा औसत तलब ४ दशमलव ७ प्रतिशतले मात्रै बढेको छ । तर, मूल्य वृद्धिसँग समायोजन गर्दा तलब उल्टै ३ प्रतिशत कम छ ।

समीक्षा अवधिमा सरकारी क्षेत्रको तलब १ दशमलव ८ प्रतिशतले मात्रै बढेको छ भने निजीमा यो दर ५ दशमलव ९ प्रतिशत छ । महँगी बढेर जीवनयापन खर्च धान्न नसक्ने भएपछि रेल उद्योग लगायत केही क्षेत्रमा कामदार र श्रम संगठनहरूले तलब बढाउने माग चर्काएका छन् । एजेन्सी 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement