ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नवप्रवर्तनलाई प्रोत्साहनको बेला

२०७९ भदौ, २  
सम्पादकीय
Image Not Found

प्रविधिको प्रयोगले सुशासन र आर्थिक समृद्धिमा ठूलो टेवा मिल्ने तथ्यप्रति सरकार पूर्ण जानकार देखिए पनि यसको उपयोग गर्न भने निकै पछाडि रहेको छ । नयाँ प्रविधिप्रतिको अविश्वासले हो वा प्रविधि प्रयोग गर्दा कर्मचारीतन्त्रको मनपरी निर्णयमा अंकुश लाग्ने भएर हो, प्रविधिको प्रयोग गर्न उदासीनता देखिन्छ । प्रविधि प्रयोग भए पनि पुरानै ढर्राको प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता सेवाग्राहीमाथि थोपिरिएको छ । अहिले सरकारले ल्याएका अनलाइन सेवामा यस्तो प्रवृत्ति पाइन्छ । आसन्न संघीय संसद् र प्रदेश सभाको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्नेतर्फ सोच गएको देखिँदैन ।

बौद्धिकतामा आधारित अर्थतन्त्र विस्तार गर्नु नेपालजस्तो देशका लागि आर्थिक विकासको बलियो आधार हुन सक्छ । त्यसैले नवीनतम सोच र प्रविधिलाई सकेसम्म प्रोत्साहित गर्न आवश्यक छ ।

मुलुकमा उद्यमशीलता आवश्यक छ । उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सरकारको नीति पनि रहेको छ । तर, व्यवहारमा ठीक उल्टो रहेको पाइन्छ । यसको उदाहरणका लागि रामलक्ष्मण इन्नोभेशनले तयार पारेको विद्युतीय मतदान यन्त्रलाई प्रयोग गर्न नमान्नु हो । यो मतदान यन्त्र बनेको अढाइ दशकभन्दा बढी समय बितेको छ तर यसलाई निर्वाचनमा प्रयोग गर्न निर्वाचन आयोगले हिम्मत देखाएको छैन । यसबाट निर्वाचन गर्ने हो भने निर्वाचन खर्च घट्छ । मतदान पत्र छपाइ आदिका लागि लाग्ने खर्च जोगिने मात्र होइन, मतगणना पनि ज्यादै छिटो हुन्छ । मतदानपत्रमा दिइएको मत गन्न कैयौं दिन लाग्ने गरेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं, भरतपुरजस्ता महानगरपालिकाको मतगणना सक्न कैयौं दिन लागेको अनुभव ताजै छ । यस्तोमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्नु निकै राम्रो हुन्छ । हो, एकैपटक देशभर यस्तो प्रयोग गर्न सरकारलाई अप्ठ्यारो होला, तर केही निर्वाचन क्षेत्रमा यसको प्रयोग गरेर हेर्नुपर्छ । अझ यन्त्रनिर्माताले सरकारलाई आफ्नो लागतमा नै यस्तो यन्त्र उपलब्ध गराउने वा सरकार आफैले यन्त्र बनाए आफूले प्रविधि सरकारलाई दिने प्रस्ताव गर्दा पनि सरकारले यसमा चासो नदिनु भनेको प्रविधिप्रतिको अविश्वास नै हो भन्न सकिन्छ ।

विभिन्न संस्थाहरूका निर्वाचनमा यसको कुशल प्रयोग भइसकेको हुँदा केही निर्वाचन क्षेत्रमा यसको प्रयोग शुरू गर्ने र बिस्तारै त्यसलाई बढाउँदै लैजानु उपयुक्त हुन्छ । यतिखेर उद्यमशीलता र नवप्रवर्तनको बेला हो । त्यसैले नयाँनयाँ विचार र कार्यलाई प्रोत्साहन गर्नु जरुरी छ । तर, नवप्रवर्तनमा सरकार नै बाधक बनेको छ । युवाहरूले बनाएको यस्तो प्रविधिलाई प्रोत्साहन गर्न सरकार चुकेको छ । यस्तो अवस्थामा युवाहरू कसरी नवीन अनुसन्धान र खोजमा लाग्न सक्छन् ?

सरकारले गर्ने भनिएको आर्थिक र नीतिगत सहयोग त अहिलेसम्म घोषणामा मात्रै सीमित रहेको छ । सफ्टवेयर होस् या हार्डवेयर दुवैमा सरकारले नेपाली उत्पादनलाई बेवास्ता गरेको पाइन्छ । जब कि विदेशी कम्पनीहरूले आउटसोर्सिङ गरेर नेपालीलाई नै त्यस्तो सफ्टवेयर बनाउन लगाएका हुन्छन् । यो स्वदेशी प्रतिभाको उपेक्षा हो ।

प्रविधिको विकासविना नेपालले समृद्धिको यात्रा तय गर्न सक्दैन । बौद्धिकतामा आधारित अर्थतन्त्र विस्तार गर्नु नेपालजस्तो देशका लागि आर्थिक विकासको बलियो आधार हुन सक्छ । त्यसैले नवीनतम सोच र प्रविधिलाई सकेसम्म प्रोत्साहित गर्न आवश्यक छ । सरकारले खोजीखोजी नवप्रर्वतनको विकास गर्नुपर्ने बेला कसैले मेहनतका साथ तयार पारेको प्रविधि उपयोगी छ भने त्यसमा खुशी हुँदै प्रोत्साहन गर्नुपर्छ । तर, विद्युतीय मतदान यन्त्रलाई बेवास्ता गरेर सरकारले नेपाली युवालाई खोज र अनुसन्धानमा लाग्न निरुत्साहित गरेको छ ।

स्वदेशी प्रविधिलाई आफ्नै मुलुकमा प्रयोग गर्न सके त्यसले अन्तरराष्ट्रिय बजारमा जाने अवसरसमेत प्राप्त गर्न सक्छ । प्रविधिमा केही कमजोरी हुन सक्छन् । सरकारले यस्तो प्रविधिको प्रयोग गरिदिए त्यसमा सुधार गर्न पनि सहज हुन्छ । साथै नयाँ खालका प्रविधि बनाउन पनि उत्साह मिल्छ ।

अर्थतन्त्रको रूपान्तरणका लागि नवप्रवर्तन र नवीन खोजी महत्त्वपूर्ण हुन्छ । बढ्दो व्यापारघाटा टाउको दुखाइको विषय बनिरहेको सन्दर्भमा स्वदेशी प्रविधि प्रयोग गर्दा यसले आयातका लागि हुने खर्चमा कमी ल्याउन मद्दत गर्छ नै । साथै, प्रविधि निर्यातबाट राम्रो आम्दानी गर्ने अवसरसमेत प्राप्त हुन्छ । अतः निर्वाचनमा नेपालीले बनाएको विद्युतीय मतदान यन्त्रको प्रयोग गरेर नेपालीहरूलाई प्रोत्साहन गर्न सरकार हिचकिचाउनु हुँदैन ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement