ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

महामन्दीको बाटोमा घरजग्गा क्षेत्र, दुई वर्षयताकै खराब अवस्था !

२०७९ भदौ, २  
समाचार घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २, काठमाडौं । अहिले घरजग्गा कारोबार पछिल्ला केही वर्षयताकै खराब अवस्थाबाट गुज्रिरहेको छ । घरजग्गा कारोबारमा ठूलो मन्दी देखिएको छ । घरजग्गामा यति ठूलो मन्दी योभन्दा अघि कहिल्यै नदेखेको व्यवसायीहरूले बताउने गरेका छन् ।  

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले पनि पछिल्लो २ वर्षमा सबैभन्दा कम घरजग्गा किनबेच भएको देखाएको छ ।

विगतमा थोरै जग्गा किनबेच हुँदा पनि मासिक ४० देखि ५० हजार घरजग्गा किनबेच हुने गरेकोमा २०७९ साउनमा पहिलोपटक मासिक कारोबार संख्या ३३ हजारमा सीमित भएको छ । राजस्व संकलन घटेर ३ अर्ब रूपैयाँभन्दा तल आएको छ । 

ठिक एक वर्षअघि २०७८ साउनमा भने ७५ हजार बढी घरजग्गा किनबेचका लिखत पारित भएका थिए । राजस्व संकलन पनि ८ अर्ब १३ करोड रूपैयाँ भएको थियो ।

२०७७ साउनमा ३८ हजार घरजग्गा किनबेच हुँदा राजस्व संकलन भने २ अर्ब ७५ करोड रूपैयाँ भएको थियो । तर, त्यतिबेला कोरोना महामारीका कारण देशका धेरै ठाउँमा लकडाउन गरिएको थियो । मालपोत कार्यालयले पनि पालैपालो सेवा दिएका थिए । भदौमा पनि लकडाउन भएपछि कारोबार संख्या १५ हजारमा झरेको थियो । त्यही वर्ष चैतमा कारोबार संख्या ८८ हजारसम्म पुगेको थियो । त्योबाहेक पछिल्लो २ वर्षमा सबैभन्दा कम घरजग्गा किनबेच २०७९ साउनमा भएका छन् । 

जग्गाको मूल्यांकन नै न्यून भएका बेला राजस्व रकम भने मासिक १ अर्ब रूपैयाँ मात्रै पनि उठ्ने गरेको थियो । तर, त्यतिबेला वार्षिक राजस्व नै १०/१२ अर्ब रूपैयाँ हाराहारी मात्रै उठ्थ्यो । अहिले घरजग्गाको मूल्यमा भएको वृद्धि र कारोबारमा भएको बढोत्तरीले गत वर्ष एकै महीनामा करीब १० अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो । कारोबार संख्या पनि महीनामै ८८ हजारसम्म पुगेको थियो । पछिल्ला २ वर्ष वार्षिक राजस्व संकलन पनि ५० अर्ब रूपैयाँभन्दा बढी भएको थियो ।

त्यस हिसाबले अहिले मासिक ३ अर्ब रूपैयाँभन्दा कम राजस्व उठ्नु भनेको निकै खराब अवस्था भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको भनाइ छ ।

कोरोना महामारीका कारण देशव्यापी लकडाउन हुँदाबाहेक सामान्य समयमा यति थोरै कारोबार भएको पहिलोपटक ‘नोटिस’ भएको विभागका कर्मचारीहरू बताउँछन् ।

निरन्तर घट्दो कारोबार 

साउनमा ३३ हजार घरजग्गा किनबेच भएका छन् भने राजस्व संकलन २ अर्ब ७३ करोड रूपैयाँमा सीमित भएको छ ।

असारमा ४७ हजार घरजग्गा किनबेच भएका थिए । त्योभन्दा अघि जेठमा करीब ५५ हजार घरजग्गा किनबेच भएका थिए । 

अहिले दैनिक १ हजारभन्दा केही बढी मात्रै लिखत पास हुने गरेको विभागको तथ्यांकले देखाउँछ । सामान्य समयमा भने त्यो संख्या ७–८ हजारसम्म हुने गरेको थियो । 

सरकारकै कारण महामन्दीतर्फ घरजग्गा क्षेत्र 

सरकारले गत जेठमै भूउपयोग नियमावली जारी गरेर जग्गाको वर्गीकरणबिना कित्ताकाट र किनबेचमा रोक लगाएपछि घरजग्गा कारोबार दिनदिनै घटेको घट्यै छ । 

केही समय अघिसम्म बजारमा जग्गाको आपूर्ति बढे पनि किन्ने मान्छे नहुँदा कारोबार घटेको थियो भने अहिले जग्गाको आपूर्ति नै घटेको जग्गा व्यवसायीहरू बताउँछन् । 

घरजग्गा कारोबार उसै पनि घटिरहेको बेला सरकारी कदमले यो क्षेत्रमा महामन्दी निम्त्याउन सक्ने व्यवसायीहरूको चिन्ता छ ।

स्थानीय तहको राजस्वमा खाडल

विभागका अनुसार साउनमा देशभरबाट २ अर्ब ७३ करोड रूपैयाँ मात्रै राजस्व संकलन भएको छ । असारमा भने देशभरबाट ३ अर्ब ६० करोड रूपैयाँ राजस्व संकलन भएको थियो । गत जेठमा ४ अर्ब २४ करोड रूपैयाँ हाराहारी राजस्व संकलन भएको थियो । यो तथ्यांकले पनि घरजग्गा कारोबार निरन्तर ‌ओरालो लागेको देखाउँछ ।

भूउपयोग नियमावली लागू हुनुअघि भने महिनामा ५–६ अर्ब रूपैयाँसम्म राजस्व संकलन भइरहेको थियो । वैशाखमा मात्रै पनि करीब ५ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो ।

एकताका महीनामै १० अर्ब हाराहारी उठ्ने राजस्व ३ अर्ब रूपैयाँभन्दा तल आएपछि स्थानीय तहको आम्दानीमा ठूलो खाडल देखिएको जनप्रतिनिधिहरू बताउँछन् ।

घरजग्गा किनबेच गरेवापत आउने रजिष्ट्रेशन दस्तुर साउनमा जम्मा १ अर्ब ४६ करोड रूपैयाँ मात्रै छ । यस्तो दस्तुर कुनै बेला ७ अर्ब रूपैयाँसम्म संकलन हुने गरेको थियो ।

मालपोत कार्यालयबाट आउने राजस्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तहले पाउने व्यवस्था छ । ४० प्रतिशत राजस्व प्रदेश सरकारबाट परिचालन गर्ने व्यवस्था छ । केन्द्र सरकारले भने पूँजीगत लाभकर मात्रै पाउँछ ।

अहिले पूँजीगत लाभकर पनि घटेर ७५ करोड रूपैयाँमा सीमित भएको छ । कुनै समय पूँजीगत लाभकर संकलन पनि २ देखि ३ अर्ब रूपैयाँसम्म हुने गरेको थियो ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement