ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

धरानको मुख्य बजारमै सवारी आवागमन अस्तव्यस्त

२०७९ भदौ, ३  
प्रदेश ०१
Image Not Found

धरान । साँघुरिँदै गएको बजारमा सवारीसाधनको अत्यधिक चापले धरानको मुख्य बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । बजारमा सवारीसाधनको जथाभावी पार्किङले बजारलाई नै कुरूप बनाउँदै गएको छ ।

करीब ४५ वर्षअघि धरानको भानुचौकबाट बसपार्क सञ्चालन गरिएको थियो । त्यसपछि धरानमा बढ्दै गएको सवारीसाधनको चापले भानुचोक क्षेत्र अव्यवस्थित हुन थालेको छ । धरानको जनसंख्या बढेसँगै बजार व्यवस्थापन नभएकाले पनि बजार अस्तव्यस्त बन्दै गएको स्थानीय बताउँछन् ।

बजार क्षेत्रकै सडकमा अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ गर्दा बजारमा भीडभाड र दुर्घटनाको जोखिम समेत बढेको छ । धरानका बढी भीडभाड हुने प्रमुख बजारहरू पुतली लाइन, सब्जीमण्डी, कलेज रोड, देशीलाइन लगायत स्थानमा अझै पनि पार्किङमा समस्या छ ।

व्यवस्थित पार्किङ स्थल नभएकै कारण सवारीचालकले सडकमै पार्किङ गर्ने गरेका छन् । एकातिर सवारी चाप बढ्दै जानु र अर्कोतर्फ साघँुरो सडकका कारण धरानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख श्यामकुमार बस्नेत बताउँछन् । ‘धरानको बसपार्क साँघुरो छ,’ उनले भने, ‘विभिन्न स्थानका लागि छुट्ने सार्वजनिक यातायातका साधनको पार्किङ पनि यहीँ छ, यसले गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको छ ।’

पछिल्लो समय जनप्रतिनिधि, सरोकारवालाहरू सँगको सहकार्यमा सवारी आवागमनको अस्तव्यस्तता न्यूनीकरणको प्रयास भइरहेको उनले बताए । केही समयअघि धरान उपमहानगरपालिका वडा नं २, ३ र व्यापारीबीच छलफल गरी धरानको पुरानो बजारमा एकतर्फी पार्किङको व्यवस्था गरिएको उनको भनाइ छ ।

अहिले सवारीसाधनको पार्किङ व्यवस्थापन धरानको मुख्य चुनौती बन्दै गएको उनको भनाइ छ । पार्किङ समस्याले बटुवादेखि सवारीसाधन चलाउनेहरूलाई समस्या पर्ने गरेको उनको भनाइ छ । धरान उपमहानगरपालिका–१६ का टेम्पो चालक हेमराज भुजेलले स्थायी रूपमा टेम्पो स्ट्यान्ड नहुँदा समस्या भएको गुनासो गरे ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement