ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

बस् ताली ठोकिरहौं

२०७९ भदौ, ३  
तीतो मीठो
author avatar मदन लम्साल

अहिलेको जमानामा हुलिया हेरेर मानिस चिन्न गाह्रो छ । अझ को चोर हो, को पकेटमार, को डाँका र को नेता, छुट्ट्याउन साह्रो छ । गुलिया कुरा गरेर जनता भुलाउने, चिल्ला कुरा गरेर सेवाग्राही झुलाउने जमानामा राम्रा जस्ता मानिस राम्रा नहुने सम्भावना धेरै छ । राम्रा मानिस हाम्रा नहुने, हाम्रा मानिस राम्रा नहुने सम्भावना पनि उत्तिकै छ ।

पहिले देश ऋषिप्रधान हो भन्थे, पछि कृषिप्रधान भन्न थाले । अहिले डाँडापाखादेखि मैदानसम्मै शिशिप्रधान बनिसक्या छ । नेताहरूको ताल र सरकारको चालले गर्दा अब त देश संसारकै खिसीप्रधान बनिसक्यो ।

देशअनुसार वेश, वेश अनुसार मान्छे भन्थे । वेश अर्थात् पोशाक । यहाँ त वेशअनुसार केही पनि छैन । सानो फुच्चे समेत डाइलग दिन्छ, ‘डन्ट जज बाई माई अपियरेन्स’ ।

देशमा शासक भ्रष्टाचारी, प्रशासक भ्रष्टाचारी, पुलिस भ्रष्टाचारी, न्यायाधीश भ्रष्टाचारी, भोट पाउने भ्रष्टाचारी, भोट खसाउने पनि भ्रष्टाचारी (नेताले भनेका) हुन् भन्छन् । भएपछि बाँकी अब को चैं बच्यो त सदाचारी ? अनि कसरी चिन्ने को नेता को व्यभिचारी ? इमानदारी, समझदारी केही नभएका बोकेदारीलाई खबरदारीले काम नगर्ने रहेछ ।

देशमा तथाकथित परिवर्तनको अर्थात् तथाकथित लोकतन्त्रको नतीजा के भयो भने दाल–चामल विदेशको, तरकारी विदेशको, रेल विदेशको, तेल विदेशको, कार विदेशको, रोजगार विदेशको । अझ मान्छेहरू भन्छन् सरकार पनि विदेशकै । सबैथोक विदेशकै भएपछि स्वदेशको हित कल्ले हेर्ने ? जसको सीता खायो, उसैको गीता गाउनुपर्ने भएर होला शासकहरूले आफ्नो भन्दा विदेशीकै हित हेर्न थालेको भान हुन्छ । अनि निजीक्षेत्रले मात्र ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं’ भनेर नारा रच्दैमा हुन्छ त देश आत्मनिर्भर ? अझ जजसले स्वदेशी खाऔं भन्ने नारा लाउँछन् उनीहरू आफै चाहिँ प्रायः विदेशी नै खान्छन्, भ्याएसम्म धेरैजसो विदेशतिरै घुम्न जान्छन् ।

त्यै भएर होला, पहिले देश ऋषिप्रधान हो भन्थे, पछि कृषिप्रधान भन्न थाले । अहिले डाँडापाखादेखि मैदानसम्मै शिशिप्रधान बनिसक्या छ । नेताहरूको ताल र सरकारको चालले गर्दा अब त देश संसारकै खिसीप्रधान बनिसक्यो । चुनाव चाहिँ चिचीप्रधान । चिचीको लोभ देखायो, पाँच वर्ष ढुकुटीमा राज जमायो । त्यसैले ट्रान्सपरेन्सी इन्टरनेशनल भन्छ, ‘नेपाल १८० देशमध्ये ११७औं भ्रष्ट देशको स्थानमा पुगिसकेको छ । यो हरेक वर्ष झन् झन् बढी भ्रष्टाचार हुने मुलुकमा विश्वमा बदनाम हुँदै गएको छ ।

हुन त नेताहरूको, शासकहरूको, ठूला मान्छेहरूको मजाक उडाको मलाई मन पर्दैन । तर जुन नेताहरूले दशकौंदेखि देश र जनताको मजाक उडाइराछन् मैले तिनको मजाक नउडाए कस्को चैं उडाउने त ? नायक भनेर माथि पठाको नालायक बनेसम्म त सहेकै हो, तर अहिले त खलनायक पो भएर निस्किए त । यस्ता जालीहरूलाई अब गाली नगरी ताली मात्र ठोकेर बस्नु त ?

हुन त अहिले देशमा ताली ठोक अभियान नै चलिरहेको छ । भोटर बिचरा आफ्नो टाउको पनि ठोकिराछ । राजनीतिमा भने हरेक नेताले कुर्सीको कीरा आफ्नो दिमागमा पालिराछ छ । ताली ठोकिरहने यो युगमा यो लेखक भने टेबलमा आफ्नो कलम ठोकिराछ ।

कुर्सी, कुर्सी, केवल कुर्सीको यो दौडमा अधिकार र कर्तव्यको करुणामय मृत्यु भइरहेको छ । किनकि आफ्नो काम, कर्तव्य भुलेकाहरूका कारण एकअर्कालाई टोक्ने र ठोक्नेमै व्यस्त छन् जिम्मेवारी बोक्नेहरू । बरु सभासम्मेलन ढुक्ने, घोक्रो सुक्नेगरी मनलागी भुक्ने र आकाशको तारा धर्तीमा उतार्ने गफ फुक्ने । भीड पनि के कम छ र ? ऊ पनि गरिरहन्छ नेतालाई गाली नै गाली । तर उसकै भाषणमा फेरि ठोकिरहन्छ ताली नै ताली । कहिल्यै सोच्दैन काट्ने राजनीतिको फोहोरी जाली !

मूर्खताको सीमा छैन । गरिबको बीमा छैन । गाली पनि गरिरहने । भोट पनि उनैलाई दिइरहने । हो, राजनीतिको झेलै झेलैको खेल जारी छ । तर देशले, हाम्रो युगले चुकाउने मूल्य भारी छ । विनाकुर्सी कुनै पनि नेता धेरै बाँच्ने स्थितिमा देखिन्न । मन्त्री नबनी त जीवन नै सफल भएको मानिन्न । जो नेता विनाकुर्सी बाँच्ने सोच्नै सक्तैन, उसले देशका लागि केही गर्छ भनेर कसरी सोच्ने ?

हुन त हामी जनता पनि छौं उस्तै । हामी आफै अमुक नेताहरूलाई पहिले चुन्छौं, अनि पछि तिनै नेताहरूको आलोचना गर्छौं । पाँच वर्ष खुब गाली गर्छौं । भ्रष्टाचारीलाई ठोक्नुपर्छ भन्छौं । अन्तमा उनैलाई ड्याम्म मतपत्रमा भोट ठोक्छौं । चुनेर पठाउने हामी । अबिर, माला लगाइदिने हामी । सम्मान गर्ने हामी । त्यसैले नेताको समस्या उसको होइन, हाम्रो हो र यसमा हामीले बारम्बार भूल गरिरहका छौं ।

पहिले म सानो हुँदा बुझ्दिनथेँ कि भोट के हो र किन दिने हो भनेर । ठूलो भएपछि अहिले फेरि बुझ्न सकिरहेको छैन, भोट दिएर के हुन्छ भनेर । हाम्रो लक्ष्य जनताको जीवनस्तरमा सुधार ल्याउने थियो । ती लक्ष्य अझै कायम छन् । अर्थात् हामी गधा थियौं, छौं र हाम्रो यस्तै ताल हो भने गधै रहिरहनेछौं । हाम्रो काम केवल गाली गरिरहने अनि ताली पनि ठोकिरहने र आफ्नो गल्तीको भारी बोकिरहने भएको छ । त्यसैले अब छोड्नुस् नेताहरूलाई गर्न गाली, बरु आनन्दसँग केवल नेताहरूका भाषणमा ठोकिरहनुस् है ताली !! को सही को गलतको धन्धामा समय खेर फाल्ने काम छैन । त्यसैले ठोक्नुस् ताली, बोक्नुस् नेता, जसरी भए नि जोड्नुस् जायजेथा । भोलि के हुन्छ कस्लाई के था ? हाहाहा !!!

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement