ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याज बढाएपछि कर्जाको ब्याजदर १२ % नजीक

२०७९ भदौ, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । वाणिज्य बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर १२ प्रतिशतनजीक पुगेको छ । तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याज बढाएपछि लागत वृद्धि भई कर्जाको ब्याज पनि महँगो भएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असारमा वाणिज्य बैंकहरूबाट प्रवाह हुने कर्जाको औसत ब्याजदर ११ दशमलव ६२ प्रतिशत पुगेको छ । २०७८ असारमा ८ दशमलव ४३ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर १ वर्षमा ३ दशमलव १९ प्रतिशत विन्दुले वृद्धि भएको हो । 

तरलता अभावसँगै निक्षेप तान्न बैंकहरूले बचतको ब्याजदर वृद्धि गरेपछि कर्जाको पनि बढेको हो । निक्षेपको औसत ब्याजदर २०७८ असारमा ४ दशमलव ६५ प्रतिशत रहेकोमा २०७९ असारमा ७ दशमलव ४१ प्रतिशत पुगेको छ । 

बचतमा ब्याज बढाएपछि बैंकहरूको आधारदर (बेसरेट) समेत वृद्धि भएको छ । पोहोर असार मसान्तसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ६ दशमलव ८६ प्रतिशत थियो । गत असार मसान्तमा यो ९ दशमलव ५४ प्रतिशत कायम भएको छ । 

बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् । यसले गर्दा आधारदर वृद्धि हुँदा बैंक कर्जाको ब्याजदर पनि बढ्ने गर्छ । बैंकहरूले त्रैमासिक आधारदरका आधारमा कर्जाको ब्याजदर समायोजन गर्न पाउने व्यवस्था छ । 

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । गत कात्तिकमा वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर १२ प्रतिशत पुगेपछि राष्ट्र बैंकले ब्याजदर एकल विन्दुमा राख्न मौखिक निर्देशन दिएको थियो । कात्तिक ३ गते लिखित निर्देशन नै जारी गर्दै राष्ट्र बैंकले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साबिकको तुलनामा १० प्रतिशतले मात्र घटबढ गर्न पाउने व्यवस्था गरेको छ । 

त्यसअघि भने बैंकरहरूले भद्र सहमति गर्दै ब्याजदर स्थिर राख्दै आएका थिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका सीईओहरूको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशन र वित्त कम्पनीका सीईओहरूको संगठन नेपाल वित्त कम्पनी संघले पुस र माघमा संस्थागत निर्णय गरेरै ब्याजदर वृद्धि नगरे पनि फागुनमा १० प्रतिशत वृद्धि गरेका थिए । ब्याज बढाउँदा पनि निक्षेप वृद्धि नभएको भन्दै चैतयता ब्याजदर बढाइएको छैन । 

केन्द्रीय बैंकले लिएको नीति र बैंक तथा वित्तीय संस्थाहरूको अनुशासनको कारण ब्याजदर व्यवस्थित भएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन् । ‘बैंकहरूको ब्याजदर बढाउने प्रतिस्पर्धा कायमै रहेको भए यतिबेला कर्जाको ब्याज १८ प्रतिशत पुग्थ्यो,’ उनले भने । 

राष्ट्र बैंकले गत साउन १८ गते एकीकृत निर्देशन २०७८ संशोधनमार्फत नीतिगत दर परिवर्तन गर्दै बैंकहरूले ब्याज बढाउन सक्ने व्यवस्था गरे पनि बैंकहरूले भदौमा पनि साउनमै कायम ब्याजदर कार्यान्वयन गर्ने निर्णय गरिसकेका छन् । ब्याज बढाउँदैमा निक्षेप बढ्ने सम्भावना नभएकाले तत्काल नबढाउने निर्णय गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । 

बैंकहरूले फागुनयता व्यक्तिगत निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ र संस्थागत निक्षेपमा १० दशमलव  शून्य ३ प्रतिशत ब्याजदर दिने भद्र सहमति कार्यान्वयन गर्दै आएका छन् । २०७८ असारमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४ दशमलव ५५ प्रतिशत रहेकोमा २०७९ असारमा १० दशमलव ६६ प्रतिशत पुगेको छ । यस्तै वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको औसत ब्याजदर २०७८ असारको ४ दशमलव १२ प्रतिशतबाट २०७९ असारमा ६ दशमलव ९९ प्रतिशत पुगेको छ । 

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement