ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न विज्ञको सुझाव– नयाँ वस्तु भारत निर्यात गरौं

२०७९ भदौ, ३  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने वस्तुको सम्भावना खोज्नुपर्नेमा जोड दिइएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ समितिले बिहीवार विराटनगरमा आयोजना गरेको सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावनासम्बन्धी छलफलमा कृषिलगायत वस्तुलाई भारतमा निर्यात गरी व्यापार घाटा कम गर्न सरकारले पहल गर्नुपर्ने बताइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले अन्तरदेशीय व्यापारमा नेपालको सबैभन्दा धेरै सम्भावना रहेको बजार नै भारत भएको र भारतसँगै सबैभन्दा बढी व्यापार घाटा रहेको बताए । उनले व्यापारमा भारतसँगको निर्भरता घटाउन विशेष वस्तु केन्द्रित नीतिको आवश्यकता औंल्याए । 

‘सरकारले निश्चित वस्तु तोकेर बजेटमा सहुलियत दिन सकेन, गोलमटोल सहुलियतले निर्यात बढाउन सक्दैन,’ बोहराले भने, ‘अब त नेपालबाट तेस्रो मुलकमा निर्यात गर्ने कुरा सोच्नै गारो हुने अवस्था आइसकेको छ । अहिलेको समयमा भारत नै सबैभन्दा ठूलो पार्टनर हो । सरकारले भारतलाई नै लक्ष्य गरेर वस्तु केन्द्रित नीति बनाउनु पर्छ ।’ 

उनले कृषिक्षेत्रलाई औधोगिकतर्फ लैजान सकिने र निजीक्षेत्रले पनि व्यापारका नयाँ क्षेत्रको पहिचानका लागि सरकारसँग छलफल गर्नुपर्ने विचार व्यक्त गरे ।

महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले मुलुकबाट गार्मेन्ट निर्यात करीब शून्यको अवस्थामा पुगेको भन्दै सरकारले निर्यातमा ठोस नीति अघि सार्न नसकेको बताए । व्यापार घाटा कम गर्न सरकारले भारतसँग उचित मात्रामा लबिङ गर्न नसकेको पनि उनले दाबी गरे । जुट निर्यातमा भारतले बंगलादेशलाई एन्टी डम्पिङ ड्युटी नलगाएको तर नेपाललाई लगाइरहेको उनको भनाइ छ ।

‘बाध्यताले उद्योग चलाउनुपर्ने अवस्था छ । धेरै प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् तर मुलुकको व्यापार प्रवर्द्धनमा सोचेअनुसार उपलब्धि हुन सकेको छैन,’ उनले भने, ‘सरकारले एकातिर सिमेन्टमा छूट दिन खोजे पनि अर्कोतिरबाट रोयल्टी बढाएर उद्योगीलाई आहत पारेको छ ।’

उपाध्यक्ष राउतले अदुवा र फलफूल निर्यातमा नेपालको सम्भावना धेरै रहेकोले निर्यात बढाउन कृषिजन्य उत्पादनको प्रशोधनमा सरकारले सहयोग गर्नुपर्ने बताए । उनले केन्द्रीय सरकारको बजेटले आयात प्रवर्द्धन गर्न खोजेकोले स्वदेशमा उद्योगधन्दा गरिरहेका उद्योगी निरुत्साहित बनेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालको पहिलो निर्यात गन्तव्य भारत नै भएको बताए । उनले उत्पादन वृद्धिका लागि प्रभावकारी केन्द्रीय नीति आवश्यक रहेको र त्यसका लागि सवै क्षेत्रबीच समन्वय हुनपर्नेमा जोड दिए । लघु तथा मध्यम तहका उद्योगको संरक्षण गर्नुपर्ने उनको भनाइ छ । 

सावतीका अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेले नेपालमा १७९२ सालमा तत्कालीन ब्रिटिश सरकार र नेपालबीच वाणिज्य सम्झौता भएपछि भारतसहितका अन्तरदेशीय क्षेत्रमा व्यापारिक सम्बन्ध अघि बढेको बताए । नेपालले निर्यात हुने कृषि उत्पादनमा भन्सार नलाग्ने व्यवस्थाको फाइदा उठाउनुपर्ने उनले सुझाए । डा. पाण्डेले नेपालले विद्यमान उत्पादनमात्रै नभई नयाँ उत्पादनका क्षेत्र र वस्तुको पहिचान गर्न सके निर्यात बढाउन सक्ने बताए ।

कार्यक्रमका सभापति नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले भारतसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा उद्योग व्यवसायसम्बद्ध संघसंस्थाका प्रमुख, प्रतिनिधिलगायतको उपस्थिति थियो ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement