ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुल्यो 

२०७९ भदौ, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुला भएको छ । कम्पनीको शुक्रवार सम्पन्न १४ औं वार्षिक साधारणसभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेसँगै कम्पनीलाई त्यसको प्रक्रिया अघि बढाउने बाटो खुला भएको हो । 

काठमाडौंमा सम्पन्न साधारणसभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गरेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।

जलविद्युत् कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरे पनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणमा लगानी हुने जानकारी कम्पनीले दिएको छ । 

यस कम्पनी हाल नोक्सानीमै रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद नोक्सानी उल्लेख्य बढेको हो । अघिल्लो आवमा कम्पनी रू. ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । 

गत आवमा कम्पनीले रू. ७ अर्ब १७ करोडभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरे पनि वित्तीय खर्च उल्लेख्य वृद्धि हुँदा नोक्सानी बढेको हो । अघिल्लो आवमा रू. १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत आवमा रू. ५ अर्ब ६२ करोडभन्दा बढी यो खर्च भएको हो । 

कम्पनीले लिएको दीर्घकालीन कर्जा र अल्पकालीन कर्जा नै अघिल्लो आवको तुलनामा गत आवमा बढी छ । अघिल्लो आवमा रू. ४० अर्ब ५८ करोडभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत आवमा रू. ७३ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ । त्यस्तै अघिल्लो आवमा रू. ३ अर्ब ८० करोड रहेको अल्पकालीन कर्जा गत आवमा रू. ५ अर्ब ६३ करोडभन्दा बढी रहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाबाट विद्युत् उत्पादन गर्न शुरु गरेकै वर्षदेखि लाभांश पाउने आशा गरेका लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था हेर्दा केही वर्ष अझै प्रतीक्षा गर्नुपर्ने देखिन्छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement