ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चंगा उडाउन खतरनाक रसायन भएका धागो नेपाली बजारमा, मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर 

प्लास्टिकका धागो मानव स्वास्थ्य र वातावरण दुबैका लागि खतरनाक, विदेशमा प्रतिबन्ध लगाइएका धागो नेपाली बजारमा खुलम खुल्ला विक्री

२०७९ भदौ, २४  
समाचार विविध स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found
author avatar गणेश सुवेदी

भदौ २४, काठमाडौं । हरेक वर्ष दशैं आसपासमा काठमाडौं उपत्यका खाली जस्तै हुन्छ । 

गत वर्ष पनि दशैंको समयमा उपत्यकाका सडकहरू खाली थिए । चक्रपथको बल्खु-सानेपा खण्डमा पनि लामो समयसम्म सवारी साधन गुडेका थिएनन् । 
 
यत्तिकैमा एकजना मोटरसाइकल चालक सानेपामा रहेको स्टार अस्पतालको अगाडि मेन रोडमै दुर्घटनामा परे । उनको मोटरसाइकल तीव्र गति भएर वा अर्को कुनै सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थिएन ।

खाली सडकमा एक्कासि मोटरसाइकल दुर्घटनामा परेपछि वरपर भएका मान्छे आएर उनलाई उठाए । उठाएपछि थाहा भयो, उनको घाँटीमा चंगा उडाउन प्रयोग गरिएको सिलिकनको धागो फसेको रहेछ ।

+++

चंगाचैट गर्न अति रुचाउने कलंकीका अजित तिवारीले पनि दुई वर्ष अघि दशैंको दिन बलियो प्लास्टिक धागोमा चंगा उडाएका थिए । तर उनको चंगाको धागो स्यूचाटार स्थित प्रसारण लाइनमा गएर अड्कियो । अड्किएको धागोमा फसेर एउटा काग छटपटाएरै मर्‍यो । त्यो दृश्य देखेपछि तिवारीले पछिल्लो समय चंगा उडाउनै छोडिदिए ।

+++

थापाथलीको कालमोचन गुठी वरिपरि देखिने कतिपय बाँदरको हात वा खुट्टा छैनन् । यी बाँदरका हातखुट्टा मानिसले चक्कु प्रहार गरेर काटिदिएका कारण नभएका भने होइनन् । यसको कारण पनि चंगा उडाउन प्रयोग गरिएको बलियो लट्टाई धागो नै भएको स्थानीयहरू बताउँछन् । 

स्थानीयले बाँदरलाई समातेर धागो हटाउने, उपचार गर्ने प्रयास पनि गरेका थिए । 'कतिपयले त शरीरमा चोट सहित धागो नै बोकेर हिँडेका छन् । बाँदर न पर्‍यो, छोप्न नसकिने,' एक स्थानीयले अभियान सँग भने ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । 

दशैं लागेसँगै नेपाली बजारमा चंगा र लट्टाई भित्रि सकेका छन् । पहिले पहिले कटन धागोबाट मात्रै चंगा उडाउने चलन भएपनि अहिले भने चंगा उडाउन विभिन्न प्रकारका धागोहरू नेपाली बाजारमा भित्रिएका छन् । जसका कारण मानिसदेखि जीवजन्तुसम्मै ठूला ठूला दुर्घटनामा परिरहेका छन् ।

अहिले बजारमा सिलिकन र प्‍लास्टिक धागो छ्याप्छ्याप्ती विक्री गर्न थालिएको छ । हरेक वर्ष दशैं तिहारमा आफ्ना बाल बच्चालाई चंगा किनेर दिने असनका राजु शर्माका अनुसार अहिले कटनको धागो खोज्न धेरै ठाउँ चहार्नुपर्छ । कटनबाहेक अन्य धागोहरू भने छ्याप्छ्याप्ती पाइन्छन् ।

बलियो धागो नै दुर्घटनाको मुख्य कारक 

सन् २०१७ मा भारतको स्वतन्त्रता दिवसमा चिनियाँ मान्झा भनिने बलियो धागो प्रयोग गरी उडाएको चंगामा फसेर एकैदिन ३ जनाको ज्यान गएको थियो । त्यसपछि भारत सरकारले यस्तो प्रकारको मान्झा धागो प्रयोगमा प्रतिबन्ध नै लगाइसकेको छ । 

तर, नेपालमा भने बजारमा पाइने विभिन्न प्रकारका धागोहरू वातावरण र स्वास्थ्यका लागि कति जोखिमयुक्त छन् भन्ने हेक्का कुनै पनि सरोकारवाला पक्षले राखेका छैनन् ।

दशैं आउँदा चंगा उडाउने र रमाइलो गर्ने प्रचलन नेपालका शहरी क्षेत्रमा व्यापक छ । तर चंगा उडाएपछि विभिन्न ठाउँमा लत्रिने धागोले के कस्तो असर गर्छ भन्ने नत प्रयोगकर्ताले ध्यान दिएका छन्, नत विक्री गर्नेले नै ध्यान दिएका छन् । सरकारी पक्षले त यसलाई गम्भीरताका साथ लिएकै छैन ।

वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर

सितापाइलका सुनिल श्रेष्ठको सिलिकन धागोमा अल्झिँदा लागेको घाउ अहिलेसम्म निको भएको छैन । घाँटीमा आएको घाउ निको नहुँदा लामो समयदेखि घाउ बोकेरै हिँडिरहेका छन् उनी ।  

विदेश तिर सबै उमेर समूहका मानिसले चंगा उडाउँछन् । उनीहरूलाई समुद्री किनार, खुल्ला स्थान लगायतका ठाउँमा मात्रै चंगा उडाउन अनुमति दिइन्छ ।

नेपालमा भने १०/१५ वर्ष उमेर समूहका बालबालिका र किशोरहरूले मात्रै चंगा उडाएको देखिन्छ । उनीहरूले घरका छत वा अग्ला स्थानबाट मनलाग्दी चंगा उडाइरहेका हुन्छन् । त्यसले दुर्घटनासँगै स्वास्थ्यमा पनि समस्या निम्त्याइरहेको छ ।

वातावरण कानूनका जानकार अधिवक्ता पदमबहादुर श्रेष्ठ नेपाली बजारमा चंगा उडाउन प्रयोग गरिने प्लास्टिक धागो कमसल प्लास्टिक पेलेर बनाइएकोले यो वातावरण र मानव स्वास्थ्य दुवैका लागि निकै हानिकारक भएको बताउँछन् ।

चंगा उडाउने उमेर समूह भनेको अधिकांस १५ वर्ष मुनिको हो । बालबालिकाहरूको हातको छाला उसै पनि कमजोर हुने भएकाले यस्ता खाले धागोले छालामा अलिकति मात्रै घाउ बनायो भने पनि स्वास्थ्यमा दीर्घकालीन र गम्भीर असर गर्ने श्रेष्ठले बताए ।

एउटा चंगा उडाउन करीब १ किलोसम्म धागो प्रयोग हुने र त्यो अन्ततः माटोमा गएर मिसिँदा त्यसले वातावरणमा पनि नराम्रो असर गर्ने उनले बताए ।

बलियो धागोमा फसेरै दर्जनौ बालबालिका दुर्घटनामा : स्वास्थ्यकर्मी

चंगाचैट गर्ने चक्करमा बलियो धागो प्रयोग गरेपछि अड्किएको धागो तान्दा पनि धेरै बालबालिका घरको छतबाट खस्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

बलियो धागोमा चंगा उडाउँदा बच्चाहरू अनब्यालेन्स हुने र कतै धागो अड्किँदा धागोसँगै बालबालिका समेत तानिने वा हुत्तिएर दुर्घटनामा परी उपचारमा आउने गरेको डा. सुरज नेपाली बताउँछन् ।

हामीले मानव स्वास्थ्य र वातावरणका लागि प्रतिकूल हुने यस्तो धागोको विषयमा प्रश्न गर्दा अधिकांश व्यवसायीले अस्पतालहरूमा सल्यक्रिया गर्दा प्रयोग हुने धागो कसरी स्वास्थ्य प्रतिकुल हुन्छ भनि प्रति प्रश्न समेत गरेका छन् । 

डाक्टर नेपालीका अनुसार सल्यक्रिया गर्दा सिलिकन धागा प्रयोग हुने गरेको तर फ्याक्ट्री प्रडक्ट नभई प्रशोधन गरी तयार पारिएको स्पेशल सिलिकन मात्र प्रयोग हुने गरेको छ । 

बजारमा आएका यस्तो धागोलाई बलियो बनाउन केमिकल प्रशोधन गरिएको हुनाले गम्भीर प्रकारका रसायन समेत हुने र यस्तो धागो प्रयोग गर्नु स्वास्थ्यका लागि उपउक्त नहुने पनि उनी बताउँछन् ।

मेडिकल सर्जरीमा प्रयोग गरिने सिलिकन धागा मसिनो हुनुका साथै शरीरभित्रै डिस्पोज हुन्छ । जसलाई सल्यक्रिया पछि टाँका काटेर फुकाउनु पर्दैन । 

हाल बजारमा मेडिकल धागो जस्तै धागो भएको र घामपनिले सजिलै डिस्पोज हुने भन्दै विक्री गरिएका यस्ता धागो उनीहरुले दाबी गरे जस्तो सहजै डिस्पोज हुनेखालको भने छैनन् ।  

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणी दिक्षित चंगाको धागोमा फसेर मोटरसाइकलमा यात्रीका साथै चराचुरुङ्गी, कुकुर, बिरालो, बाँदर लगायत जीवजन्तु पनि दुर्घटनामा पर्ने गरेको बताउँछन् ।

'पहिले पहिले कागजको चंगा र सामान्य खालका धागा प्रयोग गरेर चंगा उडाइन्थ्यो। कागज पानीमा सजिलै डिस्पोज हुन्थ्यो ।' दिक्षितले अभियानसँग भने, 'तर अहिले त प्लास्टिकको चंगा उडाइन्छ । यो जमिन वा पानी जहाँ खसेपनि वातावरणलाई हानी पुर्‍याउँछ ।'

चंगा उडाउन प्रयोग गरिने धागोमा सीसाको टुक्रा प्रयोग गर्नुका साथै एक प्रकारको केमिकल पनि प्रयोग गरिएको हुने र यो आफैमा जोखिमयुक्त  हुने उनले बताए ।  

मनोरञ्जनदेखि वैज्ञानिक अनुसन्धानसम्म चंगाको प्रयोग

चीन, कम्बोडिया, थाइल्याण्ड, भारत, नेपाल, जापान, कोरिया हुँदै पश्चिमी संसारमा चंगा मनोरञ्जनको साधन मात्रै नभएर इतिहासको विभिन्न कालखण्डमा सन्देशबाहक, दूरी नाप्ने साधन र वैज्ञानिक अनुसन्धानमा सहयोगी भएको पनि इतिहास पाइन्छ । 

यूरोपमा १३ औँ शताब्दीमा मार्कोपोलोले चंगा पुर्‍याएको मानिन्छ । अमेरिकामा चंगा उडाउनेहरूको संस्था नै छ, जसलाई अमेरिकन काइटफ्लाएर्स एशोसिएशन (एकेए) भनिन्छ । यसको स्थापना ५६ वर्षअघि भएको थियो । यस्ता संघसस्थाले चंगा उडाउन निश्चित क्षेत्र निर्धारण गरेका हुन्छन् । त्यस क्षेत्रबाहेक अन्य क्षेत्रमा चड्गा उडाउन प्रतिबन्ध लगाएको पाइन्छ

सिलिकन धागोले सजिलै चंगा चैट हुने भन्दै विज्ञपन 

यस्तो सिलिकन सहित सिन्थेटिक धागो प्रयोग गर्न हाम्रै छिमेकी मुलुकमा समेत प्रतिबन्ध लगाइ सकिएको छ । तर, नेपालमा भने यस्तो धागो भारत, थाइल्याण्ड, चीन, इन्डोनेसिया लगायतका मुलुकबाट निर्वाध आयात भइरहेको छ । 

सिलिकनले सजिलै चंगा चैट हुने भन्दै खुलमखुला विक्री वितरण भइरहेको छ । उपत्यकाका असन, टेकु, न्यूरोड लगायत देशका मुख्य शहरका साथै अलनलाइन प्लेटफर्ममा समेत विक्री भइरहेको छ । 

कतिपय व्यवसायीले इन्डोनेसियाबाट आयात गरीएको धागोलाई नेपालमा मोडिफाइड गर्दै ‘नेपाली मान्झा’का नाममा समेत विक्री वितरण गरिरहेका छन् ।

सामाजिक सञ्जालमा डलर तिरेरै  विज्ञापन गरिएका यस्ता प्रकारका धागोहरू अन्य प्रयोजनका लागि आवश्यक भएपनि चंगा चैट जस्तो साँस्कृतिक कार्यमा प्रयोग गर्नु उचित नभएको संस्कृतिका अध्येताहरू बताउँछन् ।

तर संस्कृतिविद भन्छन्- नेपालीले आफैले कागजको चंगा बनाएर उडाउँथे

संस्कृतिका अध्यता अनिल चित्रकार पहिले पहिले काठमाडौंमा आफै चंगा बनाएर उडाउने गरेको सम्झिन्छन् । घरमै धागो पनि बनाउने र चंगा पनि बनाउने गरेकोमा यसमा विस्तारै व्यापार जोडिएपछि अहिले प्लास्टिकको प्रयोग बढेको उनको भनाइ छ ।

'नाफा कमाउने उद्देश्यले ठूलो संख्यामा चंगा र धागो उत्पादन गर्दा प्लास्टिकको प्रयोग निकै बढेको छ । जुन मानव स्वास्थ्य र वातावरणका लागि राम्रो होइन ।' उनले भने ।

अरूले उडाएको चंगाको धागो काटियोस् भनेर आफ्नो लट्टाईको धागोमा साबुदाना, सिसा पिंधेर बनाइएको धूलो आदि पकाएर धागोमा ‘माझ’ लगाउँने चलन पहिलेदेखि नै रहेको छ । त्यसो गर्दा धागो कडा र बलियो हुने तर कटन धागा छिटै कुहिने भएकाले यसले वातवरणमा ठूलो प्रभाव पार्दैन । 

तर चंगाचैट गर्ने उद्देश्यले नै प्रयोग गरिने बलिया खालका धागामा प्लास्टिक जन्य वस्तु प्रयोग हुने र छिट्टै नकुहिने भएकाले यसले दिर्घकालिन असर गर्ने विज्ञहरू बताउँछन् ।

सामान्यतया कटन धागो भन्दा सिलिकन र नाइलनको धागो बलियो हुने हुँदा यो धेरैले मन पराउँछन । तर, स्वाथ्यको दृष्टीले यो धागो उपयुक्त भने नहुने डा. नेपाली बताउँछन् । 

विश्वका अधिकांश देशमा प्रयोगमा प्रतिबन्ध नै लगाइसकिएको यस्तो धागो नेपालमा भने खुलमखुल्ला विक्री हुने गरेको छ । विदेशमा सामुद्रिक तट वा निश्चित स्थान तोकेर मात्रै त्यस्ता धागो प्रयोग गर्न दिइन्छ । तर, नेपालमा भने घरको छतबाट सडकको बीचमा चंगा उडाउन पनि यस्तो धागोको प्रयोग दिनदिनै बढिरहेको पाइन्छ ।

गृह मन्त्रालयले चाहेमा गर्न सक्छ नियन्त्रण

अधिवक्ता पदमबहादुर श्रेष्ठ गृह मन्त्रालयले चाहेमा मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने यस्ता खालका धागो प्रयोगमा रोक लगाउन सक्ने बताउँछन् ।

केही समय अघि होली खेल्न प्रयोग गर्ने रङमा पनि मानव स्वास्थ्यमा प्रभाव पार्ने केमिकल भएका रङहरू प्रयोग भएका थिए । पछि गृह मन्त्रालयले त्यस्तो रङ प्रयोगमा रोक लगाएको श्रेष्ठले बताए ।

अहिले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउनुपर्ने माग राखेर मुद्दा लडिरहेका श्रेष्ठ प्लास्टिकको चम्चा प्रयोग गर्नुपनि स्वास्थ्य र वातावरणका लागि हानिकारक भइसकेको बेला केमिकलयुक्त धागोले चंगा उडाउने कार्य बन्द हुनुपर्ने बताउँछन् । 

फोटोहरु : सुनिल शर्मा र गणेश सुवेदी / आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro