ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

२०७९ भदौ, २८  
समाचार
Image Not Found

भदौ २८, काठमाडौं । नेपालले विपदमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडीए ३३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो ।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताए । 

यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ ।  नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ । 

विमानस्थलमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए । राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो । टोलीमा गृहमन्त्रालय, अर्थमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन् ।  विमानस्थलमा परराष्ट्रमन्त्री डा. खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए । 

पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायत छन् । ती सामग्री कराँचीस्थित जिना अन्तरराष्ट्रिय विमानस्थमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताए । 
 
पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पु¥याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारको तर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायतास्वरूप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । 

नेपाल एयरलाइन्सको उडान नं. २१७१ जहाजले काठमाडौं–कराँची उडान भरी साँझ कराँचीबाट काठमाडौं फर्कने उडान तालिका रहेको छ । 

मित्रराष्ट्र पाकिस्तानसँग २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै दुईदेशबीच घनिष्ट सम्बन्ध रहँदै आएको छ । दुवै मुलुकका बीचमा सरकार तथा जनस्तरमा सहयोगात्मक सम्बन्ध विद्यमान हुनुका साथै प्राकृतिक प्रकोपका समयमा एकापसमा सहयोग गर्ने परम्परा रहेको छ ।

नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद रू. एक करोड सहयोग गरेको थियो । पाकिस्तानले पनि विसं २०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वरूप नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो । रासस

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement