ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मानव विकास सूचकको चिन्ता

२०७९ भदौ, २९  
सम्पादकीय
Image Not Found

अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको नेपालको मानव विकास सूचकांकमा विगत ३ वर्षदेखि ओरालो लागेको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ देखि २०२१ सम्म नेपालको मानव विकास सूचकांक घटेको देखाएको हो । कोरोनाका कारण विश्वका १९१ मध्ये अधिकांश मुलुकको सूचकांक घटेको छ । त्यसैले यसरी घट्नुलाई ठूलो समस्याका रूपमा लिनुपर्ने त देखिँदैन तर पनि यसले दिएको संकेत भने सकारात्मक छैन ।

दक्षिण एशियाली मुलुकमा नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा मात्र राम्रो देखिएको छ । यसले नेपालले मानव विकास सूचक सुधार गर्न निकै कसरत गर्नुपर्ने तथ्यलाई उजागर गरेको छ ।

कोरोनाका कारण २ वर्षको अन्तरालपछि सार्वजनिक गरिएको सन् २०२२ को प्रतिवेदनले नेपाललाई मध्यम मानव विकास समूहमा राखेको छ । दीर्घ र स्वस्थ जीवन, ज्ञानमा पहुँच र राम्रो जीवनस्तर गरी तीनओटा आधारभूत पक्षमा भएको दीर्घकालीन प्रगतिको समीक्षाका आधारमा मानव विकासको मापन गर्ने गरिन्छ । यी आधारमा विभिन्न शीर्षकमा अंक दिने गरिन्छ । नेपालले प्राप्त गरेको अंक निरन्तर घटेको हुँदा केही गम्भीर बन्नुपर्ने अवस्था देखिएको हो ।

कतिपयले यसमा नेपालको स्थान उक्लिएको भन्दै सुधार आएको रूपमा विश्लेषण गरेको पनि पाइन्छ । तर, यसमा स्थानभन्दा पनि कति अंक प्राप्त गर्‍यो भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ । सन् २०२० मा शून्य दशमलव ६०४ प्राप्तांक रहेकामा घट्दै २०२२ आइपुग्दा यो शून्य दशमलव ६०२ अंक कायम भएको छ । दक्षिण एशियाली मुलुकमा नेपाल पाकिस्तान र अफगानिस्तानभन्दा मात्र राम्रो देखिएको छ । यसले नेपालले मानव विकास सूचकमा सुधार गर्न निकै कसरत गर्नुपर्ने तथ्यलाई उजागर गरेको छ । २०२० अगाडिका केही वर्षमा नेपालको अवस्था सुधारोेन्मुख थियो । तर, अहिले कोरोनाका कारण स्तर खस्किएको छ । यो सूचकांक अकस्मात् खस्कने होइन, त्यो निरन्तर प्रक्रियाको परिणाम मात्रै हो अर्थात् यसरी नेपालको अंक घट्नुमा कोरोनामात्र कारण होइन भन्ने देखिन्छ । त्यसो त गत ३ दशकको आँकडा हेर्ने हो भने नेपालले मानव विकास सूचकांकमा राम्रै उपलब्धि प्राप्त गरेको छ ।

यूएनडीपीले विभिन्न १३ ओटा शीर्षकमा अंक दिएर यो सूचकांक तयार पार्छ । यसमा लैंगिक समता, स्वास्थ्य, मानव सुरक्षा, गतिशीलता र सञ्चार, अर्थ सामाजिक दिगोपन, व्यापार तथा वित्तीय प्रवाह, रोजगारी आय, असमानता, विकास, मानव विकास, जनसंख्या शिक्षा र वातावरणीय दिगोपन शीर्षकमा नम्बर दिएर सूचक तयार पारिन्छ । यो सूचक तयार पार्न थालिएको वर्ष १९९० मा नेपालले शून्य दशमलव ३९९ अंक प्राप्त गरेको थियो । यस अवधिमा नेपालले ५० दशमलव ९ प्रतिशत अंक बढाएको देखिन्छ । त्यसयता नेपालको सरदर आयु १३.६ वर्ष बढेको छ । अझै नेपालको निरपेक्ष गरीबी १७ दशमलव ५ प्रतिशत रहेको छ ।

मानव विकास सूचकांककै आधारमा नेपाल अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने हो । त्यसैले यसमा अझै सुधारको खाँचो छ । सुधारका लागि सरकारले लगानी बढाउनुपर्छ । शिक्षाक्षेत्रमा सरकारको लगानी पर्याप्त छैन, भएको लगानीले पनि उचित उपलब्धि दिन सकिरहेको छैन । त्यसैले विद्यालय छाड्ने दरमा अपेक्षित सुधार ल्याउन सकिएको छैन । स्वास्थ्य क्षेत्रमा पनि सुधारको खाँचो छ ।

मुलुकको विकासको दिगोपनाको मापन हुने यो सूचकांकमा नेपालले आफ्नो स्तर सुधार्न गर्नुपर्ने काम थुप्रै छन् । सहस्राब्दी विकासका लक्ष्य प्राप्त गर्न नेपालले अझै धेरै वर्ष कुर्नुपर्ने देखिन्छ । प्रतिबद्धताअनुसार नेपालले काम गर्न सकेको छैन । त्यसैले मानव विकास सूचकांक सुधारका लागि हाम्रो कमजोरी कहाँ कहाँ रह्यो त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ । यसो गर्न सके मात्र सर्वसाधारणको गुणस्तरीय जीवनमा सुधार हुन्छ । जबसम्म सर्वसाधारणको जीवनस्तर गुणस्तरीय बन्न सक्दैन तबसम्म विकासका जतिसुकै ठूलो कुरा गरे पनि कुनै उपलब्धि हुने छैन ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement