ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

उखुमा रेडरड रोगको समस्या, किसान चिन्तित

२०७९ भदौ, २९  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले रोपेको उखुमा रेडरड रोगको समस्या देखिएको छ । ६० बिघाभन्दा बढी जग्गामा रोपेको उखुमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग लागेको नगरपालिका कृषि शाखा प्रमुख सुमनराज भट्टले जानकारी दिए । ‘किसानले रोपेको १५ बिघाभन्दा बढीको उखु पूरै सखाप भएको छ,’ उनले भने, ‘रोगका कारण किसानको उखु बालीमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म नोक्सानी भएको छ ।’ सीओ–२३८ र सीओ–२०८ जातका उखुमा रोग बढी देखिएको उनको भनाइ छ । रोगका कारण उखुका पात सुक्ने र उखु चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको उनले बताए । सो रोगको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको उनको भनाइ थियो ।

चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको छ । उखु किसान कर्मु रानाले उखु बालीमा रेडरड नामक रोगले नोक्सानी गरेको बताए । उखुखेती गरिएको पाँच बिघा जग्गाको धेरै ठाउँमा रोग देखिएको उनले बताए । ‘रोगबाट उखु जोगाउन ढुसीनाशक विषादी छर्कने काममा जुटेको छु,’ उनले भने ।

अर्का किसान भम्टा रानाले तीन बिघा जग्गामा उखुखेती गरिएकोमध्ये एक बिघा जग्गाको उखु रोगका कारण पूरै सुकेर नोक्सानी भएको बताए । ‘ऋण लिएर उखुखेती गरेको थिएँ,’ उनले भने, ‘रोगका कारण उखु सुकेपछि तीन लाख रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नुपरेको छ ।’

शुरुआतमै रोग लाग्न लागेका बेला ढुसीनाशक विषादी छर्किए रोग नियन्त्रण हुने उनको भनाइ थियो । अहिलेसम्म एक सय ५० किसानले रोपेको उखु बालीमा नोक्सानी भएको छ । यसबाट उनीहरूले रू. ५० लाख बढीको नोक्सानी बेहोरेका छन् । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न शुरू हुन्छ । बेलौरीका ८० प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्दै आएका छन् । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement