ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पर्यटक कुर्दै चितवनको गोलाघाट

२०७९ भदौ, २९  
बागमती प्रदेश
NA

भरतपुर । पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ । कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि यहाँ आउन सकेका छैनन् ।

गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ । वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आएकी रुपामाया कुमालले घुम्न आउनेको सङ्ख्या निकै कम भएको जानकारी दिइन् । ‘दिनमा दुईदेखि तीन सयको हाराहारीमा आन्तरिक तथा बाहिरी पर्यटकले जीप सफारीमार्फत सामुदायिक वन घुम्थे । अहिले दैनिक ५० देखि ६० जना मात्रै हुन्छन्,’ उनले भनिन्, ‘कहिलेकाहीँ यति पनि हुँदैनन् ।’

कुमालले वन क्षेत्र घुम्न आउने पर्यटकका लागि प्रतिव्यक्ति रू २० टिकट शुल्क लिने बताइन् । पर्यटकीय क्षेत्रका रूपमा बामे सर्दै गर्दा कोरोनापछि यो क्षेत्र थला परेको व्यवसायी बताउँछन् । यस क्षेत्रलाई पुनः पहिलाकै अवस्थामा पुर्‍याउन अझै धेरै कसरत गर्नुपर्ने होटल व्यवसायी सतीश कुमाल बताउँछन् ।

अहिलेसम्म अफसिजन भएकाले पनि पर्यटकको सङ्ख्या घटेको उनको भनाइ छ । सुनसान देखिएको गोलाघाट चाडपर्व नजिकिएसँगै भरिभराउ हुने आशा उनले व्यक्त गरे । भरतपुर–२६ ज्योतिनगरबाट गोलाघाट घुम्न आएकी सुनिता चौधरीले पर्यटक आकर्षण गर्नका लागि सेवा सुविधामा जोड दिनुपर्ने बताइन् । घुम्न, आनन्द लिन, एक्लै समय बिताउन, लेखक र अनुसन्धानका लागि उपयुक्त ठाउँ भए पनि यहाँ आन्तरिक पर्यटकले खोजेजस्तो सेवा–सुविधा कम भएको उनको भनाइ थियो ।  गोलाघाटमा विषेश गरेर वाइल्ड लाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छन् र यहाँ गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न पर्यटक आउने गर्छन् । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement