ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

शहरलाई गाउँसँग जोड्दै होमस्टे

२०७९ भदौ, २९  
लुम्बिनी प्रदेश
NA

बाँके । बाँकेका गाउँबस्तीमा व्यावसायिक रूपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । आफ्नो ठाउँ, परिवेश, माटो सुहाउँदो आफ्नो मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएकाले होमस्टेमा आउने पाहुनाले गाउँले जीवन, परिवेशको जानकारीसँगै स्थानीय परिकारको स्वाद लिँदा नयाँ अनुभव हुने गरेको चौधरीको भनाइ छ ।

शहरका रेष्टुराँ र होटेलमा हुने जन्मदिन उत्सवलगायत सानातिना कार्यक्रमदेखि सरकारी तथा गैरसरकारी संघ–संस्थाका बैठक र कार्यक्रम पनि अहिले होमस्टेमा हुने गरेका छन् । गाउँमा गएर बैठक तथा कार्यक्रम गर्दा नयाँ अनुभव हुनुका साथै सहभागीलाई समेत उत्साह मिल्ने गरेकाले आफूहरूले अधिकांश बैठक तथा कार्यक्रम होमस्टेमा गर्दै आएको नेपालगञ्ज जुनियर जेसिजका अध्यक्ष शिवकुमार मौर्यले बताए ।

गाउँमा सञ्चालन भएका होमस्टे शहरलाई गाउँसँग जोड्ने माध्यम भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक–३२५ बी २ का पूर्वगभर्नर मधुसूदन शर्मा बताउँछन् । होमस्टेमा घुम्न आउने पाहुनालाई मनोरञ्जनका लागि लायन्स पार्क, वनभोज स्थललगायत रू. १० लाखभन्दा बढीको पूर्वाधार निर्माणमा लायन्सले सहयोग गरेको जानकारी दिए । अहिले गाभर होमस्टे पुग्ने पाहुना लायन्स पार्कमा पुगेर रमाउने गरेका छन् ।

गाउँमा स्थापना भएका होमस्टेले शहरलाई गाउँसँग जोड्नुका साथै गाउँमा रोजगार पनि सृजना गरेको छ । गाउँमा उत्पादित पशुपन्छीका मासु र दुग्ध पदार्थको खपत गाउँमै भएको छ । गाउँका युवाले गाउँमै काम पाउने अवस्था भएको छ । समुदायमा स्वरोजगार तथा रोजगारको सृजना भएको छ । काम गर्न चाहने युवाहरू गाउँमै रोजगारमा संलग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रू. १ करोडभन्दा बढी आम्दानी हुने गरेको होमस्टे महासंघका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष चौधरीले जानकारी दिए ।

‘हामीले केवल जीविकोपार्जन मात्रै नभई आयआर्जन, संस्कृतिको प्रवर्द्धन, प्रकृतिको संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौं,’ खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमै उल्लेख्य परिवर्तन आएको छ ।’ बाँके निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’को संरक्षण, संवर्द्धन र विकासका लागि होमस्टेले अभियान सञ्चालन गरेको अध्यक्ष रानाको भनाइ छ । तीनओटा घरबाट करीब ५ वर्षअघि शुरू गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ ।

स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो । थारू, जनजाति, बाहुन क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारू संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाचहरू देखाएर ग्रामीण रहनसहन र संस्कृतिबारे जानकारी गराउने गरिएको अध्यक्ष रानाले बताए ।

नेपालगञ्जबाट करीब २५ किलोमिटरको दूरीमा रहेको राप्ती सोनारी गाउँपालिका–८ मा नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । शुरूमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँहरू भएकाले नेपालगञ्ज, कोहलपुरलगायत क्षेत्रबाट यहाँ दैनिकजसो पाहुना जाने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गदेखि सय मिटर दक्षिणमा रहेको नयाँगाउँ होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोज स्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार पनि छ । आफूकहाँ आउने पाहुनालाई आफ्नै उत्पादनले सेवा गर्ने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताए । होमस्टेमा बस्न आउने पाहुना विभिन्न सङ्घसंस्थाका सदस्य र विदेशी पनि हुन्छन् । होटलभन्दा सस्तो र गाउँको अग्र्यानिक खाना पाइने भएकाले विभिन्न स्थानको अध्ययन अवलोकनका लागि आउने संघ–संस्थाका सदस्यको रोजाइ प्रायः होमस्टे हुने गरेको गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य धर्मलाल रोकायले बताए । निकुञ्ज तथा वनमा घुमघाम र अध्ययनका लागि जानेहरू पनि धेरै होमस्टेका पाहुना हुने गरेका छन् । नेपालका धेरैजसो होमस्टे पर्या–पर्यटन लक्षित गरेर सञ्चालन गरिएकाले पनि पाहुनाको कमी नहुने केन्द्रीय सदस्य रोकायको भनाइ छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement