ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

हस्पिटालिटी कन्क्लेभ गरेर पर्यटक तान्ने रणनीति बनाइँदै

२०७९ भदौ, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा पहिलोपटक नेपाल हस्पिटालिटी कन्क्लेभ (अतिथि सत्कार सम्मेलन) हुँदैछ । कोरोना भाइरस (कोभिड–१९)को न्यून संक्रमणबीच अहिले सीमित संख्यामा विश्व बजारमा पर्यटक निस्किएको अवस्थालाई उपयोग गर्ने रणनीति बनाउने गरी असोज ९ गते उक्त सम्मेलन हुन लागेको हो । होटेल एशोसिएशन नेपाल (HAN) ले सम्मेलन गर्न लागेको हो । असोज ८ गते अर्धवार्षिक साधारणसभा र ९ गते सम्मेलन हुने हानको भनाइ छ । 

लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो अतिथि सत्कार सम्मेलनमार्फत होटेल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने हानका अध्यक्ष सिर्जना राणाले बताइन् । 

कोभिड–१९ महामारीबाट पुनरूत्थानका क्रममा रहेको व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरणमा ध्यान दिइने पनि उनले बताइन् । केही नयाँ अभ्यासहरू प्रयोग गर्दै नेपाली होटेल उद्योगको स्तर कायम राख्न र समग्र पर्यटनको विकासका लागि उक्त सम्मेलनले केन्द्रीय भूमिका खेल्ने विश्वास हानको छ । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोभिडपछि विश्व बजारमा निस्कने पर्यटकको संख्या सीमित रहेको तर बजार भने सबैतिर खुला भएकोले नेपालमै पर्यटक ल्याउन चुनौती रहेको बताए ।

‘विश्व बजारमा पर्यटक आफ्नो देशमा तान्न तीव्र प्रतिस्पर्धा छ,’ शाहले भने, ‘हामी पनि धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउन चाहन्छौं, यसका लागि अपनाइने रणनीति तय गर्न र अन्य मुलुकले गरेको अभ्यास हेर्न सम्मेलन गर्न लागिएको हो ।’ यूरोप, अमेरिका जस्ता उद्गमस्थलबाटै पर्यटक कम निस्किएको भन्दै उनले थपे, ‘यसले गर्दा प्रतिस्पर्धा बढी भएको हुँदा नयाँ रणनीति आवश्यक छ ।’

पर्यटन क्षेत्र सामान्यतर्फ जाँदै गर्दा सरकारले बजेट र मौद्रिक नीतिबाट र अहिले बनाएको कार्यक्रमले पनि उपलब्धि नदिने देखिएको उनको भनाइ छ । यसैगरी अहिले प्री–बुकिङ पनि सामान्य देखिएको उनको भनाइ छ । अक्टोबर र नोभेम्बरका लागि प्री–बुकिङ भएको पनि उनले बताए । यसैगरी स्ट्रिम पीक इन्टरनेशनल (हस्पिटालिटी) प्रालिका उपाध्यक्ष दीपक लेखकले सम्मेलन आयोजनाले मुलुकको होटेल क्षेत्रको लगानी सुरिक्षत गर्नेदेखि गुणस्तरिय सेवा दिने र बजारीकरणमा सघाउ पुर्‍याउने धारणा राखे । होटेल क्षेत्रमा पछिल्लो समयमा लगानी बढिरहेको भन्दै उनले उक्त लगानी आशालाग्दो भएको बताए । यद्यपि भवनमा लगानी गरेर मात्रै नहुने भन्दै लेखकले थपे, ‘गुणस्तरीय सेवा, हाइजिन, दक्ष जनशक्ति र सुरक्षा जस्ता ४ विषयमा हामीले उत्तिकै ध्यान दिनुपर्नेछ ।’ सञ्चालनमा आएका ५ तारे होटेलले गुणस्तरमा ध्यान दिएको उनको भनाइ छ । तर, अन्य स्तरका तारे होटेलको सेवा, सुरक्षा र गुणस्तरमा पनि ध्यान दिनुपर्ने गरी सम्मेलनमा चर्चा हुनुपर्नेमा उनले जोड दिए । 

सम्मेलनमा विभिन्न शीर्षकमा ७ ओटा सत्र सञ्चालन हुने हानको भनाइ छ । यी सत्रहरूले होटेल सञ्चालनमा नीतिगत र दीर्घकालीन रूपमा अपनाउनुपर्ने विषयमा सुझाव आउने र त्यसलाई कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने हानको भनाइ छ ।
 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement