ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

डिजिटल क्वालिटी अफ लाइफ इन्डेक्स : नेपाल दक्षिण एशियामा दोस्रो, ई–सुरक्षा र ई–गभर्नेन्समा पुछारमा 

२०७९ भदौ, २९  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डिजिटल क्वालिटी अफ लाइफ इन्डेक्स (DQL) मा नेपाल दक्षिण एशियामा दोस्रो स्थानमा छ । ब्रिटिश भर्जिन टापुस्थित भीपीएन सेवा कम्पनीले सार्वजनिक गरेको ‘डिजिटल क्वालिटी अफ लाइफ इन्डेक्स २०२१’ अनुसार नेपाल दक्षिण एशियामा भारतपछि रहेको देखाएको हो । 

विश्वका ११० देशमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा छ । नेपालले समग्ररूपमा ८ स्थान सुधार गरेको छ । दक्षिण एशियामा शीर्ष स्थानमा भारत छ भने श्रीलंका, पाकिस्तान र बंगलादेश क्रमशः तेस्रोबाट पाँचौं स्थानमा छन् । विश्वभरमा भारत ५९ औं स्थानमा छ । यस्तै, श्रीलंका ८८ औं, पाकिस्तान ९७ औं र बंगलादेश १०४ औं स्थानमा छन् । 

दक्षिण एशियाका दुई ओटा देश (भुटान र माल्दिभ्स) सर्भेक्षणमा सहभागी छैनन् । 

सर्वेक्षणमा डिजिटल सेवासम्बन्धी पाँच ओटा मापदण्डहरूलाई आधार बनाइएको छ, जसमा इन्टरनेट उपयोगिता, इन्टरनेट गुणस्तर, इलेक्ट्रोनिक पूर्वाधार, इलेक्ट्रोनिक डाटा सुरक्षा र इलेक्ट्रोनिक सरकार (अटोमेसन गभरमेन्स) छन् । 

सर्भेक्षणले ई–गभर्नेन्स र इलेक्ट्रोनिक सेक्युरिटी, साइबर सेक्युरिटी र डाटा सुरक्षा कानूनहरूमा निष्पक्षरूपमा सबल तथ्यांक प्रदर्शन गरेको साइबर सेक्युरिटी फर्म सर्फसार्कको दाबी छ । 

डेनमार्क शीर्षमा, दक्षिण कोरिया दोस्रोमा 

सर्वेक्षणमा डेनमार्क शीर्ष स्थानमा छ । डेनमार्कपछि एशियाली देश दक्षिण कोरिया छ । नेपालको छिमेकी देश चीन भने २२ औं स्थानमा छ । 

इन्टरनेट लागत पाकिस्तान र बंगलादेशभन्दा नेपालमा सस्तो 

सर्भेक्षणले नेपालमा इन्टरनेट किफायती लागत पाकिस्तान र बंगलादेशभन्दा नेपालमा सस्तो रहेको देखाएको छ । यो मामिलामा नेपाल भारतभन्दा पछि छ । यो मापदण्डमा नेपाल ८३ औं स्थानमा रहेको छ भने भारत ४७ औं स्थानमा छ । एशियाली देशहरूमा चीन शीर्ष स्थानमा छ भने विश्वभरमा सातौं स्थानमा छ । 

समा इन्टरनेट जडान गर्न वा खरीद गर्न एक जनाले काम गर्ने दिनलाई आधार मानिएको छ । यसमा सस्तो १ जीबी मोबाइल डाटा प्याकेजको मूल्य र सबैभन्दा कम ब्रोडब्यान्ड इन्टरनेट प्याकेजको मूल्यको अनुपात र त्यस देशको एक व्यक्तिको एक दिनको औसत ज्यालासँग तुलना गरिएको छ । 

इन्टरनेटको गुणस्तर भारतभन्दा नेपालमा राम्रो 

सर्भेक्षणले इन्टरनेटको गुणस्तर भारतभन्दा नेपालमा राम्रो रहेको देखाएको छ । यो मापदण्डमा दक्षिण एशियामा नेपाल, भारत, पाकिस्तान र बंगलादेश क्रमशः पहिलोबाट चौथो स्थानमा छन् । 

विश्वभरमा नेपाल ६१ औं स्थानमा छ भने भारत ६७ औं स्थानमा छ । यस्तै, पाकिस्तान, बंगलादेश र श्रीलंका क्रमशः ७४ औं, ८९ औं र १०१ औं स्थानमा छन् । 

इन्टरनेटको गुणस्तर मापदण्डमा मोबाइल र ब्रोडब्यान्ड इन्टरनेट जडानको गति र स्थिरताका साथै यसको सुधारको मापनलाई आधार मानिएको छ । 

इलेक्ट्रोनिक पूर्वाधारको विकासमा पनि नेपाल अगाडि 

सर्भेक्षणले इलेक्ट्रोनिक पूर्वाधार विकासमा पनि नेपाल दक्षिण एशियामा अग्रस्थानमा रहेको देखाएको छ । सर्भेक्षण अनुसार यो मापदण्डमा दक्षिण एशियामा बंगलादेश, भारत, श्रीलंका र पाकिस्तान क्रमशः दोस्रोबाट पाँचौं स्थानमा छन् । विश्वभरमा नेपाल ८६ औं स्थानमा छ । यस्तै, बंगलादेश ८९ औं, भारत ९१ औं, श्रीलंका १०१ औं र पाकिस्तान १०६ औं स्थानमा छन् । 

यो मापदण्डमा नेटवर्कको तयारी र इन्टरनेट प्रयोग गर्नेको संख्या (प्रतिसयमा) लाई आधार मानिएको छ । 

इलेक्ट्रोनिक डाटा सुरक्षामा नेपाल भारतभन्दा पछि 

सर्भेक्षणले इलेक्ट्रोनिक डाटा सुरक्षामा नेपाल भारतभन्दा निकै पछि रहेको देखाएको छ । यो मापदण्डमा दक्षिण एशियामा भारत अग्रस्थानमा छ । त्यसपछि नेपाल छ । यस्तै, पाकिस्तान तेस्रो स्थानमा छ भने श्रीलंका र बंगलादेश समानरूपमा चौथो स्थानमा छन् । विश्वभरमा नेपाल ८२ औं स्थानमा छ भने भारत ३६ औं स्थानमा छ । यो मापदण्डमा भारत चीनभन्दा पनि अगाडि छ । चीन ७२ औं स्थानमा छ । 

विश्वभरमा पाकिस्तान ९८ औं र श्रीलंका तथा बंगलादेश दुवै १०३ औं स्थानमा छन् । 

यो मापदण्डमा साइबर अपराधको सामना गर्न र व्यक्तिको अनलाइन गोपनीयताको सुरक्षा गर्न देशको अवस्थाको मापन गरिएको छ । यसमा देशमा प्रचलित साइबर सुरक्षा र डाटा सुरक्षा कानूनहरूलाई पनि आधार मानिएको छ । 

ई–गभर्नेन्समा पनि नेपाल दक्षिण एशियामै पछाडि 

ई–गभर्नेन्समा नेपाल दक्षिण एशियामै पछाडि रहेको छ । यो मापदण्डमा दक्षिण एशियामा भारत अग्रस्थानमा छ । त्यसपछि श्रीलंका, पाकिस्तान र बंगलादेश क्रमशः दोस्रोबाट चौथो स्थानमा छन् । विश्वभरमा भारत ३३ औं, श्रीलंका ७४ औं, पाकिस्तान ८५ औं र बंगलादेश ८६ औं स्थानमा छन् । नेपाल भने १०४ औं स्थानमा छ । 

यसमा सरकारको अनलाइन उपस्थिति र जनहितका लागि आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीको प्रयोग गरेर देशका सरकारी सेवाहरू आधुनिक र डिजिटलाइज्डलाई आधार मानिएको छ । 

मोबाइल इन्टरनेट गतिमा भारत पुछारबाट दोस्रो 

मोबाइल इन्टरनेट गतिमा भारत पुछारबाट दोस्रोमा अर्थात् १०९ औं स्थानमा छ । त्यहाँको इन्टरनेट गटि १२.३३ एमबीपीएस अनुमान गरिएको छ । 

पाकिस्तान र बंगलादेश क्रमशः ७४ औं र ८९ औं स्थानमा छन् । यो मापदण्डमा चीन तेस्रो स्थानमा छ । चीनको मोबाइल इन्टरनेट गति १२९.६७ एमबीपीएस अनुमान गरिएको छ । 

नेपालको ३ ओटा मापदण्डमा सुधार, ३ ओटामा खस्कियो  

सर्भेक्षण अनुसार नेपालले तीन ओटा मापदण्डमा सुधार गरेको छ भने तीन ओटामा स्तर खस्किएको छ । नेपालले ब्रोडब्याण्ड इन्टरनेट तथा मोबाइको इन्टरनेटको गुणस्तर र ब्रोडब्याण्ड गतिमा सुधार गरेको छ । ब्रोडब्याण्ड इन्टरनेटको मापदण्डमा नेपाल ९ औं स्थानमा रहँदा मोबाइल इन्टरनेटको गुणस्तरमा ३० औं स्थानमा छ । ब्रोडव्याण्ड गति मापदण्डमा भने नेपाल ३३ औं स्थानमा रहेको छ । 

यस्तै, नेपालले आर्टिफिसिएल इन्टेलिजेन्स रेडिनेस इन्डेक्स, नेटवर्क रेडिनेस इन्डेक्स र र अनलाइन सर्भिस इन्डेक्समा नेपालको स्तर खस्किएको छ । सर्भेक्षण अनुसार नेपाल आर्टिफिसिएल इन्टेलिजेन्स रेडिनेस इन्डेक्समा नेपाल १०७ औं स्थानमा छ । यस्तै, नेटवर्क रेडिनेस इन्डेक्समा १०३ औं र अनलाइन सर्भिस इन्डेक्समा १०२ औं स्थानमा छ । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement