ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

वैदेशिक लगानीका कुरा

२०७९ भदौ, ३०  
सम्पादकीय
Image Not Found

कुनै पनि मुलुकको आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी अत्यावश्यक हुन्छ र विश्वका सबैजसो देशले यस्तो लगानी भित्र्याउन आफ्नो बलबुताले भ्याएसम्मका नीति निर्माण गरेका हुन्छन् र प्रोत्साहन दिएका हुन्छन् । नेपालले पनि अनेक नीतिगत, कानूनी र अन्य सुधार गर्दै बढीभन्दा बढी लगानी भित्र्याउन प्रयास गरेको छ । तर, नेपालले अपेक्षा गरेअनुसार लगानी भित्रिन भने सकेको छैन । यसमा कमजोरी नेपालकै देखिन्छ ।

विदेशमा कमाए पनि नेपालमा लगानी आउँछ भने त्यसलाई अन्यथा मानेर रोक लगाउनुको औचित्य छैन । अत: नेपालीलाई वैध माध्यमबाट नै विदेशमा लगानी गर्ने बाटो खुलाउनु आवश्यक छ ।

आर्थिक वर्ष २०७७/७८ सम्ममा नेपालमा ५५ देशबाट करीब २ खर्ब २८ अर्ब रुपैयाँ लगानी भएको सर्वेक्षणले देखाएको छ । नेपालमा उपलब्ध स्रोत र सम्भावना दोहनका लागि यो रकम निकै कम हो । नेपालले दुईपटक आयोजना गरेको लगानी सम्मेलनमा आएको लगानीको प्रस्तावको आँकडा मात्र हेर्दा पनि यो रकम निकै कम देखिन्छ । वैदेशिक लगानीका लागि आवश्यक कानून र आर्थिक वातावरण अनुकूल नदेखिएकाले नै लगानी भित्रिन नसकेको देखिन्छ । यद्यपि सरकारले लगानीकर्ताको चासोअनुसार कानून संशोधन र नयाँ कानून नबनाएको होइन । त्यस्तै लगानी सहजीकरणकै लागि लगानी स्वीकृतिदेखि उद्योग दर्तासम्मका कामका लागि एकै ठाउँमा सेवा दिन पनि शुरू गरेको हो । तर, यी अपर्याप्त छन् । लगानीकर्ताले सम्भाव्य बजार खोजी गरिरहेका हुन्छन् र जहाँ तुलनात्मक रूपमा बढी मुनाफा पाइन्छ, लगानी सुरक्षित हुन्छ र सहज तरीकाले लगानी र मुनाफा फिर्ता लैजान सकिन्छ, त्यहीँ उनीहरू लगानी गर्छन् । यस्तो वातावरण नेपालभन्दा बढी अन्यत्र पाएपछि यहाँ लगानी गर्न इच्छुक लगानीकर्ता पनि अन्यत्र मोडिनु अन्यथा होइन । धेरैजसो लगानीकर्ताले नेपालमा लगानी बढ्न नसक्नुमा अस्थिर नीतिलाई कारण मान्छन् । पक्कै पनि अस्थिर नीति लगानीकर्ताका लागि निकै घातक हुन्छ । त्यस्तै लगानीमैत्री प्रणाली बन्न नसक्नु अर्को समस्या रहँदै आएको छ ।

लगानी भित्रिएको तथ्यांक हेर्दा यस अवधिमा जति रकम वैदेशिक लगानीका रूपमा भित्रिएको छ त्यो भन्दा बढी रकम यस्ता कम्पनीले फिर्ता लगेको देखिन्छ । कम्पनी विक्री, शेयर विक्री, मुनाफा आदिबाट उनीहरूले यो रकम फिर्ता लगेका हुन् । उनीहरूले रकम बाहिर लगे भनेर रोइकराई गर्नुको औचित्य छैन । पुन: लगानीको वातावरण बनाउन नसक्नु वा उनीहरूलाई टिकाइराख्न नसक्नु नेपालकै कमजोरी हो । यसरी आएका कम्पनीहरूले पैसा लगेभन्दा पनि उनीहरूले नेपालमा रोजगारी सृजना गरे, सरकारलाई कर तिरे र आयात कम गर्न योगदान दिए जुन अर्थतन्त्रका लागि निकै ठूलो योगदान हो । त्यो भन्दा ठूलो कुरा वैदेशिक लगानीका कारण आधुनिक प्रविधि पनि भित्रिएको छ । एनसेल, डाबरजस्ता बहुराष्ट्रिय कम्पनीहरूले मुनाफा कमाएका मात्र छैनन्, नेपालमा नयाँ प्रविधि र व्यवस्थापन कौशल पनि भित्र्याउन मद्दत गरेका छन् भन्ने बिर्सनु हुँदैन । प्रतिस्पर्धा त्यस्तै बढेको छ । बैंकिङ क्षेत्रमा उनीहरूले ल्याएको परिवर्तन यसको एउटा उदाहरण हो ।

२ खर्बभन्दा बढी लगानी भित्रिएकामा २४ प्रतिशतको हाराहारीमा ट्याक्स हेभन भनिएका देशहरूबाट आएको बताइन्छ । उत्तर दक्षिण अमेरिकाकोे बीचतिर क्यारेबियन समुद्रका बीचमा रहेको सेन्ट किट्स एन्ड नेभिस पाँचांै बढी लगानी भित्रिएको देश हो । करीब ५२ हजार जनसंख्या रहेको यो देशबाट यति धेरै लगानी कसरी आयो ? जबकि यस देशसँग नेपालको त्यस्तो ठूलो सम्बन्ध पनि छैन । त्यस्तै आइरल्यान्ड, सिंगापुर र युनाइटेड अरब इमिरेट्सबाट आएको लगानी पनि यस्तै मानिन्छ । जुन बाटोबाट जसरी आए पनि नेपालमा अवसर देखेर नै लगानी आएको हो । यद्यपि सम्पत्ति शुद्धीकरणको आशंका भने यसमा रहन्छ । तैपनि न्यून बीजकीकरणबाट अथवा अन्य माध्यमबाट कमाएको पैसा ट्याक्स हेभन भनिने मुलुकमा पुगेर नेपाल फर्किएको हुन सक्ने सम्भावना बढी छ । वैध–अवैधको विवादलाई एकछिन पर राख्ने हो भने यसले नेपालीले पैसा बाहिर लगे पनि लगानीका लागि नेपाल नै ल्याउने रहेछन् भन्ने एउटा तथ्यलाई भने पुष्टि गरेको छ । यसले नेपालीलाई विदेशमा लगानी रोक्न आवश्यक छैन भन्ने देखाउँछ । विदेशमा कमाए पनि नेपालमा लगानी आउँछ भने त्यसलाई अन्यथा मानेर रोक लगाउनुको औचित्य छैन । अत: नेपालीलाई वैध माध्यमबाट नै विदेशमा लगानी गर्ने बाटो खुलाउनु आवश्यक छ । जसरी भए पनि मुलुकले फाइदा लिने नीति अवलम्बन गर्नु नै समय सान्दर्भिक हो भन्नेमा नीतिनिर्माताको ध्यान जानु आवश्यक छ । यस्तो अभ्यास संसारका थुप्रै मुलुकले गरेका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement