ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

महानगरको ताकेतापछि धमाधम उठ्न थाल्यो कर

२०७९ भदौ, ३०  
समाचार
Image Not Found

काठमाडौं । काठमाडौं महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाताले बक्यौता कर तिर्न थालेका छन् । महानगरले भदौ १५ गतेयता पटकपटक कर तिर्न करदातालाई पत्राचार गर्दै आएको छ ।  

ताकेता शुरू गरेयता ८४ लाख ३४ हजार रुपैयाँ असुल भएको महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । ‘अहिलेसम्म जति पनि असुल भएको छ, त्यो सबै मनोरञ्जन कर हो । अन्य कर तिर्न केहीले विवरण लिएर आएका छन्, केही सम्पर्कमा समेत आएका छैनन्,’ उनले भने ।
मनोरञ्जन करबापत काठमाडौं फन पार्कले १७ लाख ३६ हजार, होटेल म्यारिएट काठमाडौंस्थित डेल्टिन क्यासिनोले २१ लाख ४२ हजार, अन्नपूर्ण होटेलको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार, हायात होटेलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएशनले ९ लाख ८९ हजार, सोल्टीको माजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटेलको बेलिज क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ बुझाएको महानगरको भनाइ छ ।

मनोरञ्जन कर तिर्न अन्य केहीले विवरण बुझाएर मिति तय गरेका छन् । महानगरको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएर आएसँगै २९ वर्षदेखि असुल हुन नसकेको सम्पत्ति कर, बहाल कर र मनोरञ्जन कर उठाउन पहल थालिएको थियो । सो अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी छन् । ‘उक्त शीर्षकको करस्वरूप महानगरले ५० करोड रुपैयाँ बक्यौता असुल गर्नुपर्नेछ,’ अधिकारीले भने, ‘७० करोड रुपैयाँ असुल गर्नुपर्ने थियो, गत वर्ष २० करोड असुल गरियो ।’

गतवर्ष पनि महानगरले बक्यौता रकम असुली सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाका आधारमा केही संस्थाले सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै सम्पर्कमै नआएको बताइएको छ । बक्यौता असुल गर्न महानगरले पहिलो चरणमा पत्राचार गर्ने गरेको छ । पत्रका आधारमा विवरणसहित कर बुझाउन नआए दोस्रोपटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement