ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पर्यटकीयस्थल टोड्केमा सिद्धबाबा पार्क

२०७९ भदौ, ३०  
गण्डकी प्रदेश
NA

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा सिद्धबाबापार्क निर्माण गरिएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकलाई लक्षित गर्दै रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो ।

पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं ५ झिँको सिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो । विभागको रू. ७० लाख र गाउँपालिकाको रू. ३१ लाख गरी रू. १ करोड १ लाख पार्क निर्माणको लागत अनुमान गरिएको थियो । खुसीहोम बिल्डर्सले रू. ६६ लाख ३२ हजारमा ठेक्का सम्झौता गरी पार्क निर्माण गरेको हो । पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाका इन्जिनीयर सुदीप गौतमले जानकारी दिए ।

उनका अनुसार, पार्कमा ४ ओटा विश्रामस्थल, एउटा फाउन्टेन र एउटा भवन (घर) निर्माण गरिएको छ । जङ्गलको बीचमा खाली रहेका ठाउँहरूलाई उपयोग गरी पदमार्ग समेत निर्माण गरिएको छ । पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढीसंगै ढुंगा छपाउने तयारी गरिएको छ । पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुने बताइएको छ । झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झिँदेखि २४० मिटर रेलिङसहितको पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

पार्कभित्र ढुंगाका छपनी बिच्छ्याउने, पार्क परिसरमा फुल प्रजातिका बिरुवा रोपण र पार्कसम्म जाने पदमार्ग अन्तर्गत भीरकुनामा प्रतीक्षालय बनाउने काम बाँकी रहेको वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । ‘झिँदेखि पार्क हुँदै टोड्के मोटरबाटो र पदमार्ग दुवैले जोडिएको छ,’ उनले भने, ‘पार्कका पूर्वाधार बनेसँगै पर्यटक थप आकर्षित भएका छन् ।’

जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरूका लागि आकर्षणको केन्द्र बन्न थालेको उनको भनाइ थियो । झिँलाई रघुगंगाले सांस्कृतिक गाउँ घोषणा गरेको छ । गाउँमा पर्यटक लोभ्याउन सांस्कृतिक पार्क समेत निर्माण शुरू गरिएको छ । उक्त क्षेत्रको भ्रमणमा जाने पर्यटकहरूको सुविधाका लागि झिँमा होमस्टे (घरवास) र टोड्केमा निजी क्षेत्रबाट रिसोर्ट सञ्चालन गरिएको छ ।

समुद्री सतहदेखि २ हजार ३८० मिटरको उचाइमा अवस्थित टोड्केबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका आधा दर्जन हिमालहरू अवलोकन गर्न सकिन्छ । सूर्योदय, गुराँसे जंगल, पहाडी भूगोल र ग्रामीण मगर संस्कृतिको अवलोकनका हिसाबले महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा परिचित छ । रघुगंगा गाउँपालिकाको अगुवाइमा टोड्केमा फुटबल समेतको बहुउद्देश्यीय हाईअल्टिच्युट खेल मैदानको निर्माण थालिएको छ । टोड्केमा वनभोज पार्क, टोड्के तपोभूमि शिवालय घेराबार, पार्क कम्पाउण्ड, शौचालय, खानेपानी निर्माण लगायत पूर्वाधारहरू निर्माण समेत गरिएको छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement