ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

टिस्यु कल्चर प्रविधिमा केरा किसान आकर्षित

२०७९ भदौ, ३०  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कैलाली । ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि कैलालीको टीकापुर क्षेत्र केराखेती ‘हब’को रूपमा विकसित हुँदै गएको छ । पछिल्लो समय टीकापुरमा किसानले टिस्यु कल्चर प्रविधिमार्फत उत्पादित केराका बिरुवा लगाउन थालेका छन् । उक्त प्रविधिमार्फत प्रयोगशालामा उत्पादन हुने केराका बिरुवा लगाउँदा साधारण बिरुवाको तुलनामा बढी उत्पादन लिन सकिने भएकाले किसानको आकर्षण बढेको छ ।

राष्ट्रिय गौरवका आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा किसानलाई अनुदान कार्यक्रममा सघाउँदै आएको छ । टिस्यु कल्चर प्रविधिका केराका बिरुवा स्थानीय स्तरमै उपलब्ध भएपछि किसानलाई सहज भएको छ ।

टीकापुरका केरा किसान टेकेन्द्र धामीले टिस्यु कल्चर प्रविधिबाट उत्पादित बिरुवाका लागि हाइटेक नर्सरी निर्माण गरेका छन् । उक्त नर्सरीबाट उत्पादित बिरुवा टीकापुरसहित विभिन्न ठाउँमा विक्री हुने गरेको उनले बताए । ‘मैले शुरू गर्दा नवलपरासीसम्म बिरुवा निकासी गरेको थिएँ,’ उनले भने, ‘अहिले यो प्रविधिबाट अन्य ठाउँमा पनि केराको बिरुवा उत्पादन हुन थालेपछि निकासी घटेको छ ।’ टिस्यु कल्चर एउटा स्वस्थ बिरुवाको निकै सानो कोष (सेल)बाट हजारौं बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ बिरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनीयरले बिरुवा उत्पादन गर्छन् । एउटा कोषलाई हाइटेक ल्याबमा रसायनको प्रयोग गरेर हुर्काउँदै हजारौं बिरुवा उत्पादन गरिन्छ ।

अत्याधुनिक ल्याबमा बिरुवाको कोष हुर्काउन ६ महीनासम्म लाग्छ । ल्याबबाट निकालेर वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ३ महीनासम्म बिरुवा हुर्काइन्छ । त्यसरी हुर्किएको बिरुवा जहाँको माटोका लागि तयार गरिएको हो, त्यही ठाउँमा ‘ग्रीनहाउस’ निर्माण गरेर राखिन्छ ।

करीब ३ महीना ग्रीनहाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्न तयार हुन्छ । कृषिविज्ञ एवं रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार टिस्यु कल्चर प्रविधिमार्फत उत्पादित बिरुवा रोप्न तयार हुन करीब १ वर्ष लाग्छ । ‘नर्सरीमै निकै सावधानीपूर्वक हुर्काइने हुनाले यो प्रविधिका बिरुवामा अन्यको तुलनामा रोग कम लाग्ने र फल बढी दिने गुण हुन्छ,’ उनले भने, ‘त्यसकारण पनि यसमा किसानको आकर्षण बढ्दै गएको देखिन्छ ।’

टिस्यु कल्चर प्रविधिबाट हुर्किएको बिरुवालाई विभिन्न ठाउँमा पुर्‍याउन पनि सजिलो हुन्छ । निकै सानो आकारका बिरुवा हुने भएकाले ढुवानीमा सजिलो हुने इकाइ प्रमुख जोशीले बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement