ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

पोखरा महानगर : अवैध संरचना हटाउने काम जारी

२०७९ भदौ, ३०  
गण्डकी प्रदेश
Image Not Found

पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने काम जारी राखेको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानून मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमवार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको समयावधिभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरे कानूनबमोजिम अघि बढ्ने वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । ‘फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना क्रमश: हटाउँदै जान्छौं,’ उनले भने, ‘अनधिकृत रूपमा बनाइएका सरकारी संरचना पनि अब हट्छन्, यो अभियान निरन्तर चल्छ ।’ सडकको अधिकार क्षेत्र मिचेर बनाइएका क्षेत्रीय हुलाक, टेलिकमलगायत सरकारी कार्यालयका पर्खाल समेत भत्काइने उनले बताए ।

नयाँ बजारमा रहेको माइक्रो बसको अव्यवस्थित पार्किङ पनि त्यहाँबाट हटाइने भएको छ । ‘सार्वजनिक सूचना निकाल्छौं, सम्बन्धित कार्यालयहरूलाई पत्र पनि काट्छौं, वैध रहेको प्रमाण भए यथास्थितिमा छाड्छौं, नत्र हटाइन्छ,’ वडाध्यक्ष मर्सानीले भने, ‘सूचनाको बेवास्ता गरेर आफै नहटाए नगर प्रहरी लगाएर महानगरले हटाउँछ ।’

नयाँपुलमा रहेको महानगरको भवनमा बाँकी रहेका सटर खाली गराएर मंगलवारदेखि पुन: संरचना भत्काउन शुरू गरिएको उनको भनाइ छ । त्यहाँ रहेका दुई भवन भत्काएर उद्यान र सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको छ । भवन भत्काउँदा विस्थापित भएका आर्ट ग्यालरी र पुस्तकालय पृथ्वीचोकमा बन्ने नयाँ भवनमा सारिने भएको छ ।

पृथ्वीचोकमा रहेको ट्राफिक प्रहरी कार्यालय हटाएर महानगरले सूचना केन्द्रसहितको आधुनिक भवन बनाउँदै छ । वडा नं ९ ले एक महीनाभित्र वडाभित्रका अनधिकृत संरचना हटाइने बताएको छ । महाननगरभित्रका मुख्य शहरी क्षेत्रमा फुटपाथ, अव्यवस्थित पार्किङजस्ता समस्या बढी छन्, जसले शहरी सौन्दर्य बिगारेको मात्र छैन, पैदलयात्रीलाई कष्ट पनि थपेको छ ।

वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले अवैध संरचना बनाउने व्यवसायी र घरधनीलाई प्रत्यक्ष भेटेरै त्यस्ता संरचना हटाउन आग्रह गरिएको बताए । ‘सूचना निकाल्ने त सामान्य प्रक्रिया नै भइहाल्यो, घरदैलोमै पुगेर पनि महानगरको अभियानमा सघाउनुस् भनेका छौं,’ उनले भने, ‘तोकिएको मितिभित्र नहटाए पत्र काट्छौं, बोलाएर कुराकानी गर्छौं, यति गर्दा पनि अटेर गरे हामी आफै हटाउँछौं ।’ स्थायी संरचना बनाइसकेपछि अनधिकृत रूपमा पछि थप गरिएका संरचना हटाउनुपर्ने स्थिति रहेको उनको भनाइ छ । उक्त वडाका बागलुङ बसपार्क, चिप्लेढुंगा, महेन्द्रपुललगायत क्षेत्रमा त्यस्ता संरचना बढी छन् । ती ठाउँमा सवारी पार्किङ पनि अस्तव्यस्त छ । उनका अनुसार घरअघि ट्रस थप्ने, पेटीमै पसलका सामान राख्ने प्रवृत्ति बढी छ ।

सडक नै ओगट्नेगरी ठूला होर्डिङ बोर्ड र सटर बाहिर सामान राख्न अबदेखि नदिइने उनको भनाइ छ । ‘सार्वजनिक जग्गा नै मिचेर बनाइएका ठूला भौतिक संरचना हाम्रो वडामा छैनन्, तर पछि थपिएका स–साना संरचनाले शहरी व्यवस्थापनमा बाधा पुर्‍याइरहेको छ,’ उनले भने । घरघरै पुगेर सम्झाइबुझाइ गरिएकाले व्यवसायीबाट सहयोग पाउनेमा वडाका जनप्रतिनिधि विश्वस्त छन् । महानगरको नेतृत्वले अनधिकृत संरचना हटाउने अभियानमा वडा तहलाई नै बढी अग्रसर गराएको छ । अवैध संरचना भत्काउनुपूर्व अपनाउनुपर्ने सबै प्रक्रिया पूरा गर्ने गरिएको जनप्रतिनिधिको भनाइ छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement