ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

२०७९ भदौ, ३०  
बागमती प्रदेश
Image Not Found

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आगामी असोज ४ गते स्वर्ण वर्ष मनाउने भएको छ । २०३० असोज ४ गते स्थापना भएको निकुञ्जले ५०औं वर्ष प्रवेशको अवसरमा स्वर्ण वर्ष मनाउन लागेको हो ।

निकुञ्जले आफ्नो स्वर्ण वर्षभरि नै विविध कार्यक्रम गर्ने भएको छ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

स्वर्ण महोत्सवमा स्मारिका प्रकाशन, स्वर्ण स्तम्भ अनावरण, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन लगायत कार्यक्रम आयोजना गरिने तिवारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज ९५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर, लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४० भन्दा बढी जातका चराचुरुंगी पाइन्छन् । यिनै प्राकृतिक महत्त्वका जीवजन्तुको संरक्षणलाई ध्यानमा राखेर सन् १९८४ मा निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करीब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

संरक्षणमा गरिएको प्रयासस्वरूप यस निकुञ्जमा हाल पाटेबाघको संख्या १२८ र गैंडाको संख्या ६९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी/शिकारबाट गैंडा मारिएका छैनन् । निकुञ्ज स्थापनासँगै २०५३ सालमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो ।

यो निकुञ्ज मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको  केही भू–भागमा फैलिएको छ । निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछन् । ती पालिकामा २ लाख ५० हजारभन्दा बढी मानिस बसोवास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजस्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायत खर्च गरिँदै आएको छ ।

हालसम्म रू. १ अर्बभन्दा बढी रकम मध्यवर्ती क्षेत्रमा खर्च भइसकेको निकुञ्ज कार्यालयले बताएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्जबीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताए । पुराना ऐन कानूनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दालाई केही अप्ठ्यारा भएको भन्दै उनले तिनमा संशोधन गरेर संरक्षणमा जुट्नुपर्नेमा जोड दिए । निकुञ्ज स्थापनाको ५०औं वर्षको अवसरमा वर्षभरि नै संरक्षणसँग सम्बन्धित विभिन्न गतिविधि गरिँदै छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement