ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

काेभिड-१९ काे कारण देखाउँदै शिल गरिएका उत्तरी नाका खोल्न चीन तयार

२०७९ भदौ, ३०  
समाचार
Image Not Found
नेपाल–चीन जाेड्ने रसुवागढी नाका ।
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–चीन नाकामा रहेको अघोषित अवरोध खोल्न चीन तयार देखिएको छ । तातोपानी र रसुवागढी नाकामा चीनले कोभिडका नाममा सामान दुवानीमा गरिरहेको अवरोध खुलाउन चिनियाँ उच्च अधिकारीहरू तयार देखिएका हुन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा बन्द नाका तत्कालै सञ्चालन हुने बताए ।

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै छिट्टै नाका खुल्ने बताएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

‘यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरें । यो सन्देश हाम्रो राष्ट्रपति सी चिनफिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाका तत्कालै सञ्चालन हुनेछन्,’ चिनियाँ नेता लीको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले भने ।

नेपाल र चीनबीचका प्रमुख दुवै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीले समस्या भोगिरहेका छन् । उनीहरूले यी नाका सञ्चालनको पहल गर्न नेपाल सरकारलाई आग्रह गर्दै आएका छन् ।

चीनले तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै २१ साउनदेखि रसुवागढी र २५ साउनदेखि तातोपानी नाका शिल गरेको थियो । कोभिडका कारण चीनले कडा मापदण्ड लागू गर्दा पछिल्लो ३ वर्षदेखि चीन–नेपालबीच स्थलमार्गबाट हुने व्यापार प्रभावित छ ।

कोभिडको कारण देखाउँदै बन्द नाकाबाट चीनले नेपालतर्फ कुनै सामान ल्याउन दिएको छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार अहिले करीब ५ अर्ब रूपैयाँ बराबरको सामान बोकेका ४ सय कन्टेनर सीमापारि बाटोमै अड्किएका छन् । 

अहिले साढे ३ सयदेखि ४ सय कन्टेनर रसुवा नाकाको केरुङ र तातोपानी नाकाको खासा नेलममा रोकिएको न्यू सुगम इन्टरप्राइजेजका सञ्चालक एवं संघका महासचिव भरत कार्कीले जानकारी दिए । 

उनको कम्पनीले चीनबाट सामान आयात गर्छ । रोकिएका कन्टेनरमा चाडपर्वलक्षित सामान छन् । ‘लत्ताकपडा, जुत्ता, चाइनिज ओखर बोकेका कन्टेनरलाई चीनले नेपाल आउन दिएको छैन,’ कार्कीले भने । नाका नखुल्दा व्यवसायी धेरै नै तनावमा छन् । व्यवसायीले लामो समयदेखि कूटनीतिक पहल गर्न आग्रह गरे पनि त्यसको सुनुवाइ हुन सकेको थिएन । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement