ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

मुस्ताङ र डोल्पा जोड्ने सडकमा मोटेरेबल पुल निर्माण

२०७९ भदौ, ३०  
गण्डकी प्रदेश
Image Not Found
सांकेतिक तस्वीर
author avatar अभियान संवाददाता

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको बमरागुङ मुक्ति क्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा १२० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य शुरू भएको सात वर्षपछि सकिएको हो । 

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शंकरमाली जेभीसँग रू. १२ करोड १३ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो । ७ दशमलव ३ मिटर चौडाइ भएको पुलमा ४०-४० मिटरको दूरीमा तीनवटा स्पाम छन् । संघीयता कार्यान्वयनसँगै पूर्वाधार विकास कार्यालय म्याग्दी हुँदै मुस्ताङलाई पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भएको थियो । 

पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोखालले बहुप्रतिक्षित एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माण सकिएको जानकारी दिए । कार्यालयको टोलीले पुलको प्राविधिक नापजाँच गरेको छ । पुल निर्माणका लागि भएको सम्झौताको म्याद छ पटक थपिएको थियो । प्राविधिक कमजोरीलाई कारण देखाएर निर्माण कम्पनी मुद्दा प्रक्रियामा पनि गएको थियो । कालोसूचीमा राखी कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि एलाइट शंकरमाली जेभीले पछिल्लो समय युनिस निर्माण सेवालाई सहायक ठेकेदार नियुक्त गरेर काममा पठाएको थियो । 

युनिस निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले अलपत्र अवस्थामा रहेको पुल निर्माणकार्यलाई करिब १८ महिनाको अवधिमा पूर्णता दिएको बताए । मूल सडकबाट पुलसम्म पुग्ने दुईतर्फ १३० मिटर सडक पनि निर्माण भएको छ । 

एक्लेभट्टीमा पुल निर्माण भएपछि पाक्लिङ, साङतालगायत बस्तीका बासिन्दालाई आवतजावत, स्याउ, भेडा–च्याङ्ग्रा, चौँरी निकासी गर्न सुविधा पुगेको छ । सवारी साधनलाई कालीगण्डकी तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । एक्लेभट्टी हुँदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको दुई जिल्लाको सिमाना याकखर्कसम्म मार्ग खुलेको छ । 

डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए । हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । -रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement