ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

फुसको छानो विस्थापन गर्न निःशुल्क जस्तापाता वितरण, आदिवासी आठपहरिया समुदाय बढी लाभान्वित

२०७९ भदौ, ३०  
समाचार प्रदेश ०१
Image Not Found
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगपालिकामा सञ्चालित फुस (खर) को छाना विस्थापन गरी निःशुल्क जस्तापाता वितरण कार्यक्रमबाट यहाँका सीमान्तकृत आदिवासी आठपहरिया समुदाय लाभान्वित भएका छन् ।

नगरमा करीब ८ हजार संख्यामा रहेका यी जाति यहाँको ग्रामीण क्षेत्रमा पराम्परागत तरीकाले सघन बसोबास गर्दै आएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा पछि परेका कारण राज्य र नगरको प्राथमिकीकरणमा परेकाले फुसको छानो विस्थापन कार्यक्रमबाट यो समुदायलाई सुविधा भएको छ ।

गत पाँच वर्षमा नगरपालिका र केन्द्रीय सरकारको सहयोगमा तीन पटक सञ्चालित कार्यक्रमबाट नगरका ७६४ घरमा फुसको छानो विस्थापन गरिएको छ । त्यसमा ८५ प्रतिशतभन्दा बढी आठपहरिया समुदाय रहेको नगर साभेदारी कार्यक्रमका संयोजक सूर्य आठपहरियाले जानकारी र्दिए  ।

जस्ता पाएपछि मुसा लागेर हरेक वर्ष छाउनुपर्ने झन्झटबाट मुक्त भएको धनकुटा-८ स्वारिबागाउँका ३० वर्षीय मदनप्रसाद आठपहरियाले जानकारी दिए । छाना छाउन खर काट्न खेताला लिएर जंगलमा जानुपर्ने, बाँसलगायत आवश्यक सामान तयार गरेर छाना छाउने दक्ष व्यक्तिलाई काम लगाउनुपर्ने बाध्यता थियो ।

फुसको छाना विस्थापनले ठूला फुसको घर हुनेलाई दुई–तीन सय भारी खर काट्नुपर्ने, नयाँ पुस्ताले घर छाउन नजान्ने, पुराना अशक्त भएर काम गर्न नसक्ने जस्ता समस्याको समधान भएको वडाका वडाध्यक्ष रसबहादुर आठपहरियाले जानकारी दिए ।

जस्ताको छाना लगाएपछि छानाका माध्यम भएर मुसा, सर्प लाग्ने बर्खामा पानी चुहिने र खडेरीमा आगलागीबाट समेत सुरक्षित भएको उनले जानकारी दिए । नगरका नौ वडामध्ये सबैभन्दा बढी ९५ प्रतिशत आठपहरिया जातिको बसोबास भएको यस वडामा चालू आवमा थप २३२ घरले जस्ताका लागि निवेदन दिएको अध्यक्ष आठपहरियाले जानकारी दिए ।

नगरमा रहेका १ हजार ४०० घरधुरीमध्ये पहिलो प्राथमिकतामा आठपहरिया जातिको घरमा फुसको छाना हटाएर जस्तापाता लगाउने कार्यक्रम निरन्तर रहेको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए । हालसम्म नगरको आवास सहुलियत साझेदारी कार्यक्रमबाट ५५० र केन्द्रीय सरकारको सुरक्षित जनता आवास कार्यक्रमबाट २६४ घरलाई जस्ता वितरण गरिएको उनले जानकारी दिए ।

विसं २०७५ बाट शुरू गरिएको यस कार्यक्रमबाट नगरले लागत अनुमानका आधारमा चाहिने जस्ता खरीद गरेर दिने गरेको छ भने केन्द्रीय कार्यक्रमबाट फुसको छनो हुने घरलाई जस्ता खरिदका लागि एकमुष्ट रू. ७५ हजार अनुदान दिँदै आएको छ । -रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement