ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ब्याजदर बढाउने समाचारसँगै नेप्से २.८८ प्रतिशत घट्यो

२०७९ भदौ, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंकहरूले असोजमा ब्याजदर बढाउने समाचार बिहीवार सार्वजनिक भएसँगै त्यसको प्रत्यक्ष असर धितोपत्र दोस्रो बजारमा देखिएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से परिसूचक बिहीवार भने २ दशमलव ८८ प्रतिशत घटेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५७ अंक घटेर १ हजार ९२४ दशमलव ४८ विन्दुमा बन्द भएको छ । 

बिहीवार बैंक वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत फागुन महीनादेखि ब्याजदरमा गरेकोे भद्र सहमति तोड्ने निर्णय गरेसँगै असोज महीनामा ब्याजदर बढ्ने समाचार बाहिरिएको थियो । ब्याजदर बढ्दा घट्ने पुरानै रोगको शिकार धितोपत्र बजार बनेको छ । विगत ६ महीनादेखि ब्याजदर स्थिर रहँदा बजारको गति कुन दिशामा गयो भन्ने विश्लेषण समेत नगरी बिहीवार लगानीकर्ता आत्तिएको जानकारहरूको बुझाइ छ । 

बिहीवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बुधवार रू. १ अर्ब ४५ करोडभन्दा बढीको धितोपत्र कारोबार भएकोमा बिहीवार रू. २ अर्ब १२ करोडभन्दा बढीको धितोपत्र कारोबार भएको छ । यस दिन २३२ कम्पनीको ३५ हजार ५३७ पटकको व्यापारमा ६९ लाख ४० हजार ५९६ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।

बिहीवार कुल कारोबार रकममा लक्ष्मी बैंकको सर्वाधिक हिस्सा रहेको छ । यस बैंकको रू. २१ करोड ५० लाखभन्दा बढीको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको दिन लक्ष्मी बैंकको शेयर मूल्य भने प्रतिकित्ता रू. १ दशमलव २० ले घटेर अन्तिम मूल्य रू. १९४ दशमलव ८० कायम भएको छ ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमूल्य सर्वाधिक बढेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य सर्वाधिक घटेको छ । सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमूल्य यस दिन ४ दशमलव १२ प्रतिशत बढेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य ८ प्रतिशत घटेको हो । बिहीवारको कारोबारमा सबै समूहगत उपसूचकहरू पनि घटेका छन् ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement