ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अहिलेको आवश्यकता म्यानुफ्याक्चरिङमा जोड

२०७९ भदौ, ३१  
सम्पादकीय
Image Not Found

विश्व अर्थतन्त्रको गतिलाई हेर्दा कृषिक्षेत्रमा लाग्ने जनशक्ति तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान घट्दै अन्य क्षेत्र बलियो हुँदै आएको देखिन्छ । औद्योगिक उत्पादन एउटा निश्चित विन्दुमा पुगेपछि मात्रै सेवाक्षेत्रको विस्तार भएको पाइन्छ । नेपालमा भने उत्पादनमूलक क्षेत्रले फड्को नमार्दै यो शिथिल बन्दै ओरालो लागेको पाइन्छ । जीडीपीमा कृषिको योगदान घट्दो छ तर उत्पादनमूलक क्षेत्रले गति लिन सकेको छैन । यसले नेपालको अर्थतन्त्रको स्वाभाविक गतिमा अघि बढ्न नसकेको देखाउँछ । त्यसैले उत्पादनमूलक क्षेत्रको विकास गर्नतिर लाग्नु आवश्यक छ । सरकारले दश वर्षमा जीडीपीमा यसको योगदान १५ प्रतिशत पुर्‍याउने रणनीति सार्वजनिक गरेको छ । तर, सही नीति र कार्यान्वयन हुने हो भने ५ वर्षमै यो उपलब्धि प्राप्त गर्न सकिन्छ ।

आर्थिक विकासमा म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान बढाउन ठोस नीति र सही कार्यान्वयन जरुरी हुन्छ । त्यसतर्फ सरकार इमानदार भएर लाग्ने हो भने ५ वर्षमा नै अहिलेको भन्दा तेब्बर योगदान बढाउन सकिन्छ ।

आठौं योजनामा जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान १२ दशमलव ७ प्रतिशत रहेकामा यो घट्दै गएर अहिले ५ दशमलव ९ प्रतिशतमा झरेको छ । कृषिक्षेत्रको योगदान पनि विगत केही वर्षयता २९ प्रतिशतबाट घटेर २३ दशमलव ९५ कायम भएको छ । उत्पादनमूलक क्षेत्र नफस्टाउँदै सेवाक्षेत्रको योगदान बढेर ६० प्रतिशत पुगेको छ । यसरी अर्थतन्त्रको यात्रा उल्टो देखिएको छ ।

उत्पादन नबढेसम्म अन्य क्षेत्रको योगदानले अर्थतन्त्र बलियो हुन सक्दैन । सेवाक्षेत्रको वृद्धि पनि सन्तोषजनक छैन । वित्तीय संस्थाबाहेक सेवाक्षेत्र वृद्धि हुनुका कारण गैरसरकारी संस्थाहरूको वृद्धिले पनि हो । यसरी गैरसरकारी संस्थाको वृद्धिले बढेको सेवाक्षेत्रको अर्थतन्त्रमा खासै भूमिका हुँदैन ।

जीडीपीमा कृषिको योगदान घट्नु भनेको कृषि उत्पादन घट्नु होइन, अन्य क्षेत्रको विकास हुनु हो । कृषि उत्पादन बढेपछि औद्योगिक विकासको ढोका खुल्छ भन्ने मानिन्छ । त्यसैले नेपालले उत्पादनमूलक क्षेत्रको योगदान बढाउने हो भने कृषि उत्पादन बढाउन नै उच्च प्राथमिकता दिनुपर्छ । कृषि उत्पादन बढेपछि आयात घट्छ र नेपालमा कृषि प्रशोधन उद्योग खुल्न थाल्छन् । त्यसले अन्य उद्योग खोल्न पनि वातावरण तयार पारिदिन्छ ।

त्यस्तै वनजंगल पनि उत्पादन बढाउने स्रोत हो । खनिज, जडीबुटीजस्ता वस्तुमा जोड दिएर पनि उत्पादन बढाउन सकिन्छ । तरकारी, फलफूल खाद्यान्न, जडीबुटी तथा वन पैदावार, खनिज र खानीजन्य वस्तु, निर्माण सामग्री, मौलिक नेपाली सांस्कृतिक उत्पादन, नेपाली हस्तकला, धागो तथा गार्मेन्ट आदिको उत्पादन बढाउने नीति सरकारले लिएको छ । तर, सरकारले नीति लिँदैमा उत्पादन बढी हाल्छ भन्ने चाहिँ हुँदैन ।

जुन देशमा उत्पादन हुँदैन र उपभोगमात्रै हुन्छ त्यो देशमा ढिलोचाँडो समस्या आउँछ नै । नेपालकै सन्दर्भमा विप्रेषण रकम भित्रिन छाड्ने हो भने भयावह अवस्था नआउला भन्न सकिन्न । त्यसैले उत्पादन बढाउनुको विकल्प छैन । कृषि उत्पादनदेखि औद्योगिक उत्पादनसम्मलाई म्यानुफ्याक्चरिङ क्षेत्र भनिन्छ । म्यानुफ्याक्चरिङको योगदान १५ प्रतिशत पुर्‍याउने भनिरहँदा १२ प्रतिशत नाघिसकेको योगदान घटेर ५ प्रतिशतमा किन खुम्चन आयो भन्नेमा राम्ररी अध्ययन र विश्लेषण हुनु आवश्यक छ ।

नेपालमा माओवादी सशस्त्र युद्ध शुरू भएपछि त्यसको असरले उत्पादन क्षेत्रको योगदान घट्न थालेको हो । त्यतिबेला बिग्रन शुरू भएको उद्योग र श्रमको सम्बन्धले धेरै समयसम्म उत्पादनमूलक क्षेत्रलाई पिरोलिइरह्यो । त्यति बेला सरकारले उदारीकरणको माध्यमबाट अर्थतन्त्रमा ठूलो संरचनात्मक परिवर्तन ल्याएको थियो । तर, त्यसयता यस्तो ठूलो खालको परिवर्तनकारी काम भएको छैन । टालटुले अर्थनीतिबाट मुलुक चलिरहेको छ । त्यसैले पनि उत्पादनमूलक क्षेत्रमा व्यावसायिक घराना आकर्षित हुन नसकेका हुन् र उनीहरूले व्यापारमा हात हालेका हुन् अहिले पनि यो अवस्थामा तात्त्विक अन्तर आएको छैन । त्यसैले यो अवस्थामा परिवर्तन नल्याई उत्पादन बढ्दैन, उत्पादन नबढी आयात घट्दैन र आयात नघटी व्यापारघाटामा सुधार ल्याउन सकिँदैन ।

अत: आर्थिक विकासमा म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान बढाउन ठोस नीति र सही कार्यान्वयन जरुरी हुन्छ । त्यसतर्फ सरकार इमानदार भएर लाग्ने हो भने ५ वर्षमा नै अहिलेको भन्दा तेब्बर योगदान बढाउन सकिन्छ । म्यानुफ्याक्चरिङले गति लियो भने अर्थतन्त्रको विकास हुन कठिन पनि हुँदैन ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement