ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अर्थतन्त्रमा दबाब कायमै

२०७९ भदौ, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारी अधिकारीहरूले अर्थतन्त्र सही दिशामा अघि बढेको दाबी गरिरहेका बेला तथ्यांकले भने अर्थतन्त्रमा बाह्य दबाब कायमै रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो महीनाको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा देशको शोधनान्तर स्थिति, मुद्रास्फीति, विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचक सकारात्मक छैनन् । गत आवको शुरूदेखि अर्थतन्त्रमा देखिएको दबाब कायमै रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रमा बाह्य दबाब कायमै रहेकाले सजग बन्नुपर्ने अवस्था रहेको बताए । ‘मुद्रास्फीति, शोधनान्तर घाटालगायत सूचकले हामी अझै दबाबमा छौं भन्ने देखाउँछ,’ उनले भने, ‘ढुक्क हुने अवस्था छैन, सजग भएर बस्नुपर्छ ।’

मूल्यवृद्धि उच्च
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महीनामै मूल्यवृद्धिदर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी (८ दशमलव २६ प्रतिशत) पुगेको छ । अघिल्लो महीना असारमा मूल्यवृद्धिदर ८ दशमलव शून्य ८ प्रतिशत थियो । पोहोर साउनमा उक्त दर ४ दशमलव ३५ प्रतिशत थियो ।

आयातमा आधारित अर्थतन्त्र भएकाले विदेशमा महँगी उच्च हुँदा त्यसको प्रभाव नेपालमा परेको हो । सरकारले चालू आवमा मूल्यवृद्धिदर ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

शोधनान्तर घाटा २२ अर्ब
देशमा भित्रनेभन्दा बाहिरिने रकम उच्च हुँदा साउन मसान्तमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा छ । शोधनान्तर स्थिति घाटामा भए पनि अघिल्लो आवको साउनको तुलनामा भने सुधार देखिएको छ । २०७८ साउनमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड रुपैयाँ थियो ।

रेमिट्यान्स र व्यापारघाटामा सुधार भए पनि भ्रमण व्यय उच्च हुँदा शोधनान्तर घाटा उच्च भएको हो । सरकारको नीतिका कारण आयात प्रभावित भएसँगै निर्यात पनि घटेको छ, जसले गर्दा शोधनान्तर स्थितिमा अपेक्षाकृत सुधार हुन नसकेको हो ।

रेमिट्यान्समा सामान्य सुधार
कोभिड–१९ को असर कम भई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि भए पनि रेमिट्यान्स आप्रवाहमा भने सामान्य मात्र सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार पोहोर साउनको तुलनामा यसपालि साउनमा रेमिट्यान्स आप्रवाह २० दशमलव ३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
यसै वर्षको असारको तुलनामा भने रेमिट्यान्स घटेको छ । असारमा १ खर्ब ३ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको थियो । साउनमा अमेरिकी डलरमा रेमिट्यान्स १२ दशमलव ५ प्रतिशतले बढेर ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यो १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या २२२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । वैदेशिक रोजगारीका लागि पुन: श्रमस्वीकृति लिनेको संख्या पनि ७५ दशमलव ४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ ।

विदेशी मुद्रा सञ्चिति घट्यो
आर्थिक वर्षको पहिलो महीनामा विदेशी मुद्रा सञ्चितिसमेत घटेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १ दशमलव ५ प्रतिशतले घटेर साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा साउन मसान्तमा १ दशमलव २ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ । चालू आवको पहिलो महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव ४ महीनाको वस्तु आयात र ८ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

चालू आवको साउनमा आयात १२ दशमलव ९ प्रतिशतले र निर्यात २८ दशमलव ७ प्रतिशतले घटेको छ । परिणामस्वरूप व्यापारघाटा १० दशमलव ४ प्रतिशतले घटेको छ । तर, भ्रमण आय ५६ प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुग्दा भ्रमण व्यय ८३ दशमलव ८ प्रतिशतले बढेर १० अर्ब ५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले बताएको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement