ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

उच्च शिक्षा यात्रा विशेष : व्यवस्थापन शिक्षाको लोकप्रियता बढ्दो

२०७९ भदौ, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पहिलापहिला राजनीतिशास्त्र, अर्थशास्त्रप्रति विद्यार्थी आकर्षित हुन्थे । तर, अहिले समय फेरिएको छ । विद्यार्थीको आकर्षण व्यवस्थापन शिक्षाप्रति बढेको छ । हरेक व्यक्ति मात्र नभई विभिन्न संघसंस्था सफल हुन व्यवस्थापनको आवश्यकता हुने भएकाले कलेजमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने क्रम बढेको अनुमान गर्न सकिन्छ । 

जबसम्म कुनै पनि व्यक्ति वा संस्था व्यवस्थित हुँदैन, तबसम्म त्यहाँ कुनै आर्थिक प्रगति हुँदैन । अहिलेको समयमा आर्थिक उन्नतिबिना जीवनशैली चल्न नसक्ने भएकाले यो हरेक व्यक्तिको प्रगतिसँग जोडिन पुगेको छ । व्यवस्थापन बहुपक्षीय विषय भएकाले पनि यो कुनै एउटा कोरा सिद्धान्त मात्र नभई व्यावहारिक शिक्षा हो । पछिल्लो समयमा सुनिने गरेको गरिखाने शीपमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षाको विकल्पका रूपमा व्यवस्थापन आएको छ । व्यवस्थापन शिक्षा वास्तवमा बहुविषयगत प्रकृतिको हुन्छ । व्यवस्थापकीय शीप जीवनका हरेक मोडमा काम लाग्छ । त्यसैले नै व्यवस्थापन शिक्षाप्रतिको आकर्षण विश्वव्यापीरूपमा बढेको सम्बद्धहरू बताउँछन् । पछिल्लो समयमा विश्वविद्यालय तहमा भर्ना हुने कुल विद्यार्थीमध्ये व्यवस्थापन संकाय रोज्ने विद्यार्थीको संख्या करीब करीब आधाजसो देखिन्छ । इन्जिनियरिङ र मेडिकल शिक्षामा जस्तै व्यवस्थापन विधामा आकर्षण रहेको पाइन्छ । 

नेपालमा अहिले धेरैजसो विश्वविद्यालयले व्यवस्थापन विषयका विभिन्न नामका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्नातक तहमा बीबीए, बीआई, बीसीए, बीएचएम, बीटीटीएम र बीआईएमजस्ता मिश्रित कार्यक्रम सञ्चालित छन् । विभिन्न क्याम्पसहरूमा स्वायत्त शैक्षिक कार्यक्रमअन्तर्गत विभिन्न खालका मौलिक कोर्स पनि सञ्चालन भइरहेको पाइन्छ । व्यवस्थापनसँग सम्बद्ध निर्णय प्रक्रिया, दर्शन, सिद्धान्त, मनोविज्ञान, तिनकाे व्यावहारिक प्रयोग, नयाँ व्यवसायको शुरुआत, सञ्चालनलगायत व्यावहारिक पक्षलाई यसले जोड दिएको हुन्छ । अन्तरराष्ट्रिय स्तरमा वृत्ति विकासको अवसर खोज्नेहरूका लागि अझै हस्पिटालिटी म्यानेजमेन्ट (होटल व्यवस्थापन) विषयको अध्ययन एउटा महत्त्वपूर्ण विधा सावित हुँदै गएको छ । स्वदेशमा मात्र नभई विदेशमा पनि राम्रो पारिश्रमिक पाइने भएकाले होटल व्यवस्थापन पढेकाहरू छोटो समयमै राम्रो पारिश्रमिक कमाउन सफल भइरहेका छन् । 

राम्रो पारिश्रमिक पाउने भएकाले यसप्रति मोह बढाउन उपयोगी भइरहेको छ । यो कोर्षले मानव व्यवस्थापन र उपभोक्ता (ग्राहक) को उत्कृष्ट ढंगले कसरी सामना गर्न सकिन्छ भन्ने शीप सिकाउँछ । यस्तो शीपको उपयोग फराकिलो दायरामा काम लाग्छ । यसबाट विद्यार्थीहरू विशिष्टीकृत व्यावसायिक शीप र ज्ञान प्राप्त गर्न सफल भइरहेका छन् । 

होटल व्यवस्थापनको जोड जुनसुनै क्षेत्रको व्यवसायमा खास गरेर ग्राहक सुविधा र सुरक्षामा केन्द्रित हुन्छ । यसअन्तर्गत विविध विधाका सिद्धान्त, जस्तै– रणनीति, मानव संसाधन व्यवस्थापन, बजारशास्त्र, सप्लाई चेन म्यानेजमेन्ट र लजिस्टिक्सका कुरा समावेश गरिएको हुन्छ ।

व्यवस्थापन शिक्षाको इतिहास

सन् १९५४ मा त्रिचन्द्र कलेजद्वारा सञ्चालित आईकम र बीकमका कक्षाहरूबाट नै नेपालमा व्यवस्थापन शिक्षाको प्रादुर्भाव भएको मान्न सकिन्छ । बीकमको पहिलो कक्षा ४ जनाबाट शुरुआत भएको इतिहास छ । सन् १९८० को दशकमा त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको स्थापना गरेबाट नेपालमा व्यवस्थापन शिक्षाले फराकिलो आकार तयार पारेको छ भन्न सकिने प्रशस्त आधारहरू छन् । कालान्तरमा विश्वविद्यालयको यो कदम नै व्यवस्थापन शिक्षाको आधार तयार गर्न कोसेढुंगा साबित भएको छ, परिणामत: आज हजारौंको संख्यामा विद्यार्थी व्यवस्थापन संकायप्रति आकर्षित छन् । 

शुरुआती दिनहरूमा व्यवस्थापन शिक्षा निकै नै संकुचितरूपमा परिचित थियो । ‘कमर्श’को नामले चिनिने पढाइमा निश्चित सैद्धान्तिक विषयलाई समावेश गरेर वाणिज्य र व्यापारका क्षेत्रलाई मात्र लक्षित गरिन्थ्यो । सम्भवत: साँघुरो घेरालाई मात्र समावेश गरिएर हुन सक्छ, यो संकाय त्यतिबेला दोस्रो दर्जामा मात्र सीमित थियो । निजी कलेजमा समेत व्यवस्थापन शिक्षा उस्तो महँगो छैन । साधारण खर्चले समेत पढाइ पूरा गर्न सकिने र अध्ययनपश्चात् तुलनात्मकरूपमा औसतभन्दा माथिकै अपेक्षाकृत तलबमान र सेवासुविधामा रोजगारीको अवसर प्राप्त हुने भएकाले पनि हाल हाम्रो देशमा व्यवस्थापन शिक्षा आमविद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ । नेपालमा अहिले गुणस्तरीय शिक्षा प्रदान गर्ने आधारमा केही सस्तो र महँगो शुल्क लिने व्यवस्थापन कलेज पनि छन् । कुन कलेज रोज्ने र कति ज्ञान आर्जन गर्ने भन्नेबारे विद्यार्थी आफैले निर्णय गर्न सक्छन् । 

‘कमर्श’को संकुचित नामबाट ‘व्यवस्थापन’ भनिने बेलासम्म आइपुग्दा शैक्षिक संस्थाको संख्या मात्र होइन, व्यवस्थापन शिक्षाकै परिधि, प्रकृति, स्वरूप र दायरा एकदमै फराकिलो भएको पाइन्छ । आजको दिनमा व्यवस्थापन शिक्षा केवल ‘कमर्श’ अर्थात् वाणिज्य र व्यापारका सीमित सिद्धान्तमा अल्झेको छैन । व्यवस्थापन शिक्षाले एउटा व्यापक क्षेत्र ओगटिसकेको छ । व्यवस्थापन शिक्षा हरेक विकासका अवयवहरूको पर्याय बनिसकेको छ । कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, मानव संसाधन विकास, उद्यम विकास, नीति नियम तर्जुमालगायत समग्र अर्थतन्त्र र बजारमा नवीनताको खोजी तथा कार्यान्वयनमा व्यवस्थापनको महत्त्वपूर्ण भूमिका रहेको छ । व्यवस्थापन संकायको मूल उद्देश्य भनेको सैद्धान्तिक ज्ञान प्राप्त गर्नु मात्र होइन, बरु यसले हरेक व्यक्तिमा उचित समयमा उचित निर्णय गर्ने क्षमताको विकास गर्छ । 

व्यवस्थापकीय सिद्धान्तमा सही र गलत भन्ने हुँदैन । विज्ञान र व्यवस्थापनको भिन्नता नै यहीँनेर छ । व्यवस्थापन आवधिक विज्ञान हो, जसमा समय र परिस्थितिअनुसार कुनै पनि कामलाई उचित र अनुचित अर्थात् लाभदायक र हानिकारक भनेर वर्गीकरण गर्नुपर्ने हुन्छ । कुनै पनि कुरा आफैमा निरपेक्षरूपमा सही र गलत हुँदैन । सही र गलत भन्ने कुरा सापेक्ष हुन्छ । हरेक क्रियाकलाप आफ्नो आवश्यकता, वातावरणअनुसार र अन्तिम परिणामको आधारमा उचित र अनुचित हुने गर्छ । 

कुन समयमा कुन क्रियाकलाप गर्ने भन्ने कुराले प्रकारान्तरमा उक्त कार्यको परिणाम सही वा गलत भन्ने कुराको निर्धारण गर्छ । व्यवस्थापन शिक्षाले व्यक्तिमा सही समयमा सही निर्णय लिने क्षमताको विकास गर्छ । यसै कारण यो शिक्षा महत्त्वपूर्ण छ । फलत: व्यवस्थापन संकायप्रति संसारभरि नै आकर्षण बढ्दो छ । सीमित साधन र स्रोतलाई प्रयोग गरेर कसरी नवीन र भिन्न तरीकाले सफल हुन सकिन्छ भन्ने शिक्षा नै व्यवस्थापन शिक्षा हो । विद्यार्थी जीवनपछि व्यवसायमा होस् वा जागीर, कुशल व्यावसायिक क्षमता भएका व्यक्तिहरू नै सफल हुने गर्छन् । व्यवस्थापन शिक्षाको अर्को राम्रो पक्ष भनेको सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्नु हो । अध्ययनपश्चात् तुलनात्मक रूपमा औसतभन्दा बढी तलबमान र सेवासुविधामा रोजगारीको अवसर प्राप्त हुने भएकाले पनि हाल हाम्रो देशमा व्यवस्थापन शिक्षा आमविद्यार्थीको रोजाइमा पर्ने गरेको छ । 

मुलुकको जेठो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयमा आबद्ध ४ लाखभन्दा बढी विद्यार्थीमध्ये आधाभन्दा धेरैको रोजाइ व्यवस्थापन संकाय हुनुले पनि यसको महत्त्व र उपादेयतालाई थप पुष्टि गर्छ । ६ दशकअगाडि व्यवस्थापन भनेकै बीकम हो भन्नुपर्ने अवस्था आज छैन । विश्वविद्यालय अनुदान आयोगको वार्षिक विवरणअनुसार हाल स्नातक तहमा मात्रै व्यवस्थापन संकायअन्तर्गत २० भन्दा बढी कार्यक्रम सञ्चालित छन् र केही थप हुने प्रक्रियामा छन् । पछिल्लो समयमा त्रिविद्वारा अन्तरराष्ट्रिय मापदण्डअनुसार चारवर्षे कार्यक्रममा परिणत गरेर व्यवस्थापन शिक्षालाई अन्तरराष्ट्रिय स्तरमा समेत थप सुदृढ बनाउनुले विद्यार्थीलाई अन्तरराष्ट्रिय बजारमा पनि प्रतिस्पर्धायोग्य बनाइरहेको छ । 

समग्र अन्तरराष्ट्रिय स्थिति र नेपालको परिवेशलाई हेर्दा पनि व्यवस्थापन शिक्षाको भविष्य उज्ज्वल देखिन्छ । तर, व्यवस्थापन शिक्षा पनि आलोचनाबाट मुक्त भने छैन । धेरै सैद्धान्तिक ज्ञानमा जोड दिइएको, शीपमूलकभन्दा सिद्धान्तमा बढी जोड दिएको, मागभन्दा बढी आपूर्ति उत्पादन गरेको जस्ता पक्षमा आलोचना हुने गरेको छ । यस्तो आलोचना आउनुको कारण व्यवस्थापन शिक्षालाई मन पराएकै अर्थमा बुझ्नुपर्छ । धेरै विद्यार्थी र अभिभावक व्यवस्थापन शिक्षा राम्रो हुनुपर्छ भन्ने ठान्ने भएका कारण सुधारका उपाय खोजिरहन्छन् । वास्तवमा यो अत्यावश्यक पनि छ । तथापि पछिल्लो समयमा निजी कलेज मात्र नभई विश्वविद्यालय स्वयंले पनि समयअनुसार आफूलाई ढाल्दै लगेको पाइन्छ । 

समयानुकूल शिक्षा प्रणाली, मागअनुसार कार्यक्रम र विषयगतभन्दा वस्तुगत र सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेको नेपाली व्यवस्थापन शिक्षा संकाय विद्यार्थीको मात्र नभई समग्र देशको शिक्षा क्षेत्रको उज्ज्वल भविष्यका लागि अगाडि बढिरहेको छ भन्न सकिन्छ । त्यसैले जागीर र व्यवसायमा सफलता पाउन अन्य विषय अध्ययन गरेकाले पनि स्नातक वा स्नातकोत्तर तहमा व्यवस्थापन शिक्षा अध्ययन गरिरहेको समेत पाइन्छ । 

सीएको शान 

स्वदेश तथा विदेशका अर्थ बजारमा चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूको बढ्दो मागका कारण नेपालमा पनि सीए अध्ययन गर्ने विद्यार्थी बढ्दै गएका छन् । साढे चारवर्षे कोर्सको सीए अध्ययन अवधिमै विद्यार्थीले आर्थिक आय आर्जन गर्नसक्ने भएकाले पनि यसप्रति आकर्षण बढ्दै गएको कलेज सञ्चालकहरूको भनाइ छ । कक्षा १२ को परीक्षा सकिनासाथ जुनसुकै संकायका विद्यार्थीले पनि सीए अध्ययन गर्न पाउने भएकाले भर्ना सहज छ । परिश्रम र लगनसाथ अध्ययन गर्ने विद्यार्थीलाई साढे ४ वर्षको सीए कोर्सले शीपयुक्त दक्ष तयार हुन्छन् । लेखा, वित्तीय व्यवस्थापन, कर, कानूनलगायत विधामा सीए अध्ययन गरेकाहरू दक्ष हुने भएकाले उनीहरूले परामर्शदाताका रूपमा पनि काम गर्न सक्छन् । नेपालमा सीए पढ्ने बढ्न थालेपछि सरकारले यससम्बन्धी शिक्षाको कोर्स व्यवस्था गरी परीक्षा सञ्चालन व्यवस्थापन, नतीजा प्रकाशन, कक्षा सञ्चालन अनुमति, लेखा व्यवसायीलाई नियमन गर्न २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) स्थापना गरेको थियो । 

त्यसअघि सीए पढ्न नेपाली विद्यार्थी विशेषगरी भारत जान्थे । नेपालमा अन्तरराष्ट्रिय मापदण्डमै सीए कोर्स बनाएर पठनपाठन भइरहेको छ । नेपालमा उत्पादित सीए विश्वबजारमा सहजै बिक्ने गरेको बताइन्छ । सीए पासपछि विद्यार्थी अडिट र जागीर गरी दुई फिल्डमा जान सक्छन् । प्लस टू पास गरेका विद्यार्थीले सीएमा भर्ना पाउँछन् । भर्नाको पहिलो ६ महीना आधारभूत कोर्स पढ्नुपर्छ । यसलाई क्याप १ तह (चार्टर्ड एकाउन्टेन्सी प्रोफेशनल) भनिन्छ । यो अवधिमा विद्यार्थीले सामान्यतया चार्टर्ड एकाउन्टेन्ट शिक्षा शुरुआत गर्छन् । दोस्रो ९ महीनाको क्याप २ तह हुन्छ । मध्यम तहमा विद्यार्थीले भर्ना हुन क्याप १ तह अनिवार्य पास गर्नुपर्छ । विद्यार्थीले क्याप १ र क्याप २ को अध्ययन अवधिमा सैद्धान्तिक ज्ञान प्राप्त गर्छन् । सीएको अन्तिम तह क्याप ३ हो । क्याप ३ मा विद्यार्थीले सम्बद्ध क्षेत्रमा तालीमसहित अध्ययन गर्नुपर्छ । यसलाई आर्टिकलशीप ट्रेनिङ भनिन्छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement