ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

उच्च शिक्षा यात्रा विशेष : सूचना र प्रविधिमा धेरै सम्भावना

२०७९ भदौ, ३१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समयमा नेपालमा देखिएको सम्भावना सूचना र प्रविधिमा हो । खासगरी नेपालमा उत्पादन हुने सफ्टवेयर विदेशी कम्पनीले खरीद गर्न थालेपछि सूचना र प्रविधिमा अध्ययन गर्ने विद्यार्थीको संख्या मात्र बढेको छैन, त्यस्तो अध्ययन गरेका विद्यार्थीले पाउने पारिश्रमिक आकर्षक रहेको सम्बद्धहरू बताउँछन् । इन्फर्मेसन टेक्नोलोजी (आईटी) तथा सफ्टवेयर बिजनेशमा अलि मेहनत गर्ने हो भने विदेशी मुद्रा आयातका लागि निकै सफलता मिल्ने उनीहरूको भनाइ छ । 

कुनै समय यस्तो थियो कम्प्युटर खरीद गर्दा पैसा खेर गयो भनिन्थ्यो । बैंकहरूले समेत कम्प्युटर प्रयोग गरेका थिएनन् । नेपालमा एउटा राष्ट्रिय कम्प्युटर केन्द्र थियो, जहाँ भित्र पस्दा जुत्ता खोल्नुपथ्र्यो । त्यहाँबाट शुरू भएको नेपालको यात्रा अहिलेको इन्फर्मेसन टेक्नोलोजीलाई नै देशको अर्थतन्त्रको मेरूदण्डका रूपमा लिने अवस्थासम्म आएको छ । तर, नेपालले आईटीको विकास गर्ने मामलामा धेरै अवसर गुमाइसकेको छ । छिमेकी भारतको बैंगलोर आईटी हबका रूपमा विकास भयो । तर, हामीले आईटीमा आएका धेरै अवसरको उपयोग गर्न सकेका छैनौं ।

नेपालमा निजीक्षेत्रको मुख्य सक्रियतामा आधार तयार भएको यो क्षेत्रलाई राज्यले आर्थिक स्रोतका रूपमा लिन सक्नुपर्छ । पछिल्लो १० वर्षमा आईटीमा राम्रो प्रगति भएको छ । कैयौं मान्छे आईटी क्षेत्रमा आबद्ध भएर काम गरिरहेका छन् । कसैले संस्थागत रूपमा काम गरेका छन् त कसैले व्यक्तिगत रूपमा । घरघरमा बसेर आईटीका प्रडक्ट निर्माण र निर्यात गरेका छन् । यो वास्तविक तथ्यांकमा आउन नसके पनि सत्य हो । विदेशी तथा बहुराष्ट्रिय कम्पनीले काठमाडौंमै हजारौं मान्छे राखेर काम गरिरहेका छन् ।

नीति र तथ्यांकको अभाव

नेपालमा यस्ता सफ्टवेयरको कारोबार कति छ भन्ने यकिन तथ्यांक भने छैन । कम्प्युटर तथा टेली इक्विपमेन्ट निर्यातको डेटा भए पनि सफ्टवेयर सेवाक्षेत्रमा पर्ने भएकाले छुट्टै रेकर्ड नभएको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पौडेल बताउँछन् । नेपालबाट सफ्टवेयर सेवाका रूपमा बाहिरिने भएकाले त्यसबाट आउने रकममा यसको ठूलो अंश रहेको उनको भनाइ छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवरका अनुसार नेपालमा नियामक निकाय नहुँदा यसको वास्तविक तथ्यांक छैन । नेपाली सफ्टवेयर डेभलपर सन्तोष ताम्राकार आईटी कम्पनीहरूलाई अन्तरराष्ट्रिय बजारमा जान सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘प्रविधि जहिले पनि नियमभन्दा अगाडि हुन्छ, पहिला चारपांग्रे गाडी ल्याउने बेलामा पनि नियम थिएन । किनकि त्यसबेला घोडागाडी मात्र थिए । यहाँ मात्र होइन, अन्य देशमा पनि त्यस्तै हो । आईटी कम्पनीलाई अन्तरराष्ट्रिय बजारमा जान सरकारको सहयोग हुनुपर्छ । सरकार हाम्रो अभिभावक हो,’ उनले भने, ‘सरकारले अमेरिकाबाट ग्राहकै खोजेर ल्याएर दिने त होइन तर अमेरिकामा गएर कार्यालय खोल्न सक्छौ भनेर नीति ल्याउन सक्छ नि ! यस्तो सहयोग हुनुपर्छ ।’

५ वर्षमै विप्रेषणको विकल्प बन्न सक्छ सफ्टवेयर निर्यात 

नेपाली अर्थतन्त्रको एउटा खम्बा हो, विप्रेषण । नेपालले निर्यातबाट नभई विप्रेषणबाट विदेशी मुद्राको जोहो गरेको धेरै वर्ष भयो । विप्रेषण आप्रवाह घटिरहेका बेला नेपालमै बसेर विप्रेषण र डलर भित्र्याउने अबको स्रोत भनेको सफ्टवेयर बिजनेश नै भएकाले राज्यले बेलैमा यसलाई चिन्नुपर्ने ताम्राकार बताउँछन् । ‘सरकारले सहजीकरण गरोस् । १ प्रतिशत मात्रैको कुरा छ, त्यो प्रमोट गर्ने कोसिस नै होला । हाम्रो जस्तो कम्पनीले भारतबाट सालमै २–३ करोड ल्याउँछ । नेपालमा यस्ता कम्पनी धेरै छन् । अबको ५ वर्षपछि नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि सफ्टवेयर कम्पनी नै हुन्छन्,’ उनले भने । 

सरकारले स्वदेशी आईटी कम्पनीलाई विश्वासै गरेन 

सरकारले नेपाली कम्पनीलाई विश्वास नै नगरेको आईटी व्यवसायी सञ्जय गोल्छा बताउँछन् । ‘सरकारले स्वदेशी आईटी कम्पनीलाई विश्वास नै गरेन, ट्रस्ट डेफिसिट छ,’ उनी भन्छन्, ‘हामी पनि अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने थियौं । तर, स्वदेशी कम्पनीले गर्न सक्दैन भन्ने सोच सरकारको छ ।’
धेरै नेपालीले अन्तरराष्ट्रिय स्तरमा विश्वास पाइरहँदा नेपालमा आएका धेरैजसो विदेशी कम्पनीले गरेका काम असफल भएका पनि प्रशस्तै उदाहरण छन् । ड्राइभिङ लाइसेन्सकै प्रोजेक्ट हेर्दा स्पष्ट हुने उनको भनाइ छ । नेपालले बहुराष्ट्रिय कम्पनीहरू पनि ल्याउन सक्नुपर्ने उनको तर्क छ । विदेशीले व्यवस्थापन कौशल ल्याउने र प्राविधिक शीप नेपालमै रहेको उनको भनाइ छ ।

अध्यक्ष कुँवर भने अन्तरराष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने भएकाले विदेशी कम्पनी ल्याउनुभन्दा नेपाली कम्पनीलाई नै जिम्मा दिनुपर्ने तथा सरकारलाई आवश्यक पर्ने सफ्टवेयर विकास गर्न लगाउनुपर्ने बताउँछन् ।

नेपालमा सरकारी तथा निजीक्षेत्रमा समेत विदेशी सफ्टवेयर ल्याइएको र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको छ । त्यो आयात रोक्न र विदेशी मुद्रा आयात गर्न नेपाली इन्जिनियर तथा डेभलपर सक्षम रहेको कुँवर बताउँछन् ।

नेपालमा पनि उच्चस्तरको आईटीसम्बन्धी ज्ञानको आधार बन्न आवश्यक छ । माथिल्लो तहलाई तयार गराउनुपर्छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कोर्स भइरहेका छन् । अमेरिका गएका नेपाली पनि फर्केर यहीँ काम गरिरहेका छन् । क्षमतावान् जनशक्तिको विकास पनि भइरहेको यस क्षेत्रमा आबद्ध व्यक्तिहरू बताउँछन् ।

गुगल, माइक्रोसफ्टजस्ता विश्वका ठूला कम्पनीलाई नेपालमा डेटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्ने गोल्छा बताउँछन् । ‘गूगल, माइक्रोसफ्टजस्ता कम्पनीलाई नेपालमा डेटा सेन्टर राख्न प्रोत्साहन गर्नुपर्छ । आईटीमा डेटा सेन्टर निकै महत्त्वपूर्ण हुन्छ । त्यसका लागि जलविद्युत् र चिसो पानी चाहिन्छ । र, हामी कहाँ यी दुवै चीज छन् । यो आर्थिक उपार्जनको विषय हो,’ उनी भन्छन्, ‘यसैगरी स्वास्थ्य, कृषिलगायत थुप्रै क्षेत्रमा सूचना प्रविधिको विकास भइसकेको छ । ती ल्याउन सके अझै राम्रो हुन्छ ।’

प्राविधिक रूपमा सक्षम, मार्केटिङ स्किल छैन 

नेपाली डेभलपरहरू प्राविधिक रूपमा सक्षम भए पनि अन्तरराष्ट्रिय स्तरमा मार्केटिङ गर्न सक्ने दक्षता नभएको विज्ञ बताउँछन् । गोल्छाका अनुसार नेपालमै सफ्टवेयर बन्छ तर सहजै अन्तरराष्ट्रिय बजारमा बेच्न सक्ने अवस्थामा पुगिएको छैन । प्राविधिक रूपमा त्यो स्तरमा पुगे पनि मार्केटिङ दक्षता छैन, पहुँच छैन । 

नेपालमा सफ्टवेयरभन्दा पनि डेटामा बाहिरको काम धेरै भइरहेको इन्जिनीयर हिमाल रावल बताउँछन्  । ‘नेपालमा सफ्टवेयरभन्दा पनि डेटामा बाहिरको काम धेरै छ । म पनि त्यही गरिरहेको छु । नेपालमा पनि एकदमै राम्रा इन्जिनीयर छन्, जसले धेरै राम्रो सफ्टवेयर बनाउन सक्छन् । अर्थतन्त्रमा गतिलो योगदान दिन सक्छन्,’ उनी भन्छन् ।

नेपालीले निर्माण गर्ने सफ्टवेयरमा डेटासम्बन्धी बढी छन् । भनिन्छ, ‘डेटा इज द फ्युचर फ्युल’ । त्यसैले विदेशको होस् या नेपालको, यहाँ यसको राम्रो प्रोसेसिङ भइरहेको छ । त्यो डेटाको भित्री मूल्य कसरी सृजना गर्ने भन्ने कुरामा नेपालमा धेरै विज्ञ भइसकेका छन् ।

स्वदेशी र विदेशी प्रडक्टको तुलना गरेर भन्ने हो भने विदेशी बजारमा प्याकेज सफ्टवेयर छन् । बजारमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्मको प्याकेज सफ्टवेयर छन् । नेपालमा राम्रो पैसा नहुँदा इन्जिनीयरहरूले सफ्टवेयर बनाएर विदेशमा विक्री गरिरहेका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement