ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

जेफ बेजोसलाई उछिनेर गौतम अदानी बने विश्वकै दोस्रो धनाढ्य

२०७९ भदौ, ३१  
अन्तरराष्ट्रिय
Image Not Found

नयाँ दिल्ली (भारत) । भारतीय खर्बपति व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम डेटाअनुसार १ खर्ब ५५ अर्ब डलरभन्दा धेरै नेटवर्थसहित अदानी ग्रुपका अध्यक्ष अदानीले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका जेफ बेजोसलाई उछिनेर विश्वकै दोस्रो धनी व्यक्ति बनेका हुन् ।

उनी अहिले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्कभन्दा पछाडि छन् । मस्कको नेटवर्थ २ खर्ब ७३ अर्ब ५० करोड डलर छ । अदानी ग्रुपकाे शेयरहरूको भाउमा भएको तीव्र वृद्धिसँगै अदानीको नेटवर्थ पनि अकासिएको छ । १६ सेप्टेम्बरसम्ममा उनको नेटवर्थ १ खर्ब ५५ अर्ब ७० करोड डलर छ ।

यो अघिल्लो दिनको तुलनामा करीब ४ प्रतिशत अर्थात् ५ खर्ब ५० करोड डलर धेरै भएको बताइएको छ । शुक्रबार बिहानी कारोबारमा बीएसईमा अदानी ग्रुपअन्तर्गतका अदानी इन्टरप्राइजेज, अदानी पोर्ट र अदानी ट्रान्समिशनको शेयर मूल्य कीर्तिमानी उचाईमा पुगेका थिए ।

यस वर्षको अहिलेसम्मको अवधिमा अदानीको सम्पत्ति ७० अर्ब डलरभन्दा धेरैले थपिएको छ । फेब्रुअरीमा उनले अर्बपतिको सूचीमा भारतका अर्का अर्बपति व्यापारी मुकेश अम्बानीलाई उछिनेका थिए । अप्रिलमा उनी खर्बपति बनेका थिए भने गत महीना अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेर विश्वकै चौथो धनी व्यक्ति बनेका थिए ।

अदानी पोर्ट भारतको सबैभन्दा ठूलो बन्दरगाह सञ्चालक कम्पनी हो । अदानी समूहको स्वामित्वमा भारतको सबैभन्दा ठूलो थर्मल कोइला उत्पादक र ठूलो कोइला व्यापार पनि छ । सन् २०२१ को मार्चमा सकिएको त्रैमासमा अदानी इन्टरप्राइजेजले ५ अर्ब ३० करोड डलर आम्दानी गरेको थियो ।

अदानीले विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा उत्पादक बन्ने चाहना राखेका छन् । केही समयअगाडि उनले नवीकरणीय ऊर्जा परियोजनामा ७० अर्ब डलरसम्म लगानी गर्ने बताएका थिए । अहिले अदानी इन्टरप्राइजेज, अदानी पावर र अदानी ट्रान्समिशनमा उनको झन्डै ७० प्रतिशत स्वामित्व छ ।

अदानी टोटल ग्यासमा ३७ प्रतिशत, अदानी पोर्ट्स एन्ड सेजमा ६५ प्रतिशत र अदानी ग्रिन इनर्जीमा पनि उनको ६१ प्रतिशत शेयर छ । रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी ९२ अर्ब ३० करोड डलर नेटवर्थसहित विश्वव्यापी धनाढ्यको सूचीमा आठौं स्थानमा छन् । एजेन्सी 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement