ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

२५ मेवाको माथिल्लो दोर्दी ‘ए’ को निर्माण सम्पन्न, यो साता उत्पादन परीक्षण गर्ने तयारी        

२०७९ असोज, १  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

लमजुङ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ ।

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट(मेवा) क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो । आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेको जानकारी दिंदै एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेकोबताए।

नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाँका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण शुरु गर्ने आयोजनाले बताएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै जोडिने भएको छ । आयोजनाको पेनस्टक पाइपमा र टनेलमा पानी भर्ने, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएकामा मर्मतलगायत सबै काम सम्पन्न भएको प्रवर्द्धक बस्तीको भनाइ छ।     
     
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा झारिने छ । यसको सफल परीक्षणसमेत भइसकेको छ । उक्त आयोजना ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख पुग्ने आयोजनाले बताएको छ ।

उक्त आयोजना विसं २०७१ देखि निर्माण गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको थिएन ।   सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक - पटक म्याद थप गर्दै आइएको थियो ।

यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवर्द्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरण बीच विद्युत् खरीदविक्री सम्झौता(पीपीए) भएको छ ।  आयोजनाबाट १२ दशमलव ५ प्रतिशतका दुई ओटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement