ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सातामा करीब ७ अर्बको धितोपत्र खरीदविक्री, ३४ अर्ब ६० करोडले घट्यो कुल बजार पूँजीकरण

२०७९ असोज, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भदौ महीनाको अन्तिम साता धितोपत्र दोस्रो बजारमा रू. ६ अर्ब ९८ करोड ९० लाखभन्दा बढीको धितोपत्र खरीविक्री भएको छ । 

गत साताको तुलनामा यो साता कारोबार रकम रू. १ अर्ब ९४ करोड ६१ लाखभन्दा बढीले वृद्धि भएको हो । गत साता रू. ५ अर्ब ४ करोड २९ लाखभन्दा बढीको धितोपत्र खरीदविक्री भएको थियो । कारोबार रकमसँगै यो साता कारोबार कित्ता पनि बढेको छ ।

गत साता १ करोड ४८ लाख ७६ हजार १४६ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता ७८ लाख ८३ हजार ९९७ कित्ता बढी २ करोड २७ लाख ६० हजार १४३ कित्ता धितोपत्र खरीदविक्री भएको हो । 

गत साता पाँच कारोबार दिन खुलको बजार यो साता ६ कारोबार दिननै खुलेको हो । कारोबार दिन बढी भएकाले यो साता कारोबार रकम र कित्ता समेत बढेको देखिन्छ । आगामी सातादेखि भने शुक्रवारको कारोबार हट्ने भएकाले पाँच कारोबारदिनलेनै निरन्तरता पाउनेछ । 

कारोबार रकम बढेपनि यो साता नेप्से परिसूचक भने २७ दशमलव ३६ अंक तल झरेको छ । बजारमा विक्री चाप बढी हुँदा नेप्से परिसूचकमा नकारात्मक असर परेको हो । गत साताको अन्तिम कारोबार दिन १ हजार ९३७ दशमलव ७४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १ हजार ९१० दशमलव ३८ विन्दुमा बन्द भएको हो ।

६ कारोबार दिनमा यो साता नेप्से परिसूचक दुई कारोबार दिन बढेको छ भने चार कारोबार दिन घटेको छ । साताको पहिलो कारोबार दिन ११ दशमलव ४६ अंक र दोस्रो दिन १३ दशमलव ५४ अंक बढेको नेप्से परिसूचक तेस्रो दिन २१ दशमलव ३० अंक र चौथो दिन ४७ दशमलव ४४ अंक बढेको हो ।

पछिल्ला दुई कारोबार दिन पाँचौ दिन ५७ अंक र छैठौं दिन १४ दशमलव १० अंक घटेर बजार बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि गत साता ३७६ दशमलव ८४ विन्दुमा रहेकोमा यो साता ४ दशमलव ९४ अंक घटेर ३७१ दशमलव ९० विन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटेसँगै सूचीकृत कम्पनीहरूको शेयरमूल्य घट्दा कुल बजार पूँजीकरण रू. ३४ अर्ब ६० करोड २१ लाखले घटेको छ । गत साता रू. २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २७ खर्ब ४४ अर्ब ८८ करोड ३५ लाखमा खुम्चिएको हो ।

लामो समयदेखि घटेको बजार सुधारिन खोजिरहेको अवस्थामा बैंकहरूको ब्याजदरसँग सम्बन्धीत समाचारले पुनः असर गरेको हो । बैंकहरूले गत फागुन महिनादेखि ब्याजदरमा गरेकोे भद्र सहमति तोड्ने निर्णय गरेसँगै धितोपत्र दोस्रो बजारमा असर देखिएको हो । विगत ६ महीनादेखि स्थिर रहेको बैंकहरूको ब्याजदर असोज महीनामा भने बढेको छ । 
बैंकहरूले १ प्रतिशत विन्दुभन्दा बढीले ब्याजदर बढाएका हुन ।

धितोपत्र दोस्रो बजार र बैंकको ब्याजदरबीच उल्टो सम्बन्ध रहदै आएको विगतको इतिहासलाई सम्झेर लगानीकर्ता आत्तिको बताउँछन् । यतिबेला आफ्नो लगानीको प्रतिफल भित्र्याउने समय भएकाले संयम भएर धैर्य गर्न समेत अनुभवि लगानीकर्ताहरूले सुझाब दिएका छन् । 

गत साता सर्वाधिक गुमाएका व्यापारिक समूहले यो साता सर्वाधिक कमाए 
यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू घट्दा व्यापारिक समूहको उपसूचक मात्र बढेको छ । गत साता सर्वाधिक घटेको व्यापारिक समूहको उपसूचक यो साता १ दशमलव ५५ प्रतिशत बढेको हो ।

यो साता जलविद्युत् समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । जलविद्युत समूहको उपसूचक सर्वाधिक ४ दशमलव ११ प्रतिशत घटेको छ । योसँगै लगानी समूहको २ दशमलव २१ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव २० प्रतिशत, लघुवित्तको २ दशमलव शून्य ७ प्रतिशत, अन्यको १ दशमलव ७२ प्रतिशतले घटेको छ ।

त्यसैगरी निर्जीवन बीमाको १ दशमलव ६९ प्रतिशत, विकास बैंक १ दशमलव ६८ प्रतिशत, वित्तको १ दशमलव ३६ प्रतिशत, जीवन बीमा शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५ प्रतिशत, म्युचुअल फण्ड शून्य दशमलव ३५ प्रतिशत र बैंकिङ्ग समूहको शून्य दशमलव ३० प्रतिशत उपसूचक घटेको छ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement