ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एक महीनामा ४७ सय रूपैयाँले घट्याे सुनकाे भाउ, किन घट्दैछ ?

२०७९ असोज, १  
बजार समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लाे एक महीनामा सुनकाे भाउ ताेलामा ४ हजार ७०० रूपैयाँले घटेको छ । भदाैकाे शुरुवातमा गिरावट आएकाे सुनकाे भाउ महीनाकाे अन्त्यमा झनै ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

गत भदाै १ गते तोलाको ९६ हजार २०० रूपैयाँमा कारोबार भएको सुन महीनाकाे अन्तिम दिन गत शुक्रवार ९१ हजार ५०० रूपैयाँ ताेकिएकाे छ । भदाै पहिलाे साता ताेलामा १२ सय रूपैयाँ घटेर ९५ हजार रूपैयाँमा झरेकाे थियो । दोस्रो सातामा भने सुनकाे भाउ ८०० रूपैयाँ बढेकाे थियाे । सो अवधिमा सुनकाे भाउ ९५ हजारबाट बढेर ९५ हजार ८०० रूपैयाँसम्म पुगेको थियो । त्यसपछि फेरि सुनको मूल्य ओरालो लागेको थियो । 

भदाै अन्तिम साता पनि सुनकाे मूल्य लगातार ओरालाे लागेकाे थियाे । साताको पहिलो दिन (गत भदाै २६) मा ९३ हजार ९०० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार (भदाै ३१) मा ९१ हजार ५०० मा झरेकाे थियाे । 

सुनकाे मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेकाले नेपालमा पनि घटेकाे व्यवसायी बताउँछन् । गत मार्चमा उच्च विन्दुमा हुँदा प्रतिऔंस २०५० डलर पुगेको सुनको भाउ अहिले १९ प्रतिशतले घटेर प्रतिऔंस १६५४ डलर आसपास पुगेको छ । विश्व बजारमा सुनको भाउ घटेर दुई वर्षयताकै न्यून स्तरमा ओर्लिएको छ । 

किन घट्दैछ भाउ ?

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा उच्च वृद्धि गर्नु पर्ने अपेक्षा बलियो बनेसँगै सुनको भाउ घटेको हो । सुनसँग विपरीत सह–सम्बन्ध ठानिएको डलर मजबूत हुँदा पनि सुनको भाउ दबाबमा आएको हो । 

सुनको मूल्य घटे पनि कारोबार भने त्यति उत्साहजनक नभएको रिद्धिसिद्धि ज्वलैर्सका कर्मचारी रावन अधिकारीले बताउँछन् । ‘सुनकाे मूल्य दैनिक घटिरहेकोले अझै घट्ने आशामा ग्राहक कुरिरहेका छन्,’ उनी भन्छन्, ‘त्यही कारण चाडवाड शुरु भइसक्दा पनि यो वर्ष सुनकाे व्यापार त्यति हुन सकेकाे छैन ।’ 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement