ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ऐतिहासिक ढुङ्गेधारा राइतिको जीर्णोद्धार सम्पन्न

२०७९ असोज, १  
बागमती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

दोलखा । दोलखामा रहेको ऐतिहासिक ढुंगेधारा राइतिको जीर्णोद्धार सम्पन्न भएको छ । बाग्मती प्रदेश सरकारको अनुदान तथा स्थानीय सहभागितामा ऐतिहासिक ढुंगेधाराको जीर्णोद्धार सम्पन्न भएको हो ।

बाग्मती सरकार खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गतको खानेपानी महाशाखामार्फत प्राप्त ५० लाख रुपैयाँ तथा स्थानीयबाट ५ लाख श्रमदानसहित ५५ लाख रुपैयाँको लागतमा जीर्णोद्धारको काम सम्पन्न भएको खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । जीर्णोद्धारको काम खानेपानी उपभोक्ता तथा सरसफाई समितिले गरेको उनको भनाइ छ । 

किराँत कालमा स्थापना गरिएको मानिने राइतिको दीर्घकालिन संरक्षणकालागि खानेपानी उपभोक्ता तथा सरसफाई समिति, भीमेश्वर नगरपालिका-  २, दोलखाले प्राचिन ढुंगेधारा संरक्षण समिति गठन गरी नियमित सरसफाई र संरक्षणकालागि २ लाख ५० हजार रुपैयाँको अक्षय कोषको समेत व्यवस्था गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

राइतिमा रहेका तीन ओटा धारामध्ये बीचमा ठूलो धारा रहेको छ भने दुई ओटा धारा मकर आकारका रहेका छन् । धाराको विभिन्न भागहरुमा बराह, हनुमान, कृष्ण, नरसिंह नारायणका प्राचिन मुर्तिहरु रहेका छन् । सरस्वतीको मुर्ति भने हराएकोले नयाँ निर्माण गरिएको छ । साथै झिंगटीले छाएको एक आकर्षक पाटी पनि पुरातात्विक शैलीमा निर्माण गरिएको छ । 

राइतिमा रहेका प्राचिन मुर्तिहरु हेर्दा यी किराँतकालिन मुर्ति रहेको भन्न सकिने स्थानीय तिर्थ नारायण जोशीको भनाइ छ ।  मल्लकालमा राजाहरुले स्नानगर्ने भएकोले यसलाई राजहिटी समेत भनिने गरेको उनको भनाइ छ । तत्कालिन दोलखा राज्य रहँदा राइति नजिकै रानीमह समेत रहेको उनले बताए ।

रानीमहल भने पछि गएर ध्वस्त भएको उनले बताए । दोलखाका महत्वपूर्ण चाडपर्बहरुमा राईतिको पानी नै प्रयोग गर्नुपर्ने मान्यता रहि आएको छ । राइतिको जीर्णोद्धार पछि अब दोलखामा रहेका अन्य ऐतिहासिक ढुङ्गे धाराहरुको पनि जीर्णोद्धारको काम शुरु भएको दोलखाका समाजिक अगुवा अनिल श्रेष्ठको भनाइ छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement