ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपालले स्वाधीन अर्थतन्त्रको परिकल्पना गरेको छ ?

आत्मनिर्भरताका आधार केही प्रमुख क्षेत्र

२०७९ असोज, २  
लेख | दृष्टिकोण
Image Not Found
author avatar कमलराज ढुंगेल

१० वर्षे युद्धको अवशेष र खुल्लमखुल्ला भ्रष्टाचारले नेपालको अर्थतन्त्रलाई धराशयी बनाइरहेको छ । नेपालीहरूको आर्थिक अवस्था दिन परदिन अझ ओरालो लागिरहेको छ । नेपालमा राजनीतिक स्थिरता हुन सकेको छैन । मन्त्रीहरूको त कुरै छोडौं प्रधानमन्त्री हुने पनि आलोपालो । देश विकासका लागि न कसैसँग चिन्तन छ न प्रतिबद्धता नै । सन् १९२० को मे महीनामा भारतका प्रधानमन्त्री मोदीले भारतीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अभियान चलाए । यो अभियानको सफल कार्यान्वयनका लागि आवश्यक धनराशीको पनि व्यवस्था गरे । यो उद्देश्य प्राप्तिका लागि भारतले युद्धस्तरमा कार्य गरिरहेको छ । यो प्रयत्नको परिणाम पनि हुन सक्छ, २ वर्षमा नै भारतले अर्थतन्त्रको आकारको आधारमा विश्व सूचीमा आफ्नो स्तर उकासेको छ । १ दशकअगाडि भारतको अर्थतन्त्र एघारौं स्थानमा थियो, २०२२ मा पाँचौं स्थानमा पुग्न सफल भएको छ । यो सफलता पनि आत्मनिर्भर अर्थतन्त्रको अभियानमा भएको प्रगतिको एउटा पाटो हुन सक्छ । प्रधानमन्त्री मोदीको आत्मनिर्भरताको बाटो नेपालले समात्ने हो भने नारा र भाषण होइन, कामले देखाउन सक्नुपर्छ । कुन क्षेत्रको विकासले सकारात्मक परिणाम दिन सक्छ, त्यसको पहिचान गरी त्यसको विकासका लागि वित्तीय स्रोतको व्यवस्था गर्नुपर्छ । पहिचान गरिएका क्षेत्रहरूको विकासका लागि सरकारी नेतृत्व तहमा स्वच्छ छवि र उच्च नैतिकता भएको व्यक्तिको आवश्यता पर्छ । यसमा त्याग, तपस्या, प्रतिबद्धता, इमानदारी र निष्पक्षताको अझ बढी आवश्यकता पर्छ । नेपालमा जसले देशको विकास गर्ने जिम्मा लिएका छन् उनीहरू नैतिकता र मनोबलमा दरिद्र छन् । अन्य कुरालाई यथावत् राखी देशभित्र भइरहेको भ्रष्टाचारलाई मात्र रोक्न सके पनि देशले राहत पाई विकासको गतिमा अघि बढ्नेछ । यी कुरामा विचार पुग्न सके कुन क्षेत्रको विकासले नेपाललाई दीर्घकालीन लाभ दिन सक्छ त्यसको पहिचान हुन सक्छ । मेरो विचारमा नेपालमा विकासका लागि पर्खिरहेका पाँच क्षेत्र छन्, जसको उचित विकासले नेपाललाई आत्मनिर्भर बनाउन सक्छ ।

जलविद्युत्को विकास गरी मधेशका खेतीयोग्य फाँटहरूमा सिँचाइ उपलब्ध गराउन किसानलाई विनाशुल्क बिजुली उपलब्ध गराउन जरुरी छ ।

जलविद्युत्
नेपालमा आर्थिक र प्राविधिक हिसाबले ४० हजार मेगावाट जलविद्युत्को उत्पादन गर्न सकिन्छ ।  सरकारले अन्धाधुन्ध तरीकाले आन्तरिक र बाह्य दुवै कम्पनीलाई राज्यभर छरिएर रहेका विभिन्न जलविद्युत् आयोजनाको निर्माणका लागि इजाजतपत्र वितरण गरिरहेको छ । यी कम्पनीले इजाजतपत्र हातमा राखेर पसल थापिरहेका छन् । यस प्रकारका कम्पनीसँग न आर्थिक सम्पन्नता छ न प्राविधिक सबलता । यी कम्पनीले निश्चित समयका लागि यी आयोजना मुठीमा राखेर बसिरहेका छन् । सरकारले जलविद्युत् क्षेत्रको विकासका लागि अक्षम कम्पनीहरूलाई वितरण गरेको इजाजतपत्र खारेज गरी ती आयोजनाहरूको निर्माण गर्नुपर्छ । नेपालले जलविद्युत्को विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सक्छ । जलविद्युत्को विकास गरी बिजुली निर्यात गरौं भन्ने तथ्यलाई साकार पार्न नेपालले संकल्प नै गर्न सक्नुपर्छ । यसका अतिरिक्त कृषिको विकासका लागि जलविद्युत्को विकास अपरिहार्य छ । बिजुलीको सहायताले पानी तान्ने पम्पहरूको सञ्चालन हुन सक्छ । यसबाट किसानलाई सिँचाइको सुविधा उपलब्ध गराउन सकिन्छ ।

पर्यटन
विविध जातजाति, संस्कृति, परम्परा, धार्मिक स्थल र विविध प्रकारले बनेको भूबनोट, हावापानी, तालतलैया, नदीनाला र हिमालहरू वरदान हुन सक्छ, पर्यटन व्यवसायका लागि । नेपालले आत्मनिर्भर हुन पर्यटन व्यवसायको विकासलाई प्राथमिकतामा राख्नुपर्छ । पर्यटन क्षेत्रको विकासले विश्वका धनाढ्यहरूको भ्रमण गर्ने गन्तव्य नेपाल बन्न सक्छ । नेपाललाई भ्रमण गर्ने गन्तव्य स्थल बनाउन इमानदारीका साथ मेहनत गर्नुपर्छ । यसको विकासले नेपालमा होटेलहरूको विकास हुन्छ । हवाई सेवाको विस्तार भई वायुसेवा उद्योगको विकासमा सघाउ पुर्‍याउँछ । रोजगारीका अवसरहरू सृजना हुन्छ । सरकारी राजस्वमा वृद्धि हुन्छ । यो विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्न सक्छ । त्यसैले पर्यटन क्षेत्रको विकासका लागि नेपालले इमानदारीका साथ प्रयत्न गर्न सक्नुपर्छ ।

कृषि
नेपालले आत्मनिर्भरताको कल्पनालाई साकार बनाउन कृषिक्षेत्रको विकास गर्न प्रयत्न गर्नुपर्छ । कृषि उपजमा आत्मनिर्भर हुँदा मात्र आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गर्न सकिन्छ । कृषि उत्पादनलाई विशिष्टीकरण गरेर निर्यात गर्न नसके पनि नेपाल कृषि उपजमा आत्मनिर्भर हुन सक्छ । पहाड र हिमाली क्षेत्र मासु, दुग्धपदार्थ र फलपूmल उत्पादनका लागि अत्यन्त उर्वर छ । तर, आजभोलि कृषि उपजका लागि उपयुक्त स्थल हिमाली र पहाडी क्षेत्र उजाड हुन पुगेका छन् । पहाडी क्षेत्रका खाद्यान्न उत्पादनका लागि योग्य भूमिहरू बाँझिन पुगेका छन् । स्थानीय बासिन्दा पलायन भइरहेका छन् । गाईबस्तु, बाख्रापालनका लागि बन्ने गोठहरू लोप भइरहेका छन् । ३–४ दशकअगाडि मासु, दुग्धपदार्थ र नगन्य मात्रामा भए पनि फलपूmलको आपूर्ति गर्दै आएको हिमाली र पहाडी क्षेत्र आज उजाड हुन पुगेको छ । त्यस्तै गरेर मधेशका फाँटहरू खाद्यान्न उत्पादनमा अब्बल छन् । सिँचाइको अभावले वर्षमा तीन बाली लगाउन सकिने फाँटहरू एक बालीमा खुम्चिरहेका छन् । नेपालको जनसंख्यालाई आवश्यक खाद्यान्नको मागलाई मधेशका उर्वर फाँटहरूमा हुने खाद्यान्न उत्पादनले सम्बोधन गर्न सक्छ । त्यसका लागि सिँचाइ सुविधा हुन जरुरी छ । माथि नै उल्लेख गरिएको छ कि जलविद्युत्को विकास गरी मधेशका खेतीयोग्य फाँटहरूमा सिँचाइ उपलब्ध गराउन किसानलाई विनाशुल्क बिजुली उपलब्ध गराउन जरुरी छ । यो कदमले एकातिर जलविद्युत्को विकास हुन्छ भने अर्कोतिर खाद्यान्नमा नेपाल आत्मनिर्भर हुन सक्छ ।

हिमाली जडीबुटी
नेपाल हिमाली शृंखलाहरूले घेरिएर रहेको देश हो । हिमाली जडीबुटी विभिन्न रोगको औषधि बनाउन उपयोगी छन् । यस्ता प्रकारका जडीबुटीको संरक्षण र विस्तारका लागि नेपालले प्रयत्न गर्नुपर्छ । औषधिमा प्रयोग हुने जडीबुटीको संवर्द्धन, संरक्षण र उत्पादन गर्न सके संसारका औषधि उत्पादक कम्पनीहरूले माग गर्नेछन् । यसको निर्यातबाट नेपालले विदेशी मुद्रा आर्जन गर्न सक्छ । यसको विकासले आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनालाई टेवा पुर्‍याउन सक्छ ।

शिक्षा
नेपालमा १०–१२ ओटा विश्वविद्यालय खोलिएका छन् । तर, त्यहाँबाट कुन प्रकारको जनशक्ति उत्पादन गर्ने भन्ने कुराको यकीन हुन सकेको छैन । यी विश्वविद्यालयमा पढ्ने विद्यार्थीको क्षमता कुन क्षेत्रमा काम लाग्न सक्छ भन्ने कुराको यकीन नहुँदा युवायुवतीका हातमा डिग्री त हुन्छ तर कुनै क्षेत्रमा पनि उपयोग हुन सकेको छैन ।

नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको छ । यी विश्वविद्यालयबाट उत्पादित युवायुवती कामको खोजीमा विदेशमा जाने गरेका छन् । उनीहरूको शीप वा डिग्रीले विदेशमा काम पाइरहेको अवस्था छैन । उनीहरूसँग डिग्री छ तर विशेषज्ञता छैन । यस कारण विदेशिएका युवायुवती विदेशमा न्यून ज्यालामा काम गरिरहेका छन् । एकातिर यिनीहरूको पढाइमा उत्पादक समय र सीमित स्रोतको खर्च भइरहेको छ भने अर्कोतिर यसबाट प्राप्त हुने प्रतिफल नगन्य मात्रामा छ, जसले उनीहरूलाई विदेशमा काम गरेर हातमुख जोर्न पनि पुगिरहेको छैन । त्यसैले शिक्षाक्षेत्रमा सुधारको आवश्यकता छ । विदेशबाट माग हुने निश्चित संख्याको यकीन गरी औद्योगिक, पूर्वाधार, सेवा आदि क्षेत्रका लागि दक्ष जनशक्ति तयार गर्न आवश्यक छ । यसका लागि प्रत्येक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि सोही विषयको पठनपाठन हुने शैक्षिक संस्थाहरूको विकास गर्नुपर्छ । यसबाट एकातिर नेपालको विकासका लागि आवश्यक जनशक्ति उत्पादन हुन्छ भने अर्कोतिर वैदेशिक रोजगारीमा जाने युवायुवतीको ज्यालामा वृद्धि हुनेछ ।

शीपविहीन जनशक्ति र शीपयुक्त जनशक्तिले पाउने दैनिक वा मासिक ज्यालामा धेरै फरक पर्छ । आज शीपविहीन युवायुवतीको पसिनाको जुन कमाइ तिनलाई शीपयुक्त बनाउँदा त्यसको दोब्बर हुन सक्छ । त्यसैले शीपयुक्त जनशक्तिको उत्पादनका लागि प्राविधिक शिक्षाको विकास गर्न जरुरी छ । यसले विप्रेषण आयमा वृद्धि गराई नेपाललाई स्वाधीन गराउन सहयोग पुर्‍याउँछ ।

लेखक अर्थशास्त्री हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement