ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘गुरिल्ला पदमार्ग’ प्रवर्द्धन गर्न ३५ दिनको पदयात्रा

२०७९ असोज, २  
गण्डकी प्रदेश
NA

गलकोट । गत दशैंमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको सम्झनाले उनलाई एक वर्ष नपुग्दै पुन: डोर्‍यायो । त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’सम्म नै पुग्यो ।

अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सकेका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गरे । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङ साइकल र पदयात्रामार्फत पर्यटन प्रवर्द्धनमा लाग्दै आएका छन् । यसपटक गुरिल्ला पदमार्गको प्रवर्द्धनमा उनले ३५ दिन बिताएका हुन् ।

तत्कालीन सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए । २०७२ सालमा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो ।

गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसकेको र ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास तथा प्रवर्द्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आएका गुरुङले बताए ।

‘पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुनुपर्दछ भन्ने मान्यता हो,’ उनले भने, ‘गुरिल्ला पदमार्गको प्रवर्द्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाइ लम्बाउन समेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।’

म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगे पनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लाग्ने गरेको गुरुङको भनाइ  छ ।

गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवर्द्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताए । १० वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भीर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरू पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement