ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सडक भत्काएर काम नगर्दा स्थानीयलाई सास्ती

२०७९ असोज, २  
बागमती प्रदेश
NA

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ अन्तर्गत सिरुटार–बिरुवा मूल सडक खण्डको बालकोट र सिरुटारको सिमाना पुलदेखि उपयोगी चोकसम्म ठूलाठूला खाडल बनेपछि स्थानीयले व्यङ्ग्य गर्द ‘पाँच पोखरी’ नामकरण गरेका छन् ।  

निर्माण व्यवसायीको लापरबाही र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण सडक निर्माण अलपत्र परेको छ । गत असार मसान्तसम्म ढल व्यवस्थापन, पेटी, ग्राभेल, बेस कालोपत्रसहितको सम्पूर्ण निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए पनि सडक भत्काएर नियमित काम नगर्दा स्थानीयले निकै सास्ती बेहोर्नुपरेको छ ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित, भौतिक पूर्वाधार निर्देशनालय धुलिखेलद्वारा वर्ल्ड वाइड, पीआर सुसन सेभी ललितपुरले निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कौशलटार बिरुवा भक्तपुर सडक शीर्षकको उक्त सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको हो ।    मन्त्रालयले विनियोजन गरेको कुल रू. पाँच करोड ५९ लाख ११ हजारको लागतमा २०७८ मङ्सिर १ गतेदेखि शुरू गरी २०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि सडक निर्माणको काम अझै सम्पन्न भएको छैन ।

बालकोट–सिरुटार सिमानाको पुलमै भैंसी आहाल बस्न मिल्ने गरी ठूलो खाडल बनेको छ । त्यसको केहीमाथि उपयोगी चोकमै सडकका बीचमा पाँचओटा ठूला खाडल बनेर पानी जमेपछि स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायी सुसन महर्जन महीनामा एक पटक आएर निरीक्षण गरेर फर्कने र थोरै कामदार राखेर काम गर्दा ढिलाइ भएको स्थानीयको भनाइ छ ।  

सिरुटार–बालकोट हुँदै काठमाडौँ जाने अन्य विकल्पको सडक नभएपछि स्थानीय बाध्य भएर सोही सडकको प्रयोग गर्नुपर्दा दैनिक कैयौं स्कुटर र मोटरसाइकल खाडलमा लड्ने गरेका छन् । स्थानीय भूपाल गिरीले यहाँका बासिन्दाले दैनिक यही समस्या भोग्नुपरेको गुनासो गर्दै खाडल पुर्न पाँच ट्रिप ग्राभेल हालिदिन आग्रह गर्दा पनि निर्माण कम्पनीले आजभोलि भनेर टार्ने गरेको बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement