ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्सका लागि आवेदन खुला

स्टकका लागि ४५ दिन र ब्रोकरका लागि ३० दिनभित्र आवेदन दिनुपर्ने 

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्सको लागि आवेदन माग गरेको छ । 

बोर्डले आइतवार नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि सूचनामार्फत आवेदन माग गरेको हो । नयाँ स्टक एक्सचेञ्जका लागि सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र र ब्रोकर लाइसेन्सका लागि ३० दिनभित्र आवेदन दिन सकिने जानकारी बोर्डले दिएको छ । 

बोर्डका अध्यक्ष रमेशकुमार हमालले नयाँ स्टक एक्सचेन्जका लागि रू. ३ अर्ब र नयाँ ब्रोकरका लागि न्यूनतम रू. २० करोडदेखि अधिकतम रू. १ अर्ब ५० करोडसम्मको पूँजी तोकिएको जानकारी दिएका छन् । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणका लागि वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजीकरण गर्नका लागि निजी क्षेत्रका लगानीमा थप एक धितोपत्र बजार थप गर्न लागेको अध्यक्ष हमालले प्रष्ट पारेका छन् ।  

नयाँ स्टक एक्सचेन्ज थपपछि धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिस्पर्धा हुने र सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार हुने अपेक्षा समेत हमालले गरेका छन् । नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले रू. ९० करोड बराबरको शेयर पाउने व्यवस्था रहेकाले लगानीको अवसर समेत सर्वसाधारणमा जुट्नेछ । रू. ३ अर्ब पूँजीमा नयाँ स्टकले ७० प्रतिशत संस्थापकतर्फ र ३० प्रतिशत सर्वसाधारणतर्फ स्वामित्व कायम गर्नुपर्ने व्यवस्था रहेको छ । 

हाल ५० ब्रोकर कम्पनी सञ्चालनमा रहे पनि बोर्डले धितोपत्र दोस्रो बजारको पहुँच विस्तारका लागि तोकिएको मापदण्ड पुरा गर्ने सबैलाई ब्रोकर लाइसेन्स दिने तयारी गरेको हो । पहिलो पटक ब्रोकर लाइसेन्स वितरण गरेपछि तीन वर्षपछि मात्र अर्को पटक लाइसेन्स वितरण गर्नुपर्ने व्यवस्था रहेकाले बोर्डले यसपटक प्रक्रिया पूरा गरी आउने सबैलाई लाइसेन्स वितरण गर्ने अध्यक्ष हमालले जानकारी दिए ।

बोर्डले सीमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुने गरी नियमावली संशोधन गरेको होे ।

पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रूपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement