ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दुई ओटा कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि पुनः आवेदन माग, ४५ दिनभित्र आवेदन दिनुपर्ने

२०७९ असोज, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) बजार सञ्चालनका लागि लाइसेन्स वितरण गर्ने भएको छ । बोर्डले दुई ओटा कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आइतवार आवेदन माग गरेको हो । बोर्डले यसअघि पनि कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । 

यसअघि परेको आवेदन रद्द गरेको बोर्डले पुनः आवेदन माग गरेको हो । यसअघि ६ कम्पनीले कमोडिटी एक्सचेञ्ज सञ्चालनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका थिए । हाल यो प्रकारको बजार सञ्चालक एउटा पनि नभएको अवस्थामा दुई ओटा लाइसेन्स वितरण गर्ने तयारी बोर्डले गरेको हो । दुई प्रति व्यावसायिक योजना समावेदन गरी आगामी ४५ दिनभित्र निवेदन पेश गर्न बोर्डले भनेको छ । 

वस्तु विनिमय बजारसम्बन्धी ऐन, नियमावली तथा निर्देशिकाबमोजिम योग्यता पुगेका इच्छुक संस्थाले पूर्वस्वीकृतिका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । यसअघि आवेदन दिएका कम्पनीहरूले समेत पुनः आवेदन दिन सकिने बोर्डले जानकारी दिएको छ । पुनः आवेदन दिने कम्पनीहरूलाई निवेदन दस्तुर नलाग्ने र तोकिएको अवधिभित्र आवेदन पेश नगरे यसअघिको निवेदन स्वतः रद्द हुने बोर्डको भनाइ छ । 

कमोडिटी एक्सचेञ्जमा कृषिउपज, पशुपक्षी, सुन, चाँदी, तामा, कपास, कफी, कच्चा तेल लगायतका वस्तुको कारोबार हुने गर्छ । वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुर्‍याउन, वस्तुको मूल्य आविष्कारमा सघाउन र मूल्य स्थिरता कायम गर्न कमोडिटी एक्सचेञ्जको आवश्यकतालाई बोर्डले औंल्याएको हो । यो बजारबाट लगानीकर्ताहरूका लागि लगानीको वैकल्पिक उपकरण प्रदान हुने विश्वाससमेत बोर्डको छ । 

वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार यो बजार सञ्चालनका लागि न्यूनतम चुक्तापूँजी रू. ५० करोडले नघट्ने गरी बोर्डले समय समयमा तोकेबमोजिम हुने उल्लेख छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement