ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मानिसहरू चाहिनेभन्दा बढी आत्मविश्वासी किन हुन्छन् ?, 'ओभरकन्फिडेन्ट' हुनु राम्रो हो ?

२०७९ असोज, २  
समाचार विविध स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar रमा सुवेदी

काठमाडाैं । कहिलेकाहीँ हामी आफूलाई चाहिने वा गर्नुपर्नेभन्दा बढी विश्वास गर्छौं । आफू केही काम वा कुरामा नराम्रो नहुन पनि सक्छौं भनेर हामी मान्न तयारै हुँदैनौं । बाटोमा अचानक चितुवा वा जंगली भालु भेटियो अनि उसँग जुध्नुपर्ने अवस्थाको कल्पना गर्नुस् । तपाईंको हातमा कुनै अस्त्र/हतियार छैन । तपाईं निशस्त्र सो जीवनसँग भिड्दै हुनुहुन्छ । यो लडाईमा कसले जित्ला ? भालु/चितुवाले कि तपाईंले ? गोही, कोब्रा वा चिलसँग निहत्था लडेको कल्पना गर्दा आफूले जित्ने सम्भावना तपाईं कत्तिको देख्नुहुन्छ ? 

बेलायतको अन्तरराष्ट्रिय अनलाइन अनुसन्धान तथा डेटा विश्लेषक कम्पनी यूगभले सन् २०२१ मा अमेरिकामा यी प्रश्नहरूमा १ हजार ७०० भन्दा धेरै मानिसहरूमाझ गरेको एउटा सर्वेक्षणमा ६ प्रतिशतभन्दा कम सहभागीहरूले भालुसँग खाली हात जुध्दासमेत आफूले नै जित्छु भनेर जवाफ दिएका थिए । गोहीसँगको लडाईमा आफूले जित्छु भन्ने विश्वास देखाउने योभन्दा अलि धेरै थिए । कोब्रासँगको लडाईमा २३ प्रतिशत पुरुषले आफूले कोब्रालाई हराउने कल्पना गरे । चिललाई माथ दिने विश्वास गर्नेको अनुपात त झन् ३८ प्रतिशत थियो । केही सहभागीसँग टार्जनसँग भएको जस्तै उत्कृष्ट लडाई कौशल थियो कि ? 

कि उनीहरू पत्याउनै नसक्ने गरी ओभर कन्फिडेन्ट (चाहिनेभन्दा बढी आत्मविश्वासी) बनेका हुन् ? आकस्मिक अवस्था आइपर्दा उडीरहेको विमानलाई कुनै दुघर्टनाविना अवतरण गर्न सकिन्छ ? कि विमानमा सवार सबैको मृत्यु हुने अवस्था निम्तिन्छ ? भनेर हालै एउटा अध्ययनमा न्यूजिल्यान्डस्थित वाइकातो विश्वविद्यालयकी अनुसन्धाता कायला जोर्डनले सहभागीहरूलाई सोधेकी थिइन् ।

यसमा पनि सहभागीहरूको ओभर कन्फिडेन्सको स्तर उल्लेख्य पाइयो । सर्वेक्षणमा सहभागी आधाभन्दा धेरैले विमानको सफल अवतरण गराउने सम्भावना २० प्रतिशत बताए । तालिमप्राप्त पाइलटले आकस्मिक समयमा विमान अवतरण गराएको ३ मिनेटको भिडियो हेरेपछि उनीहरूमा कन्फिडेन्स स्तर झनै बढ्यो । अप्ठ्यारो समयमा विमानको सकुशल अवतरण गराउने सम्भावना बढेर ३० प्रतिशतमा उक्लियो । एक चौथाईले त विमान जोगाउन सक्ने आफ्नो सम्भावना ६० प्रतिशतसम्म बताए । 

विमान अवतरण गर्न तालिम, उच्च शीप र विज्ञताको खाँचो पर्छ । कसैको मद्दतबिना अचानक विमान नियन्त्रण गर्नुपर्ने अवस्था आयो भने अनुभव वा शीप नभएकाहरूमाझ विमान सकुशल अवतरण गर्न सक्दिनँ कि भनेर सोच्नेभन्दा सक्छु भन्नेको संख्या धेरै थियो । ३ मिनेटका भिडियो ककपिटको पछाडिको हिस्साबाट खिचिएको थियो । यसको पृष्ठभूमिमा आवाज थिएन । पाइलटले हातले के-के गरिरहेका छन् भन्नेबारे भिडियो हेर्नेले देख्दैनन् । भिडियोलाई एक पाइलटले कामै नलाग्नेसमेत भने । 

पाइलट अचानक बिरामी पर्दा वा ककपिटमै बेहोश भएर ढल्दा यात्रीमध्ये कसैले विमान सफल अवतरण गरेका केही उदाहरण छन् । यस्तै एउटा घटना सन् २०२२ को मेमा फ्लोरिडामा भएको थियो । तर, सो घटनाका ती यात्री उडान निर्देशक थिए । उनले हवाई ट्राफिक नियन्त्रणको सहायताले विमान अवतरण गराएका थिए । कसैको सहायताबिना आममानिसले विमान अवतरण गराउने सम्भावना १० देखि १५ प्रतिशत रहेको अनुभवी पाइलटहरू बताउँछन् । यो न्यूजिल्यान्डमा गरिएको सर्वेक्षणका सहभागीहरूले बताएको भन्दा निकै थोरै हो । 

ओभर कन्फिडेन्स जीवन र मृत्युको अवस्थामा मात्रै देखिन्न । २३ पटककी ग्रान्ड स्ल्याम विजेता सेरेना विलियम्सविरुद्ध आफूले सकेको राम्रो खेल्दा जित्ने सम्भावनाबारे युगभले अर्को एउटा सर्वेक्षणमा सोधेको थियो । सात प्रतिशत सहभागीहरूले आफूले सेरेनालाई हराउन सक्ने बताएका थिए । पुरुषहरूमा यो अनुपात १२ प्रतिशत थियो । 

मानिसले आफ्नो क्षमता बढाइचढाई गरेर सोच्ने अर्को ठाउँ ड्राइभिङ पनि हो । अमेरिकामा सन् १९८१ यता सबैभन्दा धेरै उद्धरण गरिएका अध्ययनमा ९३ प्रतिशत चालकहरूले आफ्नो गाडी चलाउने क्षमाता औसतभन्दा राम्रो भएको सोचेका थिए । यस्तो खालको तार्किक भेदभावलाई लेक वोबगन इफेक्ट भनिन्छ । साधारण शब्दमा भन्नु पर्दा यो आफूलाई सर्वोत्तम वा औसतभन्दा माथि सोच्ने भ्रम हो । 

यसको ठिक उल्टो केही मानिसचाहिँ आफूलाई थाहा छैन, म यस्तो गर्न सक्दिनँ भन्ने स्वीकार गर्न सक्छन् । तर, यसले पनि अतिदावीको अवस्था निम्त्याउँछ । तपाईंले कोलराइन शब्द सुन्नु भएको छ ? प्यारालाक्सको प्लेट नि ? दुवै वैज्ञानिक शब्दावली हुन् । तपाईंले यी दुई शब्दको बारेमा सुन्नु भएको छ भनेर सोधिएको प्रश्नमा धेरै सहभागीले छु भन्ने जवाफ दिएको एउटा निट (न्यूरोइमेजिङ, इमोशन्स एन्ड एपेटाइट टेष्टिङ) अध्ययनमा पाइएको थियो । 

थोरै ओभर कन्फिडेन्स राम्रो हो । छोराछोरीहरूले आफैंमा विश्वास गरुन् अनि नयाँ-नयाँ चिज वा अवस्था आइपर्दा सोबाट आफैं पार पाउन सक्छु भन्ने विश्वास मनमा उत्पन्न गराउन् भन्ने हरेक आमाबुबाको चाहना हुन्छ । जोखिम नै नलिइकन अनि आफूलाई आफ्नो क्षमता वा सामर्थ्यले भ्याउनेभन्दा परसम्म नतन्काइकन सफलता आउँदैन । कोही औसतभन्दा माथि हुन अरु कोही औसत वा औसतभन्दा तल हुनुपर्छ । तर, हामीमध्ये कोही पनि आफूलाई औसत वा औसतभन्दा तल राख्न मन पराउँदैनौं । 

आफैंले आफूमा विश्वास देखाउँदा तपाईंले अरुलाई पनि आत्मविश्वासी बन्न प्रेरित गर्नुहुन्छ । आफ्नो धारणा आत्मविश्वासी भएर अरुको सामु राख्दा अरुले पनि तपाईंले भनेको कुरा पत्याउन सक्छन्, तपाईंमाथि विश्वास गर्छन् । तर, यसमा विरोधाभाषी तत्व पनि छ । कहिलेकाहीँ यही सोच राख्दा मानिसले वास्तवमा आफ्नो क्षमताले भ्याउने वा आफूले गर्न सक्नेभन्दा बढी गर्न सक्छु भन्ने भ्रम पाल्छन् । यो डनिङ–क्रुगर प्रभाव हो । केहीले यस्तो होइन पनि भन्लान् । तर, केहीको हकमा यो सत्य हो । घरमा एक्लै गीत गाउँदा ‘ओ हो ! मैले त यस्तो राम्रो पो गाउँदो रहेछु’ भनेर सोच्नु भएको छ ? 

गितार वा पियानो वा अन्य कुनै वाद्यवाधनका साधन बजाउन आफू निकै खप्पिस छु भनेर सोच पनि कहिलेकाहीँ मनमा पलाएको होला । मानिसमा यस्तो ओभर कन्फिडेन्स कहाँबाट आउँछ ? यसको एउटा कारण व्यक्तित्वको प्रकार पनि हो । कार्यालय वा काममा पनि यस्तै हुन्छ । कोही मानिस म जत्तिको जान्ने सुन्ने, आफूले जत्तिको राम्ररी काम गर्न सक्ने अरु कोही छैन भन्ने सोच्छन् । यसमा व्यक्तिको लिंगले पनि प्रभाव पार्छ । भालुसँग लडाई गर्दा होस् वा सेरेना विलियम्सलाई टेनिसमा हराउँछु भन्ने सोच्दा होस् औसतमा महिलाभन्दा धेरै ओभर कन्फिडेन्स पुरुषमा पाइएको सर्वेक्षणले देखाएको छ । महिला र पुरुषको शरीरको बनावट बिल्कुल फरक छ । महिलाभन्दा पुरुष शारीरिकरूपमा शक्तिशाली हुन्छन् भन्ने सोच हाम्रो समाजमा व्याप्त छ । तर, विमानको आकस्मिक अवतरण जस्तो शारीरिक बल नचाहिने अवस्थामा पनि महिलाभन्दा पुरुष नै बढी कन्फिडेन्ट पाइएको छ । 

ओभर कन्फिडेन्स हामी को हौं भन्ने आधारमा मात्रै होइन हामी के गर्छौं भन्ने आधारमा पनि आउँछ । ककपिटको भिडियो हेरेपछि मानिसहरूमा ओभर कन्फिडेन्स बढेको थियो । यसमा भिडियो हेरेर पाएको अनुभवका आधारमा मानिसमा ओभर कन्फिडेन्स बढेको थियो । पाइलटले विमानको आकस्मिक अवतरण गरेको (अस्पष्टै भए पनि) भिडियो हेरिरहँदा दर्शकहरूले त्यो काम आफैंले गरिरहेको कल्पना गरे । अनि उनीहरूमा आत्मविश्वास झनै बढ्यो । 

ओभर कन्फिडेन्स वा चाहिनेभन्दा बढी आत्मविश्वासले कहिलेकाहीँ हामीलाई समस्यामा पार्छ । यस्तो खालको अवस्थामा आफूलाई पर्न नदिन हामीहरूले सतर्कता अपनाउनु पर्ने बीबीसीको अल इन द माइन्डसँगको अन्तरवार्तामा केला जोर्डनले भनेकी छिन् । एउटा छोटो भिडियो हेर्दा मात्रै आत्मविश्वास झन्डै २८ प्रतिशतले बढ्ने आफूहरूले पाएको उनले बताइन् । वास्तवमा तपाईं विमान सुरक्षितरूपमा अवतरण गर्नै सक्नु हुन्न । तर, म गर्न सक्छु भन्ने सोच्नुहुन्छ भनेचाहिँ यसको अवसर विमानमा भएका अरु कोही विज्ञलाई दिनु श्रेष्ठकर हुन्छ । बाँकी सबै यात्रीको हित पनि यसैमा हुन्छ । 

मनमा ठान्ने हो भने हामी जस्तोसुकै असम्भव काम पनि गर्न सक्छौं भन्ने संस्कृतिमा हामी हुर्किएका छौं । आफूभन्दा ठूलाबाट तपाईंले कयौं पटक ‘भगवानले पनि तँ आँट म पुर्याउँछु भन्छन्, आँट, हिम्मत देखाउन छाड्नुहुन्न’ भनेर सुन्नु भएको होला । अझ केही त ‘बरु चरेश खाउ हरेश नखाउ’ भन्नसमेत पछि पर्दैनन् । आफूमाथि विश्वास गर्नु नराम्रो कुरा होइन तर अति भएपछि खति हुन्छ । अतिवाद केहीमा पनि राम्रो हुन्न । आफैंमाथि शंका गर्नु, म यो गर्न सक्दिनँ होला भन्ने सोचले आफूलाई कक्रक्क पारेको हामी कल्पनै गर्न सक्दैनौं । 

तर सक्दै नसक्ने कामलाई यति जाबो त म चुट्कीमै गर्छु भन्ने सोच्नु पनि राम्रो हुन्न । त्यसैले आफ्नो क्षमताको इमानदार भएर मूल्याकंन पनि उत्तिकै जरुरी भएको जोर्डन बताउँछिन् । कतै भालुसँग तपाईंको जम्काभेट भयो भने यसलाई त म हराउन सकिहाल्छु नि भनेर लड्नुभन्दा सकेसम्म लड्नुपर्ने अवस्था आउनै नदिनु वेश हुने उनको सुझाव छ । सेरेना विलियम्स आफै आएर टेनिसमा तपाईंलाई चुनौती दिइन् भने तिमीलाई नि हराउन सक्छु भनेर मनमा भ्रम राख्नुहुन्छ कि नम्र भएर ‘खेल्दिन’ भन्नु हुन्छ ? तल कमेन्टमा भन्नु है ! एजेन्सीको सहयोगमा 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement