ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

निजगढ विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण, प्रतिवेदन भन्छ- विमानस्थलको विकल्प छैन

२०७९ असोज, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न सरकारद्वारा गठित विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ । विज्ञ समूहले आइतवार प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरे । 

सर्वोच्च अदालतको फैसला अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदको गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो । 

उक्त विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन प्रतिवेदन तयार पारेर विमानस्थलको विकल्प अरु कुनै नरहेको निष्कर्षसहित प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले बताए । उनले सिमरा, कोल्वी, मूर्तियालगायत तीनओटा सम्भावित स्थानमा विमानस्थल निर्माण गर्न सकिनेसमेत समितिले सुझाव दिएको बताए । 

उनले विज्ञ समूहले विमानस्थल निर्माण गर्ने क्षेत्रमा बाघ, हात्ती जस्ता वन्यजन्तुहरू नरहेको अध्ययनले पुष्टि गरेको बताए । मन्त्री श्रेष्ठले रुखहरूलाई संरक्षण गरी थप व्यवस्थापन गर्ने, वातावरण संरक्षण, पर्यावरण सबै पक्षहरूको अध्ययनमा विज्ञ समूहले न्यूनतम रुख कटान गर्दै वातावरण संरक्षणमा जोड दिएको बताए । 

उनले प्रधानमन्त्री देउवाले अध्ययन प्रतिवेदन बुझ्दै प्रतिवेदनको आधारमा विमानस्थल निर्माण प्रक्रियाहरू अगाडि बढाउन निर्देशन दिएको बताए । उनले विज्ञ समूहको अध्ययन प्रतिवेदनको आधारमा विमानस्थल निर्माणको प्रक्रिया शुरु गर्ने पनि जानकारी दिए । 

मन्त्री श्रेष्ठले विज्ञ समूहको प्रतिवेदन अध्ययन गरेर विमानस्थल निर्माणको सबै प्रक्रिया शुरु गर्ने बताए । उनले कानूनीरूपमा सरकारले गर्नुपर्ने काम तथा सबै प्रक्रियालाई अवलम्बन गरेर विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले विज्ञ समूहको अध्ययनले नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्नसक्ने पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल आवश्यक रहेको निस्कर्ष निकालेको पनि बताए । 

प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिव ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिव ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रुख कटानी तथा वातावरणीय क्षति न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement