ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

चीनले बनायो चुम्बकबाटै गुड्ने र उड्ने कार, ऊर्जा उद्योगमा कायापलट ल्याउने दाबी

२०७९ असोज, २  
अन्तरराष्ट्रिय
Image Not Found

पेचिङ (चीन) । तपाईंले भविष्यमा उड्ने कारमा चढेर घुमफिरका लागि जाने कल्पना गर्नुभएको छ ? सपनामा कारमा उडेर कतै गएको देख्नुभएको छ ? तपाईंको यो सपना साकार हुन पनि सक्छ ।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको छेङ्दुस्थित चियाओथोङ विश्वविद्यालयका अनुसन्धाताहरूले सडकमा गएको हप्ता चुम्बकबाट चल्ने ‘मोडिफाइड’ यात्रुबाहक कारको परीक्षण गरेका थिए । कन्डकटर रेलमा गरिएको सो परीक्षणमा कार सतहबाट ३५ मिलिमिटर माथि तैरिँदै गुडेको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले बताएको छ । 

अनुसन्धाताहरूले सो कारको भुइँमा शक्तिशाली चुम्बक जडान गरेका थिए । यसले कारलाई पाँच माइल लामो कन्डक्टर रेलमाथि उचाल्न मद्दत गर्यो । परीक्षण आठ ओटा कारमा गरिएको थियो । एउटा कार परीक्षणका क्रममा प्रतिघन्टा १४३ माइलसम्म गुडेको बताइएको छ । चिनियाँ पत्रकारले ट्विटरमा पोष्ट गरेका एउटा भिडियोमा कार रेल ट्र्याकमाथि तैरिएको देखियो । यद्यपि, कारको तैराई समान भने थिएन । सो परीक्षण सरकारी यातायात अधिकारीहरूले गरेको सिन्ह्वाले बताएको छ । परीक्षणमा उनीहरूले तीव्र गतिको ड्राइभिङका लागि सुरक्षाका उपायहरूको अध्ययन गरेको बताइएको छ । 

यात्रुवाहक सवारी साधनमा चुम्बकीय उत्तोलनको प्रयोगले ऊर्जाको खपत घटाउने र सवारी साधनको रेञ्ज पनि बढाउन सक्ने सो कार विकासमा संलग्न विश्वविद्यालयका एक प्राध्यापक तेङ जिगाङले बताएका छन् । रेञ्जमा समस्या भोगिरहेका विद्युतीय सवारी उद्योगका लागि समेत यो उपयोगी हुन सक्ने उनको भनाइ छ । विद्युतीय सवारी साधनको साथमा यात्रा गर्दा बीचमै चार्ज सकिएर अलपत्र परिने हो कि भन्ने सवारी धनीको चिन्ता पनि यसले साम्य गर्न सक्ने उनी बताउँछन् । 

केही व्यवसायिक रेलहरूमा सन् १९८० को दशकदेखि नै चुम्बकीय उत्तोलन (म्यागलेभ) को प्रयोग भएका छन् । यसमा तीव्र गतिमा सवारी साधनलाई धकेल्न वा तान्न चुम्बकको प्रयोग गरिन्छ । चीन, जापान र दक्षिण कोरियामा अहिले बुलेट रेलमा म्यागलेभ प्रविधि नै प्रयोगमा छन् । गएको वर्ष चीनले शान्तोङ प्रान्तको छिङताओमा म्यागलेभ बुलेट रेल प्रयोग थालेको थियो । यो रेलको उच्चतम् गति प्रतिघन्टा ३७३ माइल थियो । म्यागलेभ प्रविधिले धेरै ऊर्जा प्रयोग नगरी तीव्र गतिको यात्रालाई सम्भव बनाउँछ । यो प्रविधि एलन मस्कको द बोरिङ कम्पनी र रिचर्ड ब्रान्सनको भर्जिन हाइपरलूप वनको हाइपरलुप परियोजनाहरूमा पनि प्रस्ताव गरिएको छ । 

अनुसन्धाताहरूले एक दशकभन्दा लामो समयदेखि नै म्यागलेभ कारको सम्भावना खोजिरहेका छन् । फक्सवागनले सन् २०१२ मा नै होभर कारको अवधारणा बनाएको थियो । तर, यस्ता सवारी साधनको सम्भावित सुरक्षा मामिलाबारे भने धेरै नै सोधखोज हुन बाँकी छ ।तीव्र गतिमा तैरिँदै दौडिरहेको कार अचानक म्याग्नेटिक ट्र्याकबाट बाहिरियो वा गैर–चुम्बकीय सवारी साधनसँग ठोकियो भने के हुन्छ ? पूर्वाधारमा पनि समस्या छ । देशभरमा इलेक्ट्रोम्याग्नेटिक हाइवे बनाउन पनि वर्षौं समय लाग्छ अनि लगानी पनि अथाह चाहिन्छ । झट्ट सुन्दा वा साइन्स फिक्सन जस्तै लागे पनि ५० वर्षमा यो यथार्थ बन्न सक्ने न्यूयार्कको स्टेट इनर्जी रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटीकी उपाध्यक्ष जर्ज साजिनले सन् २०१८ मा एक लिंक्डइन पोष्टमा भनेकी थिइन् । यसले ऊर्जा उद्योगको क्रान्तिकारी कायापलट र जलवायु परिवर्तन विरुद्धको लडाईमा मद्दत गर्ने उनले बताएकी थिइन् । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement